काठमाडौं। सरकारी स्वामित्वको दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमको नाफामा गिरावट आएको छ।
टेलिकमले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिकको वित्तीय विवरणअनुसार टेलिकमको नाफा ७।८६ प्रतिशतले घटेको हो।
गत आर्थिक वर्षको आसार मसान्त (२०७९ आसार) सम्म खुद मुनाफा ८ अर्ब ४७ करोड ७ लाख ३३ हजार रुपैयाँ रहेकोमा चालू आर्थिक वर्षको सोही अवधिसम्ममा (२०८० आसार मसान्त) मा ६६ करोड ६२ लाख ७ हजार रुपैयाँले कमी आई ७ अर्ब ८० करोड ४५ लाख २६ हजार रुपैयाँ रहेको कम्पनीले जनाएको हो।
गत आर्थिक वर्षको आसार मसान्त (२०७९ आसार) सम्म कूल आय ४४ अर्ब ३७ करोड ४६ लाख ५६ हजार रुपैयाँ रहेको थियो।
चालू आर्थिक वर्षको सोही अवधि (२०८० आसार मसान्त) सम्ममा कूल आय ४९ करोड ३६ लाख १६ हजार रपैयाँले वृद्धि भई ४४ अर्ब ८६ करोड ८२ लाख ७३ हजार रुपैयाँ रहेको कम्पनीले उल्लेख गरेको छ।
त्यस्तै कम्पनीको कूल सञ्चालन आय ३७ अर्ब ९१ करोड ९७ लाख ८९ हजार रुपैयाँ रहेकामा चालू आर्थिक वर्षको सोही अवधि (२०८० आसार मसान्त) सम्ममा १ अर्ब ११ करोड ५८ लाख ५८ हजार रुपैयाँले कमी भई ३६ अर्ब ८० करोड ३९ लाख ३० हजार रुपैयाँ रहेको छ।
कम्पनीको प्रतिसेयर आम्दानी यस वर्ष ४३.३६ रुपैयाँ रहेको छ।
गत आर्थिक वर्षको तुलनामा चालू खुद मुनाफामा परिवर्तन हुनुमा टेलिकमले आठ कारण औंल्याएको छ। जुन निम्न छन्ः
१. रोमिङ सेवाको बढ्दो प्रयोगका कारण यस वर्ष आयमा गत वर्षको तुलनामा २२ करोड ४६ लाख वृद्धि भएको छ। गत वर्षको तुलनामा सेवा सञ्चालनसँग प्रत्यक्ष रूपमा सम्बन्धित खर्चहरूमा वृद्धि भएको छ। बैंक ब्याजदरमा भएको परिवर्तनका कारण वित्तीय आम्दानी करिब १ अर्ब ८५ करोड ७७ लाख रुपैयाँले वृद्धि भएको छ।
२. विदेशी विनिमय दरमा भएको परिवर्तनका कारण २२ करोड २४ लाख रुपैयाँ फरेन एक्सचेन्ज गेन भएको छ।
३. डोमेस्टिक अन्तरआबद्धता शुल्कमा परिमार्जन भएको छ। कम्पनीद्वारा व्यापकरूपमा देशैभरि फोरजी सेवा विस्तारसँगै डाटाको पहुँचमा वृद्धि भएको र सस्तो दरका डाटा प्याकेजहरू बढ्दै गएका कारण ओटिटी सेवा प्रयोगमा थप वृद्धि भएको र अन्तरआबद्धता आयमा करिब ६८ करोड ३७ लाख रुपैयाँले कमी भएको छ।
४. मौसमको प्रतिकुल असरले गर्दा विद्युत् आपूर्ति तथा मर्मत सम्भार कार्य समयमा हुन नसकेकोले साइटहरू समयमा सञ्चालन हुन नसकेको।
५. आर्थिक ऐन, २०७९ बाट दूरसञ्चार सेवा दस्तुरमा भएको परिवर्तनका कारण राजस्वमा तुलनात्मकरूपमा कमी आएको छ।
६. कोभिड–१९ को कारण विगत केही वर्ष देखि सञ्चालन हुन नसकेका क्षमता अभिवृद्धिका कार्यक्रमहरू यस वर्ष सञ्चालन हुनु र गत वर्ष कर्मचारीहरूको तलबमा भएको वृद्धि यस वर्ष कर्मचारीसँग सम्बन्धित निवृत्तिभरण व्यवस्थामा वृद्धि भएको छ।
७. विभिन्न जनसरोकारका निकायले पूर्वाधार निर्माण, विस्तार, मर्मत, स्थानान्तरण एवं नगरपालिका र वडा कार्यालयले गर्ने केबल व्यवस्थापन कार्यका क्रममा कम्पनीले सेवा प्रवाह गर्न निर्माण गरेका कतिपय संरचनामा क्षति पुग्ने गरेका तथा नेटवर्क विस्तारमा समेत प्रभाव परेको छ।
८. ‘राष्ट्रको सञ्चार’ भएकाले बढी लागत तथा कम प्रतिफल प्राप्त हुने विकट तथा दुर्गम स्थानमा समेत सेवा विस्तार र गुणस्तर सुधार कार्यमा निरन्तर लागिरहेको र लागतसमेत बढिरहेको छ।