काठमाडौं। काठमाडौं–तराई मधेश द्रुतमार्ग डिपिआर संशोधन भएको छ।
लागत समय र लागत मुल्य घटने गरी द्रुतमार्गको डिपीआर संशोधन भएको भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले जानकारी दिए।
मंगलबार बसेको मन्त्रिपरिषद बैठकले काठमाडौं–तराई मधेश द्रुतमार्ग डिपिआर संशोधन गरेको हो।
करिब २ अर्ब २ करोड रुपैयाँ लागत मूल्य र निर्माणको समय पनि घट्ने गरी द्रुतमार्गको डिपिआर संशोधन भएको छ।
‘करिब २ अर्ब २ करोड लागत मूल्य र निर्माण समय पनि घट्ने गरी द्रुतमार्ग डिपिआर संशोधन भएको छ,’ मन्त्री ज्वालाले भने, ‘सुरुङ मार्ग थपिँदा सडकको लम्बाइ र मुल्य दुवै घट्यो।’
काठमाडौं–मधेश लाइफ लाइनका रूपमा रहेको द्रुतमार्ग नेपाली सेनाको व्यवस्थापनमा निर्माण कार्य भइरहेको छ।
२०७४ साल वैशाख २१ देखि निर्माण कार्य सुरु गरिएको काठमाडौं– तराई मधेश द्रुतमार्ग हालसम्म २५.५४ प्रतिशतमात्र प्रगति भएको छ।
२०८३ साल चैत्र मसान्तसम्म सक्ने लक्ष्य लिइएको द्रुतमार्गको प्रगति कमजोर देखिएपछि मन्त्री ज्वालाले नेपाली सेनासँग असन्तुष्टी जनाएका थिए।
‘द्रुतमार्गको काम द्रुत गतिमा हुनुपर्ने हो तर प्रगति हेर्दा आशावादी छैन’ नेपाली सेनाका अधिकारीहरूसँग मन्त्री ज्वालाको भनाइ थियो।
डिपिआर संशोधन भएपनि लागत मुल्य पनि घट्ने भएको छ। २ खर्ब १३ अर्ब ९ करोड ५३ लाख रुपैयाँ लागत रहेकोमा संशोधनपछि २ खर्ब ११ अर्ब ९ करोड ३० लाख रुपैयाँ आयोजना लागत रहने भएको छ। केही सुरुङ, केही ग्यालरी सुरुङ बन्ने भएका छन्।