काठमाडौं। मुलुककै सबैभन्दा ठूलो जलविद्युत आयोजना सञ्चालन गरिरहेको अपर तामाकोसी हाइड्रोपावर लिमिटेडको नोक्सानी बढ्दै गएको छ। गत आर्थिक वर्षमा कम्पनीको नोक्सानी बढेर ३ अर्ब ७५ करोड ८९ लाख रुपैयाँ पुगेको छ।
अघिल्लो वर्ष घाटा २ अर्ब ३१ करोड ४९ लाख रुपैयाँमात्र थियो। अघिल्लो वर्षभन्दा गत वर्ष कम्पनीको नोक्सानी बढेको सार्वजनिक वित्तीय विवरणमा उल्लेख छ। एक वर्षको बीचमा कम्पनीको नोक्सान १ अर्ब ४१ करोड रुपैयाँ बढेको छ।
गत जेठमा खडेरीका कारण तामाकोसी नदीमा पानीको बहाब कम भई विद्युत उत्पादन घट्दा बिक्रीबाट हुने आम्दानी उल्लेखनीय रूपमा घट्न गएकाले घाटा चुलिएको अपर तामाकोसीले जनाएको छ।
यद्यपि, अपर तामाकोसीको विद्युत बिक्रीबाट हुने आम्दानी बढेर ८ अर्ब १२ करोड ८० लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष ७ अर्ब ११ करोड ६७ लाख रुपैयाँ खुदनाफा थियो। एक वर्षमा कम्पनीले ७ अर्ब ३९ करोड २० लाख रुपैयाँ ऋण तिरेको सार्वजनिक वित्तीय विवरणमा उल्लेख छ।
सरकार, नागरिक लगानी कोष, नेपाल टेलिकम र राष्ट्रिय बिमा संस्थानबाट प्राप्त दीर्घकालीन ऋण निर्माण अवधिको ब्याजसहित ४६ अर्ब ५२ करोड रुपैयाँ छ। माथिल्लो तामाकोसीको दीर्घकालीन ऋण ७३ अर्ब १५ करोड रुपैयाँ छ। यस्तै, अल्पकालिन ऋण ६ अर्ब रुपैयाँ छ।
यस्तै माउ कम्पनी नेपाल विद्युत प्राधिकरणबाट प्राप्त दीर्घकालीन ऋण २ अर्ब रुपैयाँ रहेको अपर तामाकोसीले जनाएको छ। कम्पनीको नाफा बढेपछि प्रतिसेयर आम्दानी ३५.४९ रुपैयाँ ऋणात्मक भएको छ। प्रतिसेयर नेटवर्थ पनि घटेर ३५.६७ रुपैयाँमा सीमित भएको छ। प्रतिसेयर सम्पत्ति मूल्य ८ सय २६ रुपैयाँ पुगेको छ।
अपर तामाकोसीले २०७८ भदौ २५ गतेदेखि व्यावसायिकरूपमा विद्युत उत्पादन थालेको हो। सरकारको दीर्घकालीन ऋण भुक्तानी १५ वर्षमा ३० किस्ता र संस्थागत ऋण लगानीकर्ताको १५ वर्षमा ६० किस्ता ऋण भुक्तानी गर्नुपर्ने दायित्व कम्पनीको छ। गत चैतसम्म सरकारलाई दुई र संस्थागत ऋण लगानीकर्तालाई पाँच किस्ता ऋण भुक्तानी भएको कम्पनीले जनाएको छ।
आयोजनाको निर्माण सम्पन्न अवधि बढ्दा समग्रमा आयोजनाको लागत थपिएको छ। यसबीचमा ह्रासकट्टी र ब्याज खर्च अधिक बढेको र विद्युत बिक्रीबाट हुने आम्दानीमा बढोत्तरी नहुँदा र ब्याजदर पनि बढेकाले यसको असर नाफामा परेको कम्पनीको दाबी छ।
हकप्रद सेयर निष्कासनपछि वित्तीय अवस्थामा सुधार हुने कम्पनीले जनाएको छ। कम्पनीले सतप्रतिशत हकप्रद सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट गत असार २२ गते स्वीकृति प्राप्त गरेको हो।
त्यसपछि कम्पनीले चार संस्थापक सेयरधनीहरूबाट हकप्रदवापतको रकम संकलन गरिसकेको छ। यस्तै सर्वसाधारणलाई हकप्रद सेयर निष्कासनको प्रक्रियामा रहेको कम्पनीले जनाएको छ।
अपर तामाकोसीको चुक्ता पुँजी १० अर्ब ५९ करोड रुपैयाँ छ। हकप्रद सेयर बिक्रीपछि अपर तामाकोसीको चुक्ता पुँजी बढेर २१ अर्ब १८ करोड रुपैयाँ पुग्ने छ।
हकप्रद रकम दोस्रो चरणअन्तर्गत रोल्वालिङ डाइभर्सन स्किममा लगानी हुनेछ। डाइभर्सन आयोजना निर्माणका लागि हाइ हिमालय हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन कम्पनी साइटमा परिचालन भइसकेको छ।
दोस्रो चरणको डाइभर्सन आयोजनाबाट वार्षिक साढे ३१ करोड युनिट बिजुली उत्पादन हुने छ। बिजुली बेचेर वार्षिक २ अर्ब रुपैयाँ थप आम्दानी गर्ने अनुमान छ।