काठमाडौं। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले वर्षातको समय सकिएलगत्तै ‘खाल्डाखुल्डीरहित काठमाडौ’ अभियान सञ्चालन गर्ने भएको छ।
काठमाडौंका सडकमा मुख्य खाल्डा बनाउने खानेपानी तथा नेपाल विद्युत प्राधिकरणसँग छलफल गरेपछि मन्त्रालयले अभियान थाल्ने मन्त्री प्रकाश ज्वालाले जानकारी दिए।
खानेपानी, नेपाल विद्युत प्राधिकरण र वर्षातले काठमाडौंका सडकमा धेरै खाल्डाखुल्डी देखिन थालेका छन्।
संघीय सरकारको मातहतमा रहेका सडक वर्षात हटेलगत्तै स्तरउन्नतिको काममा लाग्ने मन्त्री ज्वालाले बताए।
मंगलबार चक्रपथ बूढानीलकण्ठ सडक अवलोकन गर्दै मन्त्री ज्वालाले खाल्डाखुल्डीरहित काठमाडौं बनाउने बताए।
‘दैनिक लाखौं मानिस हिड्ने बाटो खाल्डाखुल्डी हुँदा निकै सास्ती भयो, अब यो अवस्था हामी छिट्टै अन्त्य गर्छौं’ मन्त्री ज्वालाले भने ‘खाल्डाखुल्डी पुर्न र सडकको स्तरउन्नति गर्न मातहतका निकायलाई निर्देशन दिइसकेका छौं भने सडकको अवस्था हेर्न म आफैं नियमित आउँछु।’
खानेपानी, विद्युत प्राधिकरण र सडक विभागबीच राम्रो समन्वय नहुँदा सडकमा समस्या देखिने गरेको छ।
खानेपानी, विद्युत प्राधिकरण, सडक विभाग र काठमाडौं महानगरपालिकासहित एउटा समिति पनि बनेको छ। समिति बैठक छिट्टै बोलाउने मन्त्रालयका सचिव केशव शर्माले बताए।
‘सडक विभागले सडक बनाउँदै जान्छ, खानेपानी र विद्युत प्राधिकरणले खन्दै जान्छ, बिग्रेको दोषजति मन्त्री र सचिवलाई आउँछ’ सचिव शर्माले भने ‘अब यो अवस्था अन्त्य गर्न छुट्टै बैठक बस्छौं र स्थायी निकास निकाल्छौं।’
वर्षात हटेलगत्तै भदौ दोस्रो साताबाट सडक मर्मत–सम्भारको काम सुरु गरिने भएको छ।
महाराजगञ्ज–बूढानीलकण्ठ सडकका धेरै ठाउँमा पानीको पाइप फुटेर सडक खाल्डा र खुल्डी परेको छ। यो समस्या तत्काल हल गर्न पनि मन्त्री ज्वालाले निर्देशन दिएका छन्।