काठमाडौं। ट्राफिक व्यवस्थापनका लागि कार्यदल बन्ने भएको छ। काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनमा देखिएका समस्या समाधान गर्न संयुक्त कार्यदल बनाएर समस्या समाधान गरिने काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) पोषराज पोखरेलले बताए।
उपत्यका ट्राफिक प्रहरी कार्यालयमा ट्राफिक प्रहरी, यातायात व्यवसायी र मजदुरबीच भएको छलफलपछि कार्यदल बनाउने प्रस्ताव डिआइजी पोखरेलले गरेका हुन् ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा २०७०९ माघ २ र फागुन ३ मा भएका सहमतिको पूर्णकार्यान्वयनमा ट्राफिक प्रहरी उदासिन देखिएको र त्यसपछि समस्या झन् थपिएको बारे नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, अखिल नेपाल यातायात मजदुर संघ, नेपाल यातायात मजदुर संघ, नेपाल मिटर ट्याक्सी व्यवसायी संघका प्रतिनिधिले चार महिनाअघि उपत्यका ट्राफिक प्रहरी कार्यालय सम्हालेका पोखरेलसँग भेटेर समस्या सुल्झाउन आग्रह गरेका थिए।
उपत्यका ट्राफिक प्रहरी कार्यालयले अधिकतम जरिवाना रकम असुल गरिरहेको, पार्किङ व्यवस्थापन गर्न नसकेको, पिक एन्ड ड्रप व्यवस्थापन नगरेको, कारबाहीका क्रममा नियन्त्रणमा लिएका कागजपत्र संगठन र व्यवसायी प्रालिलाई नदिएको, घर, ग्यारेज, विवाह व्रतबन्धमा गएका सवारीसाधनलाई रुटपरमिट नकाटेको भन्दै जरिवाना गरेको, सवारीसाधनको अगाडिको बम्फर नहटाएको भनी कारबाही गरिएको, ट्राफिक प्रहरीहरूको व्यवहार र कार्यशैलीमा कुनै सुधार नआएको लगायत समस्या सुल्झाउन आफूहरूले डिआइजी पोखरेलसँग आग्रह गरेको नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राईले बताए।
डिआइजी पोखरेलले आफू यातायात मजदुर र व्यवसायीका समस्याबारे जानकार रहेको बताउँदै समस्या समाधान गरिने प्रतिबद्धता व्यक्त गरे। उपत्यकाको पिक एन्ड ड्रप, पार्किङ, ट्राफिक संकेत, चिह्न व्यवस्था गर्न सबैसँग सहकार्य गर्ने उनले बताए।
‘तपाईंहरूले भन्नुभएका कतिपय विषय तत्काल सम्बोधन हुनेछन्। जटिल विषयमा कार्यदलमा छलफल गर्दै लैजाउँला,’ डिआइजी पोखरेलले भने, ‘कारबाहीका क्रममा जफत गरिएका कागजात तथा सवारी चालक अनुमतिपत्र व्यवसायी तथा श्रमिकका प्रतिनिधिमार्फत उपलब्ध गराइने छ। सवारीमा व्यावसायिक सामानबाहेक झिटिगुन्टा बोकेका आधारमा कारबाही हुँदैन, जरिवाना रकमको सन्दर्भमा पुनर्विचार हुन्छ।’
कार्यदल गठनपछि समस्याको साझा समाधानमा सक्रियतापूर्वक लाग्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले बताए।