काठमाडौं। शिवम् सिमेन्ट्स लिमिटेडको खुदनाफामा भारी गिरावट आएको छ। गत आर्थिक वर्ष २०७९–८० को अन्त्यसम्ममा शिवम्ले ३० करोड २४ लाख ९० हजार रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षमा उद्योगले ६९ करोड ७ लाख २० हजार रुपैयाँ खुद नाफा गरेको थियो।
एक वर्षको अवधिमा शिवम्को खुदनाफा ३८ करोड ८२ लाख रुपैयाँ बढी घटेको मंगलबार सार्वजनिक गरिएको वित्तीय विवरणमा उल्लेख छ। असार मसान्तसम्म सञ्चालन आम्दानी १६.२८ प्रतिशत घटेर ७ अर्ब ७५ करोड रुपैयाँमा आएपछि खुदनाफामा असर परेको हो अघिल्लो वर्ष सञ्चालन आम्दानी ९ अर्ब २६ करोड रुपैयाँ रहेको थियो।
गत आर्थिक वर्षमा उद्योगले ८ अर्ब ११ करोड६३ लाख रुपैयाँ कूल आम्दानी गरेको छ। अघिल्लो वर्ष ९ अर्ब४७ करोड ५९ लाख रुपैयाँ आम्दानी गरेको थियो। उद्योगले होङसी शिवम् सिमेन्टबाट ३० करोड ६० लाख ९३ हजार रुपैयाँ लाभांश अन्य शीर्षकमा राखिएको उद्योगले जनाएको छ।
तेस्रो त्रैमासभर महंगो बैंक ब्याजदर, तरलता संकुचन, विश्व बजारमा इन्धनको अत्याधिक मूल्य वृद्धिको प्रभाव र नेपाल विद्युत प्राधिकरणको अघोषित लोडसेडिङका कारण कम्पनीको समग्र उत्पादन लागत वृद्धि भएको शिवमको व्यवस्थापन पक्षले विश्लेषण गरेको छ।
विकास निर्माणमा आएको सिथिलता, नेपाल मागको तुलनामा सिमेन्टको उत्पादन अत्याधिक रहेका कारण बिक्री मूल्यमा आएको ह्रासलगायत कारणले कम्पनीको नाफा प्रभावित भएको वित्तीय विवरणमा उल्लेख छ ।
हाल शिवमको चुक्ता पुँजी ४ अर्ब ४० करोड रुपैयाँ छ। सञ्चित कोषमा ३ अर्ब ७१ करोड रुपैयाँ छ। गत आर्थिक वर्षमा उद्योगको प्रतिसेयर आम्दानी ६ रुपैयाँ ८७ पैसा छ । कम्पनीको प्रतिसेयर नेटवर्थ २०६ रुपैयाँ २३ पैसा छ।