काठमाडौं। व्यापार तथा यससम्बन्धी नीतिमा महिलालाई प्रोत्साहित गर्ने लैङ्गिक सोच प्रवर्द्धन गर्ने उद्देश्यले सम्बन्धित नीतिनिर्माताको क्षमता अभिवृद्धि गर्न तथा सम्बद्ध सरोकारवालासँगको परामर्शका लागि ललितपुरमा सोमबारदेखि कार्यशाला सुरु भएको छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय तथा युरोपियन युनियनको इयु नेपाल व्यापार तथा लगानी कार्यक्रम कार्यान्वयन गरिरहेको अन्तर्राष्टिय व्यापार केन्द्र (आइटिसी) को सि-ट्रेड इनिसियटिभ्सको संयुक्त आयोजनामा व्यापार तथा लैङ्गिक मूलप्रवाहीकरण कार्यशाला सुरू भएकाे हाे।
कार्यशालाको पहिलो दिन व्यापार र लैङ्गिक, अन्तर्राष्ट्रिय सम्मेलन र व्यापारमा महिला सहभागिता, विकल्प र नीतिमार्फत महिला सशक्तिकरणका कदम तथा लैङ्गिक मूलप्रवाहमा अन्य देशमा राम्रो अभ्यास प्रवर्द्धन गर्ने उपकरणसम्बन्धी प्रमुख मुद्दाबारे प्रस्तुति रहेका थिए।
साढे दुई दिने उक्त कार्यशालाले व्यापार नीतिमा लैङ्गिक मूलप्रवाहलाई प्राथमिकता दिन नीतिनिर्माता एवं अन्य सरोकारवालालाई यसबारे बुझाउने र महिला व्यावसायिक संघहरूलाई यससम्बन्धी नीतिगत प्रस्ताव तयार गर्न आवश्यक परामर्श गर्दैछ। उक्त अवसरमा आइटिसीद्वारा तयार पारिएको सि-ट्रेड आउटलुकले औंल्याएका विषयबारे सम्बद्ध विज्ञ र सरकारी निकाय, महिला संगठन र विकास साझेदार निकायका प्रतिनिधिसँग छलफल गरिँदैछ।
कार्यशालामा सार्वजनिक र निजी क्षेत्रका सरोकारवालाका लागि आफ्ना अनुभव र सिकेका पाठ आदान-प्रदान गरिनुका साथै महिला सहभागितालाई व्यापार-व्यवसायमा प्रोत्साहित गर्ने उपाय खोजिने छ।
यस अवसरमा महिलाकाे व्यापारमा सहभागिता प्रवर्द्धन गर्ने नीतिगत प्राथमिकतामा छलफल गरिने छ। महिला उद्यमीलाई व्यापारको मूलप्रवाहमा ल्याउन कार्यशालामा महिलाद्वारा नै तयार पारिने नीति दस्तावेजलाई नीतिनिर्माता समक्ष पेस गरी कार्यान्वयनका लागि पहल गरिने छ ।
कार्यशालाले व्यापारमा महिला सहभागिता बढाउन अनुकूल वातावरण सिर्जना गर्ने र स्वदेशी तथा अन्तर्राष्ट्रिय बजारमा महिलाको बढी पहुँचका लागि अवसर वृद्धि गर्न सहयोग पुर्याउने अपेक्षा गरिएको छ।
उक्त अवसरमा आइटिसीका उपकार्यकारी निर्देशक डोरोथी टेम्बोले लैङ्गिक उत्तरदायी र समावेशी व्यापार नीति नबनाइ व्यापारमा महिला सहभागिता बढाउन नसकिने बताइन्।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव गोविन्दबहादुर कार्कीले सार्वजनिक र निजी क्षेत्रमा महिला सहभागिता अभिवृद्धिमा नेपालले सन्तोषजनक प्रगति गरेको बताउँदै राष्ट्रिय अर्थतन्त्रमा महिलामैत्री पहललाई प्रभावकारी कार्यान्वयन गर्न सरोकारवालाबीच समन्वय आवश्यक रहेको बताए।
नेपालका लागि इयु डेलिगेसनकी सहयोग उपप्रमुख इलोइसा अस्टुडिलो फर्नान्डेजले धेरै अन्तर्राष्ट्रिय महासन्धि र उपकरणले महिलालाई व्यापारमा उनीहरूको भूमिकालाई प्रोत्साहन गर्न समावेशी र लैङ्गिक उत्तरदायी अवसर परिकल्पना गरेको बताउँदै महिलालाई व्यापारको मूल प्रवाहीकरणमा ल्याउन नीतिगत सुधारका लागि प्रमुख सरोकारवाला निकायबीच सामूहिक प्रयास गर्नुपर्ने आवश्यकतामा जोड दिइन्।
उनले समावेशी व्यापार नीति तर्जुमा र कार्यान्वयनले नेपालको अतिकम विकसित मुलुकको स्तरबाट दिगो स्तरोन्नति र दिगो विकास लक्ष्य हासिल गर्ने कार्यमा सहयोग पुग्ने विश्वास व्यक्त गरिन् ।