काठमाडौं। नेपाल राष्ट्र बैंकका अधिकांश कर्मचारी उनीहरुले पाउने तलब भत्ताबाट असन्तुष्ट भएको एक तथ्यांकले देखाएको छ। तलब तथा सेवा सुविधा र प्रोत्साहन नहुँदा उनीहरुले उच्च कार्यदक्षता देखाउन नसकेको केन्द्रीय बैंकद्वारा सार्वजनिक एक सर्वेक्षणको प्रतिवेदनले देखाएको छ।
राष्ट्र बैंकको मानव संसाधन व्यवस्थापन विभागले सार्वजनिक गरेको ‘नेपाल राष्ट्र बैंकमा मानव संसाधन व्यवस्थापन अभ्यास’ सम्बन्धी अध्ययन प्रतिवेदन उल्लेखित विषय देखाएको हो।
राष्ट्र बैंकले २०७९ असार मसान्तसम्म गरेको सो अध्ययन प्रतिवेदनअनुसार राष्ट्र बैंकमा १ हजार ८२ जना कर्मचारी कार्यरत छन्।
जसमध्ये करिब ३८.३ प्रतिशतले मात्रै प्रेरणात्मक कारण तलब तथा सेवा सुविधालाई भनेका छन्। एक चौथाई कर्मचारी राष्ट्र बैंकमा जागिरको प्रेरणा प्रमोसनलाई मान्छन्, १३ प्रतिशत काम गर्ने वातावरण, १२.२ प्रतिशत सहुलितयको जागिर भएर र ११.३ प्रतिशत कर्मचारी राष्ट्र बैंकले दिने तालिम तथा क्षमता विकासका अवसरलाई आफ्नो जागिरको प्रमुख प्रेरणात्मक कारक मानेका छन्।
अध्ययन सर्वेक्षणमा सहभागी राष्ट्र बैंकका ३ प्रतिशत कर्मचारीमात्रै राष्ट्र बैंकले गर्ने हालको कार्यसम्पादन मूल्यांकनमा सन्तुष्ट छन्। २८ प्रतिशत कर्मचारी कार्यसम्पादन मूल्यांकनमा सन्तुष्ट छैनन्। ९८ प्रतिशत कर्मचारीले हालको कार्यसम्पादन मूल्यांकन गर्ने नीति नै परिमार्जन गर्नु पर्ने बताएका छन्।
अध्ययन सर्वेक्षणमा सहभागी कर्मचारीहरुलाई तपाईंको कार्यालयमा काम नगर्ने अल्छी र निष्कृय प्रकारका ब्ल्याकसिप (कालो भेडा) कर्मचारी छन्? भनेर सोधिएको थियो। जसको जवाफमा ५७.९ प्रतिशत कर्मचारीले छैन र ४२.१ प्रतिशत कर्मचारीले छ भन्ने जवाफ दिएका थिए। राष्ट्र बैंकका ४२.१ कर्मचारी उनीहरु आफ्नो विभागका काम नलाग्ने (ब्ल्याकसीप) कर्मचारी हौं भनेर स्यंम स्वीकार गरेका हुन्।
कार्यरत विभागीय प्रमुखलाईसमेत अध्ययन कमिटीले सर्वेक्षणको क्रममा सोधेको थियो–‘तपाईको विभागमा कति प्रतिशत काला भेडा जस्ता कर्मचारीहरु छन्?’ जसको जवाफमा ९० प्रतिशत विभागीय प्रमुखहरुले आफ्नो विभागमा ४१ प्रतिशतदेखि ६० प्रतिशतसम्म काला भेडा जस्ता कर्मचारी भएको बताएका थिए। १० प्रतिशत हाकिमलेमात्रै २० प्रतिशतभन्दा कम कर्मचारी काला भेडा जस्ता भएको बताएका थिए।