काठमाडौं। डिजिटल भुक्तानी कम्पनी ई–सेवा वालेटले सर्वसाधारणमा सेयर (आइपिओ) जारी गर्ने प्रक्रिया अघि बढाएको छ।
प्राइभेट कम्पनीका रूपमा सञ्चालित ई–सेवाले नेपाल राष्ट्र बैंकबाट पब्लिक कम्पनी हुने अनुमति पाएसँगै आइपिओ जारी गर्ने प्रक्रियामा लागेको हो।
कम्पनीले राष्ट्र बैंकबाट गत साता नै पब्लिक कम्पनी हुने स्वीकृति पाएको हो। नियामकबाट स्वीकृति लिएर ई–सेवा अहिले सेयर ट्रान्फरका लागि कम्पनी रजिस्ट्रार कार्यालय पुगेको छ।
राष्ट्र बैंकले १० जना संस्थापकलाई ‘फट एन्ड प्रपर’ परीक्षण गरी सेयर ट्रान्फर अनुमति दिएको हो।
राष्ट्र बैंकको नियम र कम्पनी ऐनको नीतिअनुसार अब ई–सेवाले २० प्रतिशतदेखि ४९ प्रतिशतसम्म सर्वसाधारणमा सेयर जारी गर्न पाउनेछ।
कम्पनीको हाल चुक्ता पुँजी १० करोड रुपैयाँ छ। पब्लिक कम्पनीमा परिणत भएर पब्लिकमा सेयर जारी गर्न पहिला ई–सेवाले संस्थापकलाई सेयर ट्रान्फरको काम पूरा गर्नुपर्छ।
ई-सेवा कम्पनी रजिस्ट्रार कार्यालयको काम पूरा भएपछि पब्लिकमा सेयर जारी गर्न आवश्यक प्रक्रिया सुरु गर्ने कम्पनी सम्बद्ध स्रोतले बताएको छ।
‘संस्थापक सेयर ट्रान्फरको काम सकिएपछि कम्पनी रेटिङ्गको काम अघि बढ्छ,’ ई-सेवा सम्बद्ध स्रोतले क्यापिटल नेपालसँग भन्यो, ‘कम्पनी रेटिङ्गको रिजल्ट आएपछि धितोपत्र बोर्डमा जानुपर्ने पाटोको तयारी पनि भइरहेको छ।’
पब्लिक कम्पनीको सम्पूर्ण प्रक्रिया सम्पन्न भएपछि ई-सेवाले आइपिओ जारीको प्रक्रिया अघि बढाउनु पर्ने हुन्छ। राष्ट्र बैंकले तीन वर्षभित्र चुक्ता पुँजीको २० प्रतिशत पब्लिकमा सेयर जारीगर्नु भने पनि धितोपत्र निष्कासन तथा कारोबारसम्बन्धी नियमावली चुक्ता पुँजीको ३० प्रतिशत र कम्पनी ऐनअनुसार पब्लिक कम्पनीले ४९ प्रतिशतसम्म पब्लिकमा सेयर जारी गर्न पाउँछ।
‘भुक्तानीसम्बन्धी कार्य गर्ने संस्थालाई प्रदान गरिने अनुमति नीति, २०७९’ को प्रथम संशोधनले भुक्तानी सेवा प्रदायक कम्पनीले २०८५ असार मसान्तसम्म कार्डबाहेक अन्य सेवा सञ्चालन गर्नेले ५ करोड रुपैयाँ, कार्डसहित २५ करोड रुपैयाँ, भुक्तानी प्रणाली सञ्चालक नेपालमा जारी भएको भुक्तानी उपकरणमार्फत नेपाल बाहिरसमेत भुक्तानी कारोबार हुने गरी सञ्चालन हुने संस्थाले ८० करोड रुपैयाँ चुक्ता पुँजी कायम गरिसक्नु पर्ने व्यवस्था गरेको छ।
भुक्तानी सेवा प्रदायक कम्पनी लाइसेन्स लिएको ई-सेवाले हाल कार्डबाहेकका डिजिटल भुक्तानीसम्बन्धी कारोबारमात्रै गरिरहेको छ। राष्ट्र बैंकले ३ वर्ष समय दिएर पुर्याउन भनेको चुक्ता पुँजी कम्पनीले पहिले नै कायम गरिसकेको छ।
कम्पनीले पुँजी थपेर आफ्नो सेवासमेत थप गर्ने रणनीति बनाएको छ। कार्डसहित अन्य भुक्तानीसम्बन्धी कारोबार गर्ने तयारी कम्पनीको हो।
जसका लागि कम्पनीले २०८५ असार मसान्त अगावै २५ करोड रुपैयाँ चुक्ता पुँजी कायम गर्ने लक्ष्य राखेको छ।
पुँजी वृद्धिसँगै कम्पनीले सर्वसाधारणमा पनि सोहीअनुसार आइपिओ जारी गर्ने आवश्यक प्रक्रिया अघि बढाउँदै जानेछ।