काठमाडौं। निर्माण व्यवसायीले सरकारसँग ४० अर्ब रुपैयाँ बक्यौता भुक्तानीको कार्यतालिका मागेका छन्। भुक्तानी माग गर्दै चरणबद्ध आन्दोलन गर्दै आएका निर्माण व्यवसायीले सोमबार अर्थमन्त्री डा. प्रकाशरण महतलाई भेटी ४० अर्ब रुपैयाँ बक्यौता कार्यतालिका माग गरेका हुन्।
महासंघ अध्यक्ष रवि सिंहले काम सम्पन्न भएर पनि म्याद थपको समस्याले बिल नबनेको ४० अर्ब र ३ हजार आयोजना रहेको बताए। उनले म्याद थप भए ती आयोजनाको रकम भुक्तानीका लागि कार्यतालिका अर्थमन्त्री महतसँग मागेको उनले बताए।
सरकारले लामो समयदेखि आयोजनाका काम सम्पन्न भएर पनि रकम भुक्तानीमा ढिलाइ गरेको भन्दै चरणबद्ध आन्दोलनमा उत्रिएका निर्माण व्यवसायीले योपटक भने सरकारले लिखितरूपमा कार्यतालिका मागेका छन्। बक्यौता भुक्तानी कार्यतालिका नदिएसम्म सडक आन्दोलन नछाड्ने अडान लिएका छन्।
निर्माण व्यवसायीलाई अर्थमन्त्री महतले अर्थ मन्त्रालयमा भेट गरी आन्दोलन फिर्ता लिएर काममा फर्किन अनुरोध गरेका थिए। तर, व्यवसायीले धेरैपटक आश्वासन पाए पनि भुक्तानी नआएकाले ढुक्क हुने स्थितिमा नरहेको जानकारी गराएका छन्।
अर्थमन्त्री महतसामु बिल काटिसकेको आयोजनाको कामको १० अर्ब रुपैयाँ भुक्तानी गर्नसमेत अनुरोध गरेका थिए। सरकारले स्रोत सुनिश्चितता नै नगरी ठेक्का लगाउँदा व्यवसायीले भुक्तानी नपाएकाले ३ हजारभन्दा बढी आयोजनाको म्याद थप गर्नुपर्ने स्थितिमा पुगेको बताएका छन्।
ती आयोजना खारेजी गर्नसमेत उनीहरूले सुझाव दिएका छन्। ती आयोजना खारेज नगरे भुक्तानी कार्यतालिका दिनसमेत अर्थमन्त्री महतलाई अनुरोध गरिएको अध्यक्ष सिंहले बताए।
३ हजार आयोजनाको म्याद थप गर्ने हो भने ४ खर्ब रुपैयाँ बजेट आवश्यक पर्ने व्यवसायीको भनाइ छ। ती आयोजनाको भुक्तानी कसरी गर्ने भन्ने कार्यतालिका अर्थमन्त्री महतसँग माग गरिएको उनले स्पष्ट पारे।
व्यवसायीका विभिन्न आयोजनाको १ खर्ब २५ अर्ब रुपैयाँमध्ये ७० अर्बमात्र भुक्तानी पाएको उनीहरूकाे भनाइ छ।
अर्थमन्त्री महतले काम गरिसकेको आयोजनाको पैसा तत्कालै दिने प्रतिबद्धतासमेत जनाएको अध्यक्ष सिंहले बताए। अर्थमन्त्रीले स्रोत सुनिश्चितता नभएका आयोजनाको म्याद थप नगर्ने बताएका छन्।