काठमाडौं। निजी लगानीमा स्थापना भएको जगदम्बा इन्टरप्राइजेज प्रालिको व्यापार १०.२३ प्रतिशत बढेको छ। उद्योगले एक वर्षमा १५ अर्ब ४६ करोड १० लाख रुपैयाँको स्टिल व्यापार गरेको छ।
सन् २०२१ मा उद्योगले १४ अर्ब २ करोड र २०२० मा १४ अर्ब ९८ करोड रुपैयाँको व्यापार गरेको सार्वजनिक भएको वित्तीय विवरणमा उल्लेख छ। उद्योगको कारोबार बढे पनि मार्जिन भने घटेर ३.१९ प्रतिशत कायम भएको छ। २०२१ मा उद्योगको मार्जिन १०.७८ प्रतिशत थियो।
जगदम्बाले १५ अर्ब ८० करोड ६६ लाख रुपैयाँ ऋणको रेटिङ गराएको छ।
उद्योगले २०२२ मा स्टिल मेल्टिङ सप र २०२३ जुनदेखि हट स्ट्रिप मिल प्लान्ट सञ्चालनमा ल्याएको छ। दुई नयाँ प्लान्ट स्थापना गर्न जगदम्बाले २ अर्ब २४ करोड ६१ लाख रुपैयाँ लगानी गरेको छ।
कूल लगानी मध्ये ७५ प्रतिशत बैंकको ऋण र बाँकी २५ प्रतिशत स्वपुँजी (इक्विटी) लगानी रहेको छ। नयाँ मेल्टिङ प्लान्ट स्थापना भएपछि उद्योगले टिएमटी बार र अन्य स्टिल उत्पादनका लागि आवश्यक बिलेट आयात निर्भरता हट्ने अपेक्षा गरिएको छ।
उद्योगले विभिन्न आकारका स्टिलको उत्पादन गर्दछ। जसमा टीएमटी बार र एमएस ब्ल्याक पाइप समावेश छन्। उद्योगले जगदम्बा र जगशक्ति ब्रान्डमा विभिन्न स्टिलजन्य उत्पादहरु बजारमा ल्याएको छ।
पाइप, हटरोल्ड स्ट्रिप, सटर प्रोफाइल, शटर गाइड, शटर स्प्रिङ, लकप्लेट, प्रिफेब्रिकेटेड बिल्डिङ कम्पोनेन्ट र विभिन्न स्टिल पोलहरू निर्माण गर्दै आएको छ।
जगदम्बा इन्टरप्राइजेज सन् २००१ मा स्थापना भएको उद्योग हो। एमएस ब्ल्याक एन्ड ग्लाभ्नाइज्ड पाइप उत्पादन गर्दै आएको छ। उद्योग सञ्चालनमा आएको दुई दशक भएको छ।
उद्योगको उत्पादन क्षमता वार्षिक ९ लाख २० हजार ६ सय टन छ। उद्योग वीरगञ्जस्थित सुक्खा बन्दरगाहबाट १५ किलोमिटर दुरी बाराको जितपूरमा छ।
उद्योगको सञ्चालकमा अनिलकुमार रुंगटा र विशाल पटवारी हुन्। सञ्चालकहरु सिमेन्ट, निर्माण सामाग्रीको व्यापार र पर्यटन व्यवसायमा संलग्न छन्।