काठमाडौं। चर्चित जापानी अटोमोबाइल ब्रान्ड टोयोटाले नाडा अटो शोमा भाग नलिने भएको छ।
कारोना र गाडी आयातमा प्रतिबन्धका कारण करिब ४ वर्षदेखि हुन नसकेको नेपालकै ठूलोमध्येकाे प्रर्दशनी नाडा अटो शोमा टोयोटाले भाग नलिने भएको हो।
अहिले पनि अटोमोबाइल बजारस्थिति त्यति राम्रो नभएकाले नाडामा सहभागी हुनुको औचित्य नरहेको नेपालका लागि टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेटका एक अधिकारीले बताए।
भदौ २६ गतेदेखि ३१ गतेसम्म भृकुटीमण्डप परिसरमा आयोजना हुन लागेको हो। अटो शोका लागि ८२ वटा स्टल बुकिङ भएको छ।
नाडा अटो एक्सपो २०२०, २०२१ र २०२२ कोभिड महामारीलगायत अन्य विभिन्न कारणबाट आयोजना हुन सकेको थिएन।
यस प्रर्दशनीमा विद्युतीय सवारीसाधनलगायत चार वर्षपछि हालसम्मका नयाँ मोडेल अवलोकन गर्न पाउने नाडाले जनाएको छ।
प्रदर्शनीमा विभिन्न ब्रान्ड र मोडेलका सवारी र त्यसमा प्रयोग हुने टायर–ट्युब, लुबिकेन्ट्स, स्पेयर पार्ट्स, एसेसरिज, अटो कम्पोनेन्ट्स एवं ग्यारेज उपकरणलगायत सामग्रीसहित कूल ८२ स्टल प्रदर्शनीमा राखिने छ।
त्यसैगरी प्रदर्शनीमा अटोमोबाइल व्यवसायसँग प्रत्यक्ष सरोकार राख्ने बैंक तथा इन्स्योरेन्स कम्पनीसमेतको उल्लेख्य सहभागिता रहने छ।
प्रदर्शनीमा सहभागी हुने अटोमोबाइल कम्पनीले आफ्ना नयाँ मोडेलका सवारीसाधन बिक्रीका लागि विभिन्न छुट र सुविधासहित प्याकेज दिने नाडाले जनाएको छ।
प्रदर्शनीमा १ लाखभन्दा बढी दर्शकले अवलोकन गर्ने र करिब २० अर्बभन्दा बढीको कारोबार हुने नाडाको अनुमान छ।