काठमाडौं। नेपाल राष्ट्र बैंकका कर्मचारीहरूमाथि यौन हिंसा हुने गरेको तथ्य बाहिर आएको छ। बैंक तथा वित्तीय संस्थाहरूको नियामक निकाय केन्द्रीय बैंकका १ सय ६१ कर्मचारी यौन तथा शारीरिक हिंसाको शिकार भएका हुन्।
राष्ट्र बैंकको मानव संशाधन व्यवस्थापन विभागले सार्वजनिक गरेको ‘नेपाल राष्ट्र बैंकमा मानव संशाधन व्यवस्थापन अभ्यास’ सम्बन्धी अध्ययन प्रतिवेदनले केन्द्रीय बैंकमा कार्यरत १४.८ प्रतिशत कर्मचारी यौन तथा शारीरिक उत्पीडन र ६० प्रतिशत कर्मचारी मानसिक उत्पीडनको शिकार भएको देखाएको छ।
मानव संशाधन व्यवस्थापन विभागले २०२२ मा गरेको उक्त अध्ययन प्रतिवेदनअनुसार राष्ट्र बैंकमा १ हजार ८२ जना कर्मचारी कार्यरत छन्। यी कर्मचारीलाई यौनिक शारीरिक तथा मानसिक उत्पीडनको बारेमा गरिएको प्रश्नका आधारमा राष्ट्र बैंकमा हुने यौन तथा शारीरिक र मानसिक उत्पीडनको तथ्य बाहिर आएको हो।
प्रतिवेदनअनुसार राष्ट्र बैंकका १ हजार ८२ जना मध्ये १ सय ६१ जनाले यौन तथा शारीरिक हिंसाको सामना गर्नुपरेको छ। जसमध्ये ४७ जना कहिलेकही, १० जना प्राय: र १ सय ४ जना विरलै यौन तथा शारीरिक हिंसाको शिकार भएका हुन्। बाँकी कर्मचारीले यस्तो हिंसाको सामना कहिलै गर्नुनपरेको उल्लेख गरिएको छ।
यसैगरी केन्द्रीय बैंकमा कार्यरत कर्मचारीमध्ये ६ सय ४९ जना मानसिक उत्पीडनको शिकार भएको देखाएको छ। जसमध्ये १९ जना सधै, २ सय ६३ जना जना कहिलेकही, १९ जना प्राय: र ३ सय ४८ जना विरलै मानसिक उत्पीडनको शिकार भएका हुन्।
यस्तो हुनुमा ८० प्रतिशतभन्दा बढी उत्तरदाताले राष्ट्र बैंकमा यौन तथा शारीरिक र मानसिक उत्पीडनविरुद्ध नीति नभएर भनेका छन् भने ५५ प्रतिशतले राष्ट्र बैंकको कर्मचारी नीतिले मानसिक स्वास्थ्यसम्बन्धी समस्यालाई प्राथमिकतामा नराख्दा र ८० प्रतिशतले राष्ट्र बैंकले अहिले भएका नीतिलाई सुधार गरेर कर्मचारीमाथि हुने यौन तथा शारीरिक र मानसिक हिंसा अन्त्य गर्नुपर्ने बताएका थिए।
राष्ट्र बैंकमा ८ सय १५ जना पुरुष र २ सय ६७ जना महिला कर्मचारी छन्। यीमध्ये स्पेसियल अफिरमा १८ जना पुरुष, अधिकृत (प्रथम तह) मा ४७ जना पुरुष र ८ जना महिला गरी ५५ जना, अधिकृत (दोस्रो तह) मा १ सय ७० जना पुरुष र २८ जना महिना गरी १ सय ९८ जना र अधिकृत (तेस्रो तह) मा १ सय ९४ जना पुरुष र ९४ जना महिला गरी २ सय ९० जना कर्मचारी छन्। अधिकृत तहमै ४ सय ३१ जना पुरुष र १ सय ३० जना महिला गरी ५ सय ६१ जना कर्मचारी छन्।
यस्तै, सहायक (प्रथम तह) मा १ सय २७ जना पुरुष र ३७ जना महिला, सहायक (दोस्रो तह) मा १ सय ९३ जना पुरुष र ६९ जना महिला, सहायक (तेस्रो तहमा) मा १० जना पुरुष र २ जना महिला कर्मचारी कार्यरत छन्। साथै, ५४ जना पुरुष र २९ जना कार्यलय सहयोगी तहका कर्मचारी कार्यरत छन्।