काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले देशभरका विभिन्न स्थानमा ५० ओटा विद्युतीय सवारीसाधन चार्जिङ स्थापनका लागि प्रक्रिया अघि बढाएको छ । प्राधिकरणले चार्जिङ स्टेशन स्थापना गर्न बोलपत्र आब्हान गर्न लागेको हो ।
विद्युतीय सवारी प्रवद्र्धन गर्न प्राधिकरणले आफैले चार्जिङ स्टेनशन निर्माण गर्न लागेको छ । चार्जिङ स्टेशन निर्माणका लागि बोलपत्र प्रस्ताव आह्वान गर्न लागेको प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले बताए ।
बोलपत्रका लागि आवश्यक डकुमेन्ट तथा दस्तावेज पुनरावलोकनको गर्ने काम भइरहेकोे अधिकारीले जानकारी दिए । उनले परामर्शदाताबाट टेन्डर डकुमेन्ट पुनरावलोकन भएर आउनासाथ बोलपत्र आह्वान गरिने बताए ।
‘अहिले चार्जिङ स्टेशनका लागि आवश्यक टेन्डर डकुमेन्ट पुनरावलोकन गर्ने काम भइरहेको छ’ उनले भने, ‘पुनरावलोकन भएर आउनासाथ बोलपत्र आह्वान गर्छौं ।’
अन्तर्राष्ट्रिय प्रतिस्पर्धाबाट निर्माण कम्पनी छनौट हुने भएकाले विदेशी प्रविधि नेपालमा भित्र्याउन सकिने उनको भनाई छ । प्रतिस्पर्धामार्फत छनौट हुने विदेशी कम्पनीले नेपालको स्वदेशी कम्पनीसँग संयुक्त रुपमा काम गर्नुपर्ने छ ।
स्वदेशी कम्पनी पनि निर्माणमा इच्छुक हुने भएकाले अनिवार्य रुपमा सहभागी गराइने प्राधिकरणले जनाएको छ । एसियाली विकास बैंक (एडीबी) ले दिने ५० हजार अमेरिकी डलर (करिव ५७ लाख रुपैयाँ) अनुदानमा चार्जिङ स्टेशन बनाइनेछ । टेन्डर गरिसकेपछि कम्पनीले चार्जिङ स्टेशनको काम ९ महिनाभित्र सम्पन्न गर्ने छ ।
चार्जिङ स्टेशन निर्माण गर्न जग्गाको अभाव नहुने प्राधिकरणको दाबी छ । विभिन्न ३० ओटा स्थानीय सरकारले जग्गा उपलव्ध गराउने गरी निवेदन प्राप्त भएको छ ।
सार्वजनिक—निजी—साझेदारी(पीपीपी) हुने चार्जिङ स्टेशनको मोडालिटीका लागि आवश्यक जग्गा विभिन्न नगरपालिका÷गाउँपालिका, डिपार्टमेन्ट स्टोर लगायतका ठाउँमा व्यवस्थापन गरिनेछ ।
जग्गा उपलव्ध गराउने संस्था वा कम्पनीको निःशुल्क प्रवद्र्धन तथा व्यापारका लागि विज्ञापन गरिदिने प्राधिकरणले जनाएको छ ।
तीन प्रकार चार्जिङ ‘प्रोटोकल’
अहिले नेपालमा प्रयोग रहेका सवारीको अध्ययन गरी मुख्य गरी तीन प्रकार चाजिङ ‘प्रोटोकल’ तयार पारिएको प्राधिकरणले जानकारी दिएको छ । सबै विद्युतीय गाडीका लागि सुहाउँदो तीन प्रकार चार्जिङ स्टेशन राखिनेछ ।
एउटा चार्जिङ स्टेशन १४२ किलोवाट क्षमताको रहनेछ । जसमा, ६० किलोवाटका दुइओटा डीसीगन र २२ किलोवाट क्षमताको एसीगन पावर मेशिन राखिनेछ । एकै समयमा एउटा चार्जिङ स्टेशनबाट तीनओटा गाडी चार्ज हुन सक्नेछन् ।
सबै जानकारी ‘मोबाइल एप’ पाइने
प्राधिकरणले विद्युतीय सवारी प्रवद्र्धन, चार्जिङ स्टेशनको दुरी, ठाउँ लगायतका जानकारी दिन ‘मोबाइल एप्स’ सञ्चालनमा ल्याउने छ । मोबाइल एप्सको सहायताले कुनै पनि विद्युत्तीय सवारी अर्को स्थानसम्म पुग्दा चार्ज गर्ने ठाउँ, दुरी, सवारीमा कति चार्ज छ भन्ने लगायतका जानकारी पाउनेछ । मोवाइल एप्ससँगै डाटा सेन्टर र कन्ट्रोल रुम पनि सञ्चालन गरिने प्राधिकरणले जनाएको छ ।
आगामी वर्षदेखि विद्युत बढी हुने देखिएपछि प्राधिकरणले खपत बढाउन चार्जिङ स्टेशन निर्माण गर्न लागेको हो । सरकारले विद्युतीय सवारीसाधनमा जोड दिन थालेको छ ।