काठमाडौं। निजी क्षेत्रबाट निर्माणाधीन ९७.२ मेगावाट क्षमताको इस्वाखोला जलविद्युत आयोजनाको ४६ प्रतिशत भौतिक प्रगति भएको छ।
केबिएनआर इस्वा लिमिटेडले बनाइरहेको ‘पिकिङ रन अफ दि रिभर’ (अर्धजलाशय) आयोजनाको काम अब ५४ प्रतिशत बाँकी छ। बाँकी काम दुई वर्षमा पूरा गर्ने केबिएनआरले जनाएको छ।
आयोजना बनाउन ११ अर्ब ३३ करोड ८३ लाख रुपैयाँ खर्च हुने अनुमान छ। यसलाई आधार मान्दा आयोजनाको प्रतिमेगावाट लागत ११ करोड ६६ लाख रुपैयाँ छ।
यो निर्माणधनमध्ये सस्तो आयोजना हो। अहिले आयोजनाको लागत बढेर औसत २० करोड रुपैयाँ बढी नै छ। तर, केबिएनआरको प्रातिमेगावाट लागत झन्डै आधा कम छ।
सानिमा बैंकको अगुवाइमा ९ अर्ब ७ करोड रुपैयाँ ऋण लगानी हुने भएको छ। बाँकी २ अर्ब २६ करोड ७६ लाख रुपैयाँ संस्थापकको लगानी छ। आयोजनामा कर्मचारी सञ्चय कोषले १ अर्ब रुपैयाँ ऋण लगानी गरेको छ।
इस्वाखोलामा स्वपुँजी २० र ८० प्रतिशत बैंक लगानी भएको छ। ४६ प्रतिशत भौतिक प्रगति हुँदा अहिलेसम्म ४ अर्ब ४१ करोड ५० लाख रुपैयाँ खर्च भएको छ। कम्पनीले ९ अर्ब १६ करोड ९० लाख रुपैयाँ ऋणको रेटिङ गराएको छ।
आयोजनाबाट विद्युत उत्पादन हुने मिति (आरसिओडी) गत असारमा सकिएको छ। विद्युत उत्पादन मिति सकिएपछि केबिएनआरले दुई वर्ष समय थप्न नेपाल विद्युत प्राधिकरणमा निवेदन दिएको छ। प्राधिकरणले यस विषयमा निर्णय गरेको छैन।
सन् २०१८ मा कम्पनी र विद्युत प्राधिकरणबीच विद्युत खरिद सम्झौता (पिपिए) भएको हो। पिपिएको अवधि ३० वर्षको छ। अर्धजलाशय आयोजना भएको बर्खाको ६ महिना प्रतियुनिट ४.८० रुपैयाँ र सुक्खायाममा न्यूनतम ८.५५ देखि १०.५५ रुपैयाँमा पिपिए भएको छ। आठ वर्षसम्म ३ प्रतिशतका दरले मूल्य बढ्ने छ।
आयोजनाबाट उत्पादन हुने बिजुली २२ किलोमिटर दुरीमा रहेको संखुवासभा तुम्लिङटार सबस्टेसनमा जोडिने छ। विद्युत प्राधिकरणले २ सय २० केभी क्षमताको प्रसारण लाइन र सबस्टेसन बनाइरहेको छ।
इस्वाखोला हिमनदी हो। यो अरुणको सहायक नदी हो। हिमनदी भएकाले इस्वाबाट वर्षैभरि राम्रो विद्युत उत्पादन हुने देखिएको छ। सुक्खायाममा पनि दैनिक ६ घन्टासम्म आयोजना पूर्णक्षमतामा सञ्चालन हुने गरी डिजाइन गरिएको छ।
कम्पनीको अध्यक्ष वीरेन्द्रबहादुर न्यौपाने छन्। उनको जलविद्युत र निर्माण क्षेत्रमा चार दशक लामो अनुभव छ। उनको अगुवाइमा हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेड र जोशी हाइड्रोपावर कम्पनी लिमिटेड सञ्चालनमा छन्।
व्यक्तिगत तथा संस्थागत लगानीकर्ताको पहलमा २०१७ मा केबिएनआर स्थापना भएको हो। कम्पनीले सर्वसाधारणलाई प्राथमिक सेयर (आइपिओ) निष्कासन गर्ने छ।