काठमाडौं। भारतका अर्थमन्त्री निर्मला सीथारमणले संसदमा नेपालबाट गोलभेँडा आयात गर्न लागिएको जानकारी जानकारी दिइन्। बिहीबार संसदमा बोल्दै सीथारमणले सरकारले नेपालबाट गोलभेँडा आयात गर्न लागेको बताएकी हुन्।
समाचार संस्था रोयटर्सका अनुसार उत्पादन कम भएपछि भारतमा गोलभेँडाको भाउ १ हजार ४ सय प्रतिशतसम्म बढेको छ। कम वर्षा, तापक्रम वृद्धि र भाइरस फैलिएका कारण भारतमा गोलभेँडा उत्पादनमा गिरावट आएको हो।
त्यहाँ गोलभेँडाको भाउ कीर्तिमानी दरमा वृद्धि भई किलोको १ सय ४० भारु (१.६९ डलर) (२ सय २४ रुपैयाँ) पुगेकाले बजारको अत्यधिक माग धान्न नेपालबाट भारतले गोलभेँडा लैजान लागेको रोयटर्सले जनाएको छ।
भारतमा गोलभेँडाको बढ्दो मूल्य सम्बोधन गर्न दीर्घकालीन आधारमा थोक निर्यात प्रस्ताव गरेको भारतीय सञ्चारमाध्यम मिन्टले जनाएको छ।
अहिलेको अवस्थामा ठूलो परिमाणमा गोलभेँडा भारत निर्यात गर्न सहज नहुने तरकारी आपूर्तिकर्ता दीपेन्द्र ढुंगाना बताउँछन्।
‘अहिले नेपालको उत्पादनले यहीँको माग धान्न सकेको छैन। भारत निर्यात भइरहे पनि त्यो थोरै परिमाणमा होला,’ उनले भने।
दुवै सरकार मिलेर तरकारीको दीर्घकालीन निर्यात सहज बनाए किसान, विक्रेता र उपभोक्ता सबैलाई फाइदा पुग्ने उनको तर्क छ।
‘अहिले नै गोलभेँडा निर्यात गर्न त हाम्रो उत्पादनले धान्दैन। यदि तरकारी निर्यात प्रक्रिया सहज भए दीर्घकालीनरूपमा फाइदा पुग्छ,’ उनले भने।
नेपालमै अभाव बनाएर विदेशमा निर्यात गर्नु उचित नहुने उपभोक्ता अधिकारकर्मी माधव तिमल्सिना बताउँछन्।
‘कुनै पनि खाद्यान्न आफ्नो नागरिकलाई पुगेपछि बल्ल अरूलाई निर्यात गर्ने हो। गोलभेँडा निर्यात गर्दा केही किसानलाई फाइदा पुग्ला तर लाखौं उपभोक्ता मारमा पर्छन्,’ उनले क्यापिटल नेपालसँग भने।
यस्ता खाद्यवस्तु आयात र निर्यातका लागि अन्तरनिकाय समन्वय हुनुपर्ने तिमल्सिनाको तर्क छ। ‘हाम्रो स्पष्ट आपूर्ति नीति छैन। अन्तरनिकाय समन्वय छैन। कुनै वस्तु निर्यात गर्दा नागरिकलाई के असर गर्छ भनेर अन्तरनिकाय समन्वय भएपछि मात्र निर्णय गर्नुपर्छ,’ उनले भने।
नेपाली गोलभेँडा भारत निर्यात गर्न लागेको विषयमा जानकारी नभएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका प्रवक्ता होमप्रसाद भट्टराईले बताए।
‘गोलभेँडा निर्यात विषयमा हामीलाई जानकारी छैन। निर्णय भएको भए मन्त्रालय स्तरबाटै होला, हामीले त माग्यो भने राय दिनेमात्र हो,’ उनले भने।
नेपाली फलफूल तथा तरकारी निर्यात विषयमा भारतीय पक्षसँग कुनै छलफल नभएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनीले बताए।
‘यो विषयमा भारतीय पक्षसँग हाम्रो कुनै कुरा भएको छैन। कृषि मन्त्रालयमार्फत भएको हुन सक्छ,’ उनले भने।
भारतीय पक्षले तत्कालका लागि गोलभेँडा निर्यात गर्नुभन्दा पनि सबै प्रकारका तरकारी निर्यात सहज बनाउने नीति लिएको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका प्रवक्ता शवनम शिवाकोटी अर्याल बताउँछिन्।
‘हाम्रो कृषिजन्य उत्पादनलाई भारतमा निर्यात गर्न सहज निकास दिन धेरैपटक आग्रह गरेका थियौं। भारतीय पक्षले अहिले केही समयका लागि प्लान्ट क्वारेन्टिन अर्डरमा गोलभेँडालगायत केही कृषिजन्य उत्पादन समावेस गरेको छ,’ उनले भनिन, ‘हामीले यसलाई दीर्घकालीन निकास दिन आग्रह गरिरहेका छौं।’
धेरै प्रकारका कृषिजन्य उत्पादन भारत निर्यात गर्न सके नेपालको उत्पादन खेर नगई, कृषकलाई प्रोत्साहन पनि हुने उनले बताइन्।
नेपालमै गोलभेँडा छोइनसक्नु
नेपालबाट भारतमा गोलभेँडा निर्यात गर्ने चर्चा चलिरहँदा यहीँ भने मूल्य आकासिएको छ। कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार हाल ठूलो नेपाली गोलभेँडाको मूल्य न्यूनतम १ सय ३० रुपैयाँ देखि १ सय ५० रुपैयाँ प्रतिकिलो, सानो लोकल गोलभेँडाको मूल्य न्यूनतम ६० देखि ७० रुपैयाँ किलो र सानो टनेल गोलभेँडा ५० देखि १ सय रुपैयाँ किलो छ।
असार सुरुमा मूल्य नपाएको नेपाली गोलभेँडाको उत्पादन कम भएपछि मूल्य बढेको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठले बताए।
‘अहिले यसै पनि गोलभेँडाको अफसिजन हो। असारमा धेरैको बाली राम्रो भएर उत्पादन धेरै भएको थियो,’ उनले भने, ‘अहिले उपत्यकामा उत्पादन कम छ र तराईको उत्पादन आउने बेला भएको छैन। त्यही भएर भाउ बढेको हो।’
किसान अहिले दसैंमा उत्पादन गर्न केन्द्रित भएकाले गोलभेँडा अभाव भएको ताजा कृषि तथा पशुपंक्षी फार्मका सञ्चालक राङडोल लामा बताउँछन्।
‘यो दसैंका लागि बाली लगाउने सिजन हो। असारमा गोलभेँडाको भाउ नपाएपछि किसान दसैंका लागि बाली लगाउन केन्द्रित भए,’ उनले भने, ‘कतिपयले त राम्रै उत्पादन भएको बाली पनि नष्ट गरेर अर्को बाली लगाए। त्यही भएर उत्पादन कम भएको हो।’
असोजदेखि फेरि पहिलेकै अवस्थामा गोलभेँडा उत्पादन हुने उनले जानकारी दिए। ‘धेरै कृषकले दसैंमा उत्पादन आउने गरी गोलभेँडा लगाएका छन्। असोजदेखि उत्पादन राम्रो हुन्छ,’ लामाले भने।
एक वर्षमा १० लाख किलो बढी गोलभेँडा निर्यात
गत आर्थिक वर्ष २०७९/८० मा १० लाख किलोभन्दा धेरै गोलभेँडा निर्यात भएको थियो। भन्सार विभाग तथ्यांकअनुसार गत आर्थिक वर्ष भारतमा मात्र १ करोड ४९ लाख ४ हजार रुपैयाँको १० लाख ९४ हजार ५ किलो गोलभेँडा निर्यात भएको थियो।
त्यसैगरी गत आर्थिक वर्ष ६१ करोडभन्दा धेरैको गोलभेँडा आयात भएको थियो। त्यसबेला ६१ करोड ८ लाख ६३ रुपैयाँबराबरको ४ करोड २१ लाख ५ हजार ६ सय ४ किलो गोलभेँडा आयात भएको थियो। जसबाट सरकारले ६ करोड २ लाख ७३ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो।