काठमाडौं। अर्थमन्त्री डा. प्रकाशशरण महतले बैंकहरूलाई आक्रमकरूपमा कर्जा असुलीमा नजान निर्देशन दिएका छन्। मन्त्री महतले एनआइसी एसिया बैंकको नाम नै लिँदै अन्य बैंकलाई पनि आक्रमक धितो असुलीमा नजाने निर्देशन दिएका हुन्।
आइतबार अर्थमन्त्री महतले सबै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) लाई मन्त्रालयमा छलफलका लागि बोलाएका थिए। उनले आर्थिक गतिविधि चलायमान बनाउन बैंकिङ क्षेत्रको भूमिकाबारे प्रष्ट्याउँदै सहयोगको अपेक्षा सिइओहरुसामु राखेका छन्। आर्थिक गतिविधि चलायमान बनाउन बैंकिङ क्षेत्रले जनता र बैंक ऋणीलाई सकारात्मक सहयोग गर्नुपर्ने बताएका हुन्।
‘बैंकिङ क्षेत्रले पनि इन्करेज गर्नुपर्यो, आपसी प्रतिस्पर्धा व्यवस्थापन गर्दै ऋणीहरुको आवश्यकताअनुसार काम गर्नुस्। ऋणी नै नतिर्ने भन्दै संगठन नै बनाएर आन्दोलन गर्ने ऋणीलाई सरकारले प्रोत्साहन गर्दैन,’ छलफलमा मन्त्री महतले भने, ‘तर, वास्तविक समस्यामा परेका ऋणीलाई भने केही समय दिनुपर्छ। सबैले मागेको होइन, सीमित ऋणीले मात्रै मागेका हुन्।’
समस्यामा परेको वास्तविक ऋणीको मूल्यांकन नै नगरी व्यक्तिगत स्वार्थमा बैंकहरू धितो असुलीमा आक्रमक भएको मन्त्री महतले बताए।
‘त्यसमा एनआइसी एसिया बैंकसँगै अरू पनि बैंकहरू छन्। यही मौकामा धितो लिलाम गरेर फाइदा लिइहाल्ने, यथेष्ठ सम्पत्ति भएर पनि नगदमा परिणत गर्न नसक्ने बैंकले आक्रमकरूपमा असुलीमा गएका छन्, यसमा अलि सहज र व्यावहारिक हुन होला। कर्जा प्रवाह वृद्धि होस् भन्ने नै हो, हिजोको दिनमा तपाईंहरूले पनि कर्जा दिँदा राम्रोसँग हेर्नुपर्ने हुन्थ्यो, ऋणीको मात्रै दोष होइन,’ अर्थमन्त्री महतले भने।
सरकारले हरेक क्षेत्रमा नगद प्रवाह बढ्ने गरी काम गरेको हुँदा बैंकिङ क्षेत्रमा पनि आर्थिक गतिविधि चलायमान गर्न प्रोत्साहन गर्नुपर्ने उनको भनाइ थियो। पछिल्लो समय अर्थतन्त्रका आयाममा सुधार देखिए पनि बैंकिङ क्षेत्रको कर्जा प्रवाह हुन नसक्नुमा उनले चिन्ता व्यक्त गरेका थिए।
‘रेमिट्यान्स पनि बढिरहेको छ, बजारमा तरलता पनि छ, पर्यटक पनि बढ्दो छ, मानिसहरूसँग पैसा पनि छ तर आर्थिक गतिविधि बढ्न सकेको छैन र बैंकको कर्जा लगानी पनि बढ्न नसक्नु हाम्रो चिन्ताको विषय हो,’ बैंकर्स संघको छलफलमा अर्थमन्त्री महतले भने।
राष्ट्र बैंकले बैंकहरूलाई दिने सहुलियतको विषयमा मन्त्रालयले कुरा गरिरहेको छ, केही सम्बोधन भएका छन् भने घरजग्गाको क्षेत्रलाई पुरानै लयमा फर्काउने, आन्तरिक लगानीलाई प्रोत्साहन गर्ने नीति सरकारले लिएको उनले बताए।