काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले अब सूचना प्रविधि क्षेत्र नेपालमा सबैभन्दा धेरै राजश्व संकलन गर्ने क्षेत्र बन्ने बताएकी छन्।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित आर्थिक वर्ष २०७९/८० को बार्षिक समीक्षा तथा मन्त्रालयस्तरीय विकास समितिको बैठकलाई सम्बोधन गर्दै मन्त्री शर्माले यस्तो बताएकी हुन्।
अब सूचना प्रविधि नै नेपालमा सबैभन्दा धेरै राजस्व संकलन गर्ने क्षेत्र बन्ने उल्लेख गर्दै उनले यसका लागि पूर्वाधार र जनशक्ति विकासमा विशेष ध्यान दिनुपर्ने बेला आएको बताइन्।
‘अब आम सञ्चार क्षेत्रले प्रभावकारी प्रचार र सूचना प्रविधिको क्षेत्रले देशको समृद्धिका लागि डिपार्चर गर्नुपर्छ,’ मन्त्री शर्माले भनिन्, ‘सूचना प्रविधि क्षेत्रको विकासका लागि आवश्यक पर्छ भने नयाँ संरचना भए पनि बनाएर जाऔं तर अब नेपालको डिपार्चर गर्ने क्षेत्र नै यही हो, यसमा ढिलासुस्ती गर्नु हुँदैन।’
हाल सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गत आम सञ्चार, सूचना प्रविधि, दूरसञ्चार, चलचित्र, मुद्रण र हुलाक सेवा गरी ६ क्षेत्र तथा विभिन्न १८ वटा संस्थान र निकाय रहेका छन्।
आफूले प्रधानमन्त्रीसँग हरेक महिना मन्त्रालयको प्रगति विवरण रिपोर्ट कार्डका रूपमा पेस गर्ने कार्य सम्पादन सम्झौता गरिसकेको उल्लेख गर्दै मन्त्री शर्माले भनिन्, ‘मेरो कार्य सम्पादन भनेकै तपाईहरूका क्षेत्र र निकायहरुबाट हुने हो, त्यसैले मन्त्रालय माताहतका सबै क्षेत्र र निकायलाई हरेक महिनाको प्रगति विवरण रिपोर्ट कार्डका रूपमा पेस गर्न आग्रह गर्दछु।’
गत आर्थिक वर्षमा मन्त्रालायको पूँजीगत खर्च ६० प्रतिशत पुग्न नसकेकोप्रति असन्तुष्टि व्यक्त गर्दै मन्त्री शर्माले आफैंले बनाएका योजनाहरू किन कार्यान्वयन हुँदैनन्? भनेर प्रश्न गरिन।
‘हामी जिम्मेवारीमा बसेका मान्छे पन्छिने बानी छ, यो राम्रो होइन। हरेक निकाय र जिम्मेवार अधिकारीले आत्मसमीक्षा गरेर प्रगति मूल्यांकन गर्नुपर्छ,’ मन्त्री शर्माले भनिन्, ‘अरु कुनै कारण वा कसैले गर्दा भएन भन्न पाइँदैन। हामी सबैले कसको कति कमजोरी हो खोजी गरौं। तर, चालू आर्थिक वर्षमा बहानाबाजी गरेर पूँजीगत खर्च नबढाउने छूट हामी कसैलाई छैन।’
उनले हरेक निकायले आफूले गरेका कामलाई दस्तावेजीकरण गर्न पनि निर्देशन दिइन्। ‘हामीले निश्चित समय तोकेर काम गर्ने गरी माइलस्टोन बनाउँछौं, ती त आधार मात्रै हुन्,’ उनले भनिन् , ‘माइलस्टोन मात्र पूरा गर्नुपर्छ भन्ने छैन, त्यसबाहेक पनि थुप्रै सिर्जनात्मक काम गर्न सकिन्छ, ती सबै कामको दस्तावेजीकरण गर्नुहोस्, त्यसका आधारमा तपाइँको थप मूल्यांकन पनि हुन्छ।’
पहिले आमसञ्चार क्षेत्रका काम बढी हुने बेलामा सञ्चार मन्त्रालय सरकारको प्रचार मन्त्रालयको रुपमा मात्र रहने गरेको भए पनि अहिले सञ्चारभन्दा बढी सूचना प्रविधिको काम थपिएकाले अब काम गर्ने र प्रचार गर्ने दुबै दायित्व यो मन्त्रालयसँग रहेको उनले बताइन्।