काठमाडौं। नेपाल निर्माण व्यवसायी महासंघको तेस्रो चरणको आन्दोलन आइतबारबाट सुरु भएको छ।आन्दोलनको पूर्वनिर्धारित कार्यक्रमअनुसार महासंघले आइतबार ललितपुर चाकुपाटस्थित सडक विभाग र जावलाखेलस्थित सिँचाइ विभागमा नाराबाजीसहित धर्ना दिएर ताला लगाएको छ।
महासंघ अध्यक्ष रवि सिंह नेतृत्वको टोलीले सडक विभागमा ताला लगाएको थियो भने वरिष्ठ उपाध्यक्ष इन्जिनियर आङदोर्जी लामा नेतृत्वको टोलीले सिँचाइ विभागमा ताला लगाएको हो।
सिँचाइ विभागमा ताला लगाउने क्रममा प्रहरीले हस्तक्षेप तथा धरपकड गरी वरिष्ठ उपाध्यक्ष इन्जिनियर आङदोर्जी लामासहित ४६ जनालाई पक्राउ गरेको थियो। पक्राउ गरिएकालाई केही घन्टा जाउलाखेलस्थित ललितपुर प्रहरी परिसरमा राखिएको थियो।
सडक विभागको भित्री कक्षमा ताला लगाएका व्यवसायीले मूलगेट अगाडि तीन घन्टा धर्नासहित नाराबाजी गर्दै व्यवसायीको माग पूरा गर्न सरकारसँग माग गरेका छन्। धर्ना कार्यक्रममा महासंघ अध्यक्ष सिंहले सरकारी उदासिनताका कारण निर्माण उद्योग धराशयी हुन लागेको बताए।
‘सरकारी संयन्त्रबीचकै समन्वय अभावका कारण निर्माण व्यवसायीले ठूलो मार खेप्नुपरेको छ,’ अध्यक्ष सिहंले भने। महासंघले अहिले उठाएका माग व्यवसायी केन्द्रितभन्दा पनि मुलुकको समग्र निर्माण उद्योगलाई समृद्ध बनाउन लक्षित रहेको उनको भनाइ छ।
पहिलो र दोस्रो चरणको आन्दोलनपछि पनि सरकारले व्यवसायीका जायज माग सम्बोधन नगरेका कारण बाध्य भएर तेस्रो चरणको आन्दोलन सुरु गरिएको महासंघले जनाएको छ।
सडक विभागको धर्नापछि अध्यक्ष सिंह नेतृत्वको टोलीले जावलाखेलस्थित प्रहरी परिसर अगाडि थुनामा रहेका निर्माण व्यवसायीको तत्काल रिहाइको माग गर्दै नाराबाजी गरेपछि सबै व्यवसायी रिहा भएका थिए।
आइतबारको विरोध कार्यक्रम महासंघले सोमबार पनि निरन्तरता दिने भएको छ। व्यवसायीको अर्बौं रकम भुक्तानी हुनुपर्ने, सबै आयोजनाको एकमुष्ट म्याद थप हुनुपर्ने, मूल्य समायोजन हुनुपर्ने, निर्माण व्यवसायीमैत्री ऐननियम लागू हुनुपर्ने, निर्माण व्यवसायीको माग सम्बोधनका लागि उच्चस्तरीय वार्ता टोली गठन हुनुपर्नेलगायत १० बुँदे माग राखी व्यवसायी साउन १४ देखि निरन्तर आन्दोलनमा छन्।
आन्दोलनका कार्यक्रमअन्तर्गत व्यवसायीले साउन १४ यता सार्वजनिक खरिद अनुगमन कार्यालय, प्रधानमन्त्री निवास बालुवाटार, संघीय संसद, माइतिघरमण्डला र सिंहदरबार अगाडि शान्तिपूर्ण धर्ना दिइसकेका छन्।
यसैबीच महासंघको जारी आन्दोलनप्रति भारतीय निर्माण व्यवसायीको साझा संस्था बिल्डर्स एसोसिएसन अफ इन्डियाले समेत ऐक्यबद्धता जनाएको छ।