काठमाडौं। नागरिक लगानी कोषले नयाँ जहाज खरिद गर्न नेपाल वायुसेवा निगमलाई थप ऋण नदिने भएको छ।
निगमले ‘वाइडबडी’ जहाज खरिद गर्न लिएको १२ अर्ब रुपैयाँ ऋणको साँवा र ब्याज नियमित नतिरेपछि कोषले थप ऋण नदिने भएको हो।
निगमले थप जहाज खरिद तयारी गरिरहेका बेला कोषको यस्तो भनाइ आएको हो। निगमले नियमित किस्ता नबुझाएपछि बढेर १६ अर्ब रुपैयाँ पुगेको कोषका प्रबन्ध निर्देशक रमण नेपालले बताए। निगमले ‘टोकन’ का रूपमा गत असार मसान्तमा २५ करोड रुपैयाँमात्रै तिरेको उनले जानकारी दिए।
‘अहिले किस्ता नै नियमित नभएकाले नेपाल वायुसेवा निगम, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र अर्थ मन्त्रालयलाई हामीले ऋण तिर्न ताकेता गरिरहेका छौं,’ उनले भने, ‘जस्तोसुकै दबाब आए पनि डिफल्ट भएको निगमलाई ऋण दिन सक्दैनौं।’
निगमले नागरिक लगानी कोषलाई नियमित कर्जाको साँवा र ब्याज भुक्तानी गरेको छैन। निगमले नियमित नतिरेपछि गत असारसम्म १६ अर्ब रुपैयाँ पुगेको कोषले जनाएको छ।
निगमका दुई वाइडबडी जहाजमध्ये एउटा कोषको ऋण लगानीमा खरिद गरेको हो। त्यसबेला कोषले निगमलाई १२ अर्ब रुपैयाँ ऋण दिएको थियो। समयमा किस्ता नबुझाएपछि ब्याजसमेत साँवामा पुँजीकरण भएर १६ अर्ब रुपैयाँ पुगेको छ।
‘जुन प्रकारले पैसा उठ्नुपर्ने थियो, त्यसरी उठेको छैन। सरकार ग्यारेन्टी बसेकाले निगमले तिरेन भने सरकारले तिर्छ भन्ने विश्वास छ,’ उनले भने।
निगमबाट प्राप्त हुने किस्ता नियमित नभएसम्म थप ऋण लगानी गर्ने विषयमा सोच्नैपर्ने अवस्था आएको उनले स्पष्ट पारे।
‘एक रुपैयाँ पनि बाँकी भएसम्म निगम डिफल्टर नै हो। अहिलेको अवस्थामा निगमले आफ्नै स्रोतबाट किन्छौं भनेको छ। त्यो कति सम्भव छ, त्यही संस्थाले जान्ने कुरा हो,’ उनले भने।
निगमले कर्मचारी सञ्चय कोषलाई पनि कर्जा तिरेको छैन। निगमले सञ्चय कोषलाई २७ अर्ब रुपैयाँ तिर्न बाँकी छ। निगमले सञ्चय कोषबाट २४ अर्ब रुपैयाँ ऋण लिएको थियो। ब्याज पुँजीकरण भएर कूल ऋण रकम २७ अर्ब बढी भइसकेको छ।