काठमाडौं। नेपाल प्रहरीले बंगलादेशका नागरिकलाई बन्धक बनाएर फिरौती माग्ने गिरोहलाई पक्राउ गरेको छ।
प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बंगलादेशीलाई वैदेशिक रोजगारका लागि नेपाल हुँदै विभिन्न देश पठाइदिने आश्वासन देखाएर काठमाडौंका विभिन्न स्थानमा ल्याई बन्धक बनाउने सातजनालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो।
पक्राउ पर्नेमा बंगलादेशका ४७ वर्षीय अमिर हुसेन, ३७ वर्षीय एमडि मोसिउर, ३८ वर्षीय सलिम मियाँ, २१ वर्षीय जहांगीर आलम, २१ वर्षीय तहमिना बेगम, सिन्धुपाल्चोककी २७ वर्षीय तारा नेपाली र इलामकी ३३ वर्षीय रोशनी राई रहेका छन्।
कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) डा. मनोज केसीले पक्राउ परेको गिरोहले वैदेशिक रोजगारीमा लाने भन्दै बंगलादेशबाट नेपाल ल्याई काठमाडौंका विभिन्न होटलमा बन्धक बनाइ उनीहरूका परिवारसँग पैसा माग्ने गरेको अनुसन्धानमा खुलेको बताए।
उनले बन्धक बनाइएका ६ जना बंगलादेशी नागरिकलाई विभिन्न स्थानबाट उद्धार गरिएको जानकारी दिए।
पक्राउ परेकालाई मुलुकी अपराध संहिता २०७४ को दफा २११ र २१२ तथा संगठित अपराध निवारण ऐन, २०७० बमोजिमको कसुरमा थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको कार्यालय प्रमुख केसीले बताए।