काठमाडौं। अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाल राष्ट्र बैंकका गभर्नर र सबै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) हरूलाई मन्त्रालयमा बोलाएका छन्।
मन्त्री महतले बैंकको ब्याजदर घटाउने मुख्य अजेन्डासहित गभर्नर महाप्रसाद अधिकारी र बैंकका सिइओहरूलाई आइतबार ५ बजे मन्त्रालय डाकेका हुन्।
‘मुख्य अजेन्डा भनेको ब्याजदर कसरी घटाउन सकिन्छ भन्ने विषय नै हो,’ अर्थ मन्त्रालय स्रोतले क्यापिटल नेपालसँग भन्यो। सबै बैंकले गत आर्थिक वर्षको वित्तीय विवरण प्रकाशित गरिसकेका छन्।
प्रकाशित वित्तीय विवरणले अर्थतन्त्रमा पार्न सक्ने प्रभाव र भदौ महिनामा ब्याजदर घटाउन सम्भावित उपायबारे छलफल गर्न राष्ट्र बैंक टिम र सम्पूर्ण बैंकका सिइओलाई छलफलमा बोलाइएको स्रोतको भनाइ छ।
असार मसान्तसम्म भद्र सहमति गरेर ब्याजदर तय गरिहेका वाणिज्य बैंकले साउनदेखि आफ्नो सहुलियतको ब्याजदरमा व्यवसाय गरिरहेका छन्। राष्ट्र बैंक व्यवस्थाअनुसार बैंक तथा वित्तीय संस्थाले अघिल्लो महिनामा लागू हुने ब्याजदर मसान्तअघि नै सार्वजनिक गर्नुपर्छ।
भदौमा लागू हुने निक्षेपको ब्याजदर तय गर्ने समय नजिकिँदै गर्दा अर्थमन्त्रीले कर्जाको ब्याजदर घट्न सहयोग गर्ने उपाय खोजी गर्न बैंकर्स र राष्ट्र बैंकलाई बोलाएका हुन्। बैंकिङ प्रणालीमा पर्याप्त तरलता हुँदा पनि अहिले कर्जाको माग छैन।
आर्थिक वर्ष समाप्त भएपछि बैंकमा नयाँ कर्जाको माग हुने सिजन हो। तर, बैंकहरूमा १५ प्रतिशतसम्म कर्जाको ब्याजदर हुँदा नयाँ कर्जा लिने ग्राहक पर्ख र हेरको अवस्थामा छन्। यिनै विषय समेट्ने गरी छलफल बोलाइएको अर्थ मन्त्रालय स्रोत बताउँछ।