मनाङ। हिमाली जिल्ला मनाङमा आवतजावत पूर्णरूपमा अवरुद्ध भएको छ।
डुम्रे–बेसीसहर–चामे सडकअन्तर्गत लमजुङको बेसीसहर नगरपालिका–६ खरखरेमा ट्र्याक भासिएपछि आवागमन अवरुद्ध भएको हो।
शुक्रबारदेखि परेको निरन्तर वर्षाका कारण यस सडकखण्डमा आवतजावत रोकिएको आयोजना कार्यालयले जनाएको छ।
यस सडकखण्डअन्तर्गत लमजुङतर्फ बेलौती बिसौना, खरखरे, रामबजार, घोप्टे भिर, च्याम्चेलगायतका स्थानमा पहिरो खसेको आयोजना कार्यालयका सबइन्जिनियर सुमन अधिकारीले जानकारी दिए। उनले भने, ‘केही स्थानमा पहिरा खसेर अवरुद्ध भएका छन् भने खरखरेमा ट्र्याक नै भासिएको छ, यसले मनाङ आवतजावत ठप्प भएको छ।’
सडक सञ्चालनका लागि विभिन्न स्थानमा पहिरो पन्छाउने काम गरिरहेको उनले बताए। निरन्तर वर्षा भइरहेकाले पहिरा पन्छाउन समस्या भइरहेको भन्दै उनले सडक सञ्चालनका लागि प्रयास जारी रहेको जानकारी दिए। सडकमा खसेको ढुङ्गा, माटो फाल्दै गर्दा माथिबाट पहिरो खसिरहेको जनाउँदै सबइन्जिनियर अधिकारीले जोखिम मोलेरै काम गरिरहेको बताए।
यस सडकखण्डअन्तर्गत मनाङतर्फ भन्दा लमजुङतर्फ बढी पहिरा खसेको उनले जानकारी दिए। ‘लमजुङतर्फ ३५ किलोमिटर छ। किलोमिटर पिच्छे ३५ पहिरा खसेका छन्,’ उनले भने।
प्रमुख जिल्ला अधिकारी सुप्रभा खनाल ढुङ्गेलले मनाङमा वर्षा नभए पनि लमजुङतर्फ निरन्तर वर्षा भइरहेकाले बताए। उनले पहिरोका कारण सडक अवरुद्ध रहेकाले पुनःसञ्चालनका लागि पहल भइरहेको जानकारी दिए।
डुम्रे–बेसीसहर–चामे–खाङ्सारसम्म १ सय ५ किलोमिटर छ। यसमध्ये डुम्रे–बेसीसहर–चामे सडक खण्डको ३० किलोमिटरमा पहिरो खसिरहने गरेको छ। खसेको पहिरो हटाउन आयोजना कार्यालयले विभिन्न स्थानमा एक्साभेटर तयारी अवस्थामा राखेको जनाएको छ।