काठमाडौं। नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले सुन तस्करी छानबिन गर्न बहालवाला वा पूर्वन्यायाधीशको नेतृत्वमा उच्चस्तरीय स्वतन्त्र छानबिन समिति बन्नुपर्ने बताएका छन्।
एमाले पार्टी कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा ओलीले संसदीय समिति स्वीकार गर्न नसकिने भन्दै उच्चस्तरीय स्वतन्त्र छानबिन समिति नै बन्नुपर्ने बताएका हुन्।
संसदीय समिति कस्तो हुन्छ भनेर गत वर्ष नै हेरिएको उनले बताए। ‘सभापति उहाँहरूकै चाहिन्छ, बहुमत उहाँहरूकै चाहिन्छ, यो पनि छानबिन गर्नैपर्दैन, त्यो पनि छानबिन गर्नुपर्दैन भन्नुहुन्छ,' उनले भने, 'सुन तस्करीको कहानी नै गलत हो, सबै कहानी प्रतिपक्षले बनाएको हो भन्न पनि बेर लाग्दैन।’
यस्तै उनले नेपालमा दैनिक सय किलो अवैध सुन भित्रिरहेको पनि बताए। अहिले भन्सारमा जे छुँदा पनि सुन नै निस्किने दाबी गर्दै उनले भने, ‘ब्रेक सु छोयो सुन, सिगरेट छोयो सुन, एउटा मोटर ल्यायो सुन, एउटा आइटम सुन, अर्को आइटम सुन, जे ल्याउँदा नि सुन।’
ओलीले एमालेले संसद अवरोध नगरेको पनि जिकिर गरे। उनले तस्करीको सुनमा सरकारको संलग्नता नभए सरकार किन आयोग बनाउन तर्सिएको भन्दै प्रश्नसमेत गरे।
उनले संसदमा प्रतिपक्ष बोल्न उठ्नेबित्तिकै सत्तापक्षले होहल्ला गरेर बोल्नै नदिने गरेको समेत आरोप लगाए।