काठमाडौं। नेपालमा लगानीको वातावरण छैन, लगानी गरे पनि राम्रो प्रतिफल प्राप्त हुँदैन भन्ने भाष्य पछिल्लो समयमा चर्कोरूपमा उठेको छ।
यही भाष्यले पछिल्लो समयमा वैदेशिक लगानी पनि घट्दै गएको छ। तर, लगानीको वातावरण राम्रो छैन भन्ने भाष्यलाई सूर्य नेपाल प्रालिको कारोबार र लाभांश वितरणले असत्य प्रमाणित गरिदिएको छ।
नेपालमा सूर्य नेपालमात्र हैन, डाबर नेपाल, युनिलिभरि नेपाल लिमिटेड, स्ट्यान्डर्ड चाटर्ड बैंक, एनसेल आजियटा लिमिटेड, नेपाल एसबिआई बैंक र एसियन पेन्ट्सलगायत ठूला लगानीमा स्थापना भएका बहुराष्ट्रिय कम्पनीहरूको कारोबार ठूलो छ। यी कम्पनीले लगानीकर्तालाई आकर्षक प्रतिफल दिनुका साथै सहजरूपमा आफ्नो लगानी फिर्ता लैजान पाएका छन्।
यतिमात्र हैन सार्वजनिक समारोहमा बहुराष्ट्रिय कम्पनीका लगानीकर्ताले नेपालमा लगानीको वातावरण राम्रो भएको बताइरहेका छन्।
आइटिसी इन्डिया लिमिटेड र ब्रिटिस अमेरिकन कम्पनीको लगानीमा सञ्चालित बहुराष्ट्रिय कम्पनी सूर्य नेपालको व्यापार र लगानीकर्तालाई दिने लाभांश लोभलाग्दो छ।
नेपाली बजारमा राज गरेको सूर्य नेपालको चुरोट व्यापार बढ्दै गएको उसले सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ।सूर्य नेपालको बलियो वित्तीय अवस्था छ।
पाँच वर्ष अवधिमा सूर्यले लगानीकर्तालाई ४८ अर्ब ६६ करोड ६० लाख रुपैयाँ लाभांश बाँडिसकेको छ। पाँच वर्षमा उद्योगले १ खर्ब २५ अर्ब ३४ करोड ३० लाख रुपैयाँको चुरोट व्यापार गरेको छ।
गत वर्ष गरेको नाफाबाट सूर्यले सेयरधनीलाई २०२३ मा १० अर्ब ४३ करोड ३० लाख रुपैयाँ लाभांश घोषणा गरेको छ। अघिल्लो वर्ष २०२२ मा ९ अर्ब ४१ करोड ५० रुपैयाँ लाभांश दिएको थियो। यस्तै, २०२१ मा उद्योगले ९ अर्ब ८५ करोड ८०, २०२० मा अर्ब ८५ करोड ८० लाख र २०१९ मा मा ९ अर्ब १३ करोड २० रुपैयाँ लाभांश दिएको थियो।
सूर्यको सन् २०२२ मा चुरोट कारोबार १०.२९ प्रतिशत बढेको छ। सूर्यले एक वर्षमा २७ अर्ब १ करोड रुपैयाँको चुरोट व्यापार गरेको छ। अघिल्लो वर्ष उद्योगले २४ अर्ब ४९ करोड रुपैयाँको चुरोट व्यापार गरेको थियो।
एक वर्ष अवधिमा उद्योगको चुरोट कारोबार २ अर्ब ५२ करोड रुपैयाँ पुगेको सार्वजनिक गरिएको वित्तीय विवरणमा उल्लेख छ। सन् २०२० मा उद्योगको चुरोट व्यापार २४ अर्ब ४७ करोड रुपैयाँ थियो।
यस्तै २०१९ मा २५ अर्ब १३ करोड ७० लाख र २०१८ मा २४ अर्ब २२ करोड रुपैयाँको व्यापार गरेको थियो।
चुरोटको करमा वृद्धि भए पनि नयाँ ब्रान्ड ल्याएका कारण उद्योगको व्यापार बढेको हो। चुरोटका साथै सूर्यले सलाइ र अगरबत्ती पनि उत्पादन गर्दै आएको छ।
उद्योग सूर्य लिजेन्ड, सूर्य २४ क्यारेट, सूर्य लक्जरी किङ्स, शिखर फिल्टर किङ्स, शिखर आइस, नौलो, खुकरी फिल्टर, पाइलट फिल्टर, बिजुली र चौतारी ब्रान्डका चुरोट उत्पादन गरिरहेको छ।
सूर्यको देशभरि १ सयभन्दा बढी थोक विक्रेता छन्।्। जनकपुर चुरोट कारखाना अवसानपछि चुरोट बजारमा सूर्यको एकछत्र राज छ। सूर्य सबैभन्दा बढी कर तिर्ने उद्योगमा पर्दै आएको छ। सरकारले उद्योगलाई वर्षेनि सम्मान गर्दै आएको छ।
सन १९८६ मा स्थापना भएको सूर्यमा आइटिसी इन्डिया लिमिटेडको ५९ प्रतिशत सेयर छ। ३९ प्रतिशत नेपाली व्यक्तिगत लगानीकर्ताको स्वामित्व छ। यस्तै, दुई प्रतिशत ब्रिटिस अमेरिका टोबाको लिमिटेडको स्वामित्व छ।
६ अर्बमा पाँचतारे होटल खोल्ने तयारी
उद्योगले ५ अर्ब ७५ करोड रुपैयाँ ऋणको रेटिङ गराएको छ। उद्योगले लगानी विविधिकरण गर्न होटल व्यवसायमा प्रवेशको तयारी गरेको छ। विगत पाँच वर्षदेखि उद्योगले होटलका लागि ऋण रेटिङ गराउँदै आएको छ। तर, होटल निर्माण सुरु भएको छैन।
सूर्य नेपालले काठमाडौं बूढानीलकण्ठमा होटल बनाउने भएको हो। होटलको आर्किटेक्चरल डिजाइन तयार भइसकेको छ। उद्योग विभागले ५ अर्ब ९९ करोड रुपैयाँ होटलमा लगानीका लागि स्वीकृत गरिसकेको छ।
माउ कम्पनी आइटिसी होटल्सले अन्तर्राष्ट्रिय होटल चेनसँग आइटिसी ग्राण्ड भारत, आइटिसी मौर्य, आइटिसी रोयल बंगाल ब्रान्ड नाममा भारतमा मात्र एक दर्जन प्रिमियम होटल तथा रिसोर्ट सञ्चालन गरिरहेको छ।