एजेन्सी। सन् २०२३ को सात महिनामा प्रस्तावित ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ (बिआरआई) अन्तर्गतका देशसँग चीनको व्यापार ११ खर्ब २० अर्ब अमेरिकी डलर (१.१२ ट्रिलियन डलर) अर्थात ८० खर्ब ६ अर्ब युआन पुगेको छ।
चीनको बिआरआई सदस्य मुलुकहरुसँग ७.४ प्रतिशत व्यापार बढेको भन्सार प्रशासनले देखाएको ग्लोबल टाइम्सले जनाएको छ।
यस वर्ष बिआरआईले आफ्नो स्थापनाको १०औं वार्षिकोत्सव मनाउँदै गर्दा पूर्वाधार निर्माणदेखि नयाँ ऊर्जा र हरित विकासमा सहयोग अभिवृद्धि गर्ने मार्गमा रहेका देशलाई यसले मूर्त लाभ दिएको चिनियाँ विज्ञले बताएका छन्।
बिआरआईको सदस्य भएका देशसँगको व्यापार समग्र व्यापारको तुलनामा छिटो बढेको छ। सन् २०२२ मा बिआरआई बजारसँग चीनको व्यापारले यसको कूल विदेशी व्यापारको ३२.९ प्रतिशत हिस्सा ओगटेको थियो। जुन २०२१ को तुलनामा ३.२ प्रतिशत बढी हो।
सन् २०२२ मा बिआरआईमा आबद्ध देशबाट मात्रै चीनले ३ खर्ब ८० अर्ब ६० करोड युआनभन्दा बढी व्यापार बचत गरेको छ।
यतिमात्र हैन चीनले बिआरआई परियोजनामा आफ्ना देशका निर्माण व्यावसायीलाई ठेक्का दिलाएर र वस्तु बेचेर सदस्य मुलुकमा लगानी गरेको रकम देशभित्रै फिर्ता ल्याउने गरेको छ।
२०२३ देखि वा १४औं पञ्चवर्षीय योजना (२०२१–२०२५)को सम्पूर्ण अवधिमा बिआरआई व्यापारले एक तिहाइ हिस्सा ओगट्ने प्रक्षेपण चीनले गरेको छ।
चीनको सम्पूर्ण वैदेशिक व्यापार र बिआरआई बजार चीनको वैदेशिक व्यापारका लागि प्रमुख गन्तव्य बन्ने देखिएको छ। यसबाट चीनले नै अधिकतम लाभ लिएको देखिन्छ।
२०१३ मा प्रस्तावित भएदेखि बिआरआईले साझा विकासको फराकिलो बाटो निर्माण गर्दै संलग्न देश र क्षेत्रका लागि भौतिक फाइदा ल्याएको दाबी चीन सरकारको छ।
एक दशकमा बिआरआईले करिब १० खर्ब डलर लगानी जुटाएको र ३ हजारभन्दा बढी नयाँ सहकारी परियोजना स्थापना गरेको चीन सरकारले जानकारी दिएको छ।
त्यस्तै यसमा संलग्न देश र क्षेत्रका लागि ४ लाख २० हजार रोजगारी सिर्जना भएको, करिब ४ करोड मानिसलाई गरिबीबाट बाहिर निकालेको चीनको दाबी छ।
चीनले बिआरआई ल्याउनुको कारण
आफ्नो प्रभाव संसारभरि फैलाउन विश्वको दोस्रो ठूलो अर्थतन्त्र भएको चीनले सन २०१३ मा वान बेल्ट एन्ड रोड इनिसियटिभ (ओबिओआर) परियोजना अघि बढायो।
सन् २०३५ पछि चीन विश्वको ठूलो अर्थतन्त्र बन्दै छ। यता, चिनियाँ लगानीमा स्थल र समुद्री मार्गमार्फत जोड्न अघि सारिएको उक्त परियोजनालाई २०१५ बाट परिमार्जन गरी बिआरआई नाम दिइएको थियो। त्यसपछि सडक सञ्जालसाथै पूर्वाधार विकास निर्माण र अन्य क्षेत्र समेटिएका छन्।
बिआरआई परियोजना कार्यान्वयनमा आएको एक दशक भइसकेको छ। उक्त अवधिमा बिआरआईले एसिया, अफ्रिका र ल्याटिन अमेरिकाका देशमा ठूला पूर्वाधारमा १० खर्ब अमेरिकी डलरबराबर लगानी गरिसकेको छ। ३ हजारभन्दा बढी नयाँ सहकारी परियोजना स्थापना गरेको छ।
एसिया, अफ्रिका र ल्याटिन अमेरिकाका धेरै देशमा अहिले बिआरआई परियोजना सञ्चालनमा छन्। २०१७ मा नेपाल बिआरआई ‘फ्रेमवर्क’ मा आबद्ध भएको हो।
नेपाल–चीनबीच २०१७ मेमा बिआरआईको साझेदार पक्षमा हस्ताक्षर भएको थियो। नेपालले बिआरआई फ्रेमवर्कमा हस्ताक्षर गरे पनि लिएको छैन्।
बिआरआईमार्फत १० खर्ब (१ ट्रिलियन) डलर लगानी गरिसकेको चीनले ती देशबाट बिआरआईलाई विश्वव्यापीरूपमा उच्च गुणस्तरीय सहयोग मञ्चका रूपमा निर्माण गर्न, चिनियाँ आधुनिकीकरण र बीचको सम्बन्धलाई बढाउने प्रयाससहित माथिदेखि तलको डिजाइनलाई सञ्चालनका लागि थप उपयुक्त र लोकप्रिय बनाउन पाँच वर्षे मार्गचित्र र समय तालिका बनाइसकेको छ।
बिआरआईको सर्कल विस्तार हुँदै जाँदा चीन र मार्गमा रहेका देशबीचको व्यापार पनि विस्तार हुनेछ। विशेष गरी डिजिटल अर्थतन्त्र र नयाँ पूर्वाधारको क्षेत्रमा लगानी बढाएको छ।
बिआरआई व्यापारको स्तम्भ बनेका चीन–युरोप मालवाहक रेल पनि यस वर्ष द्रुत गतिमा बढेका छन्। गत जुलाईसम्म रेलहरूले १० हजार पटक यात्रा गरेका थिए।
उत्तरी चीनको भित्री मंगोलिया स्वायत्त क्षेत्र इरेनहोटमा मेङ उपनाम दिएका एक क्रस बोर्डर यातायात एजेन्टका अनुसार पहिलो हाफमा धेरै श्रेणीका सामान ढुवानी गरिएको थियो।
अगाडिको आयात श्रेणीमा काठ र कागजको पल्प समावेश गरी अलसी र जौजस्ता नयाँ प्रकारका कार्गो थपिएका छन्। निर्यात कार्गाेमध्ये अधिकांश अटो र इलेक्ट्रोनिक उपकरणले ओगटेको छ।
नयाँ अन्तर्राष्ट्रिय समुद्री व्यापार करिडोर पनि बिआरआईअन्तर्गत प्रमुख परियोजनामध्ये एक हो। २०१७ मा सुरु गरिएको यो एक व्यापार र रसदमार्ग हो जुन पश्चिमी चीनका प्रान्तीयस्तर क्षेत्र र आसियनका सदस्यले संयुक्त रूपमा निर्माण गरेका थिए।
यस वर्षको पहिलो ६ महिनामा, सिमापार रेल समुद्री इन्टरमोडल ट्रेनहरूको संख्या वार्षिक नौ प्रतिशत बढेर ४ हजार ५ सय १० पुगेको छ।
सिन्ह्वा समाचार एजेन्सीका अनुसार अन्तर्राष्ट्रिय रेलमार्गको कूल संख्या ४ हजार ९१ पुगेको छ, जुन १८.५१ प्रतिशत बढेको छ।
लाओ स्टिकी चामल, थाई डुरियन, भियतनामी बाल्सा माछा र कम्बोडियन केराजस्ता दक्षिणपूर्वी एसियाली विशेषता पनि करिडोरको छेउमा चिनियाँ बजारमा छिटो प्रवेश गरेको छ।
चीनले बिआरआई परियोजनाबाट लगातार आफ्नो विकास लाभांश अन्य देशसँग बाँडिरहेको विज्ञ लियाङ जिङले भनेका छन्।
बिआरआईका धेरै देशमा विद्युत आपूर्तिको असमान वितरण वा दीर्घकालीन ऊर्जा अभावले उनीहरूको आर्थिक विकास र विदेशी लगानीलाई असर गर्छ।
नयाँ ऊर्जा क्षेत्रमा चीनसँगको सहकार्यलाई सुदृढ गर्दै यी देशले चीनको प्रविधि, ज्ञान, उपकरण र लगानी प्रयोग गरी आर्थिक विकासलाई प्रवद्र्धन गर्न सफल भएको दाबी गरिएको छ।
२०२२ को अन्त्यसम्म चिनियाँ उद्यमहरूले बिआरआई मार्गमा रहेका देशमा निर्मित विदेशी आर्थिक र व्यापारिक सहयोग क्षेत्रको सञ्चित लगानी ५७.१३ अर्ब डलर थियो। जसले ४ लाख २१ हजार स्थानीय रोजगार सिर्जना गरेको छ।
विश्व बैंकको प्रतिवेदनअनुसार बिआरआईबाट लाभान्वित भएर उदीयमान र विकासशील अर्थतन्त्रको कूल गार्हस्थ उत्पादन (जिडिपी) मा सन् २०१२ देखि २०२१ सम्म ३.६ प्रतिशत वृद्धि भएको छ। यसले विश्वव्यापी जिडिपीमा १.३ प्रतिशत योगदान गर्दछ।
२०१५ देखि आउँदो २०३० सम्म कूल ७६ लाख मानिसलाई निरपेक्ष गरिबीबाट बाहिर निकाल्ने र ३ करोड २० लाख मानिसलाई मध्यम गरिबीबाट बाहिर निकाल्ने योजना चीनको छ।
बिआरआईले ऋणको पासोमा पार्दै
गरिब देशलाई तिर्न नसक्ने गरी ऋणको बोझ बोकाएको आरोप चीनमाथि लाग्दै आएको छ।
तर, चीनले यी आरोप अस्वीकार गर्दै केही पश्चिमा देशले आफ्नो छवि धमिल्याउन यस्तो कथन बनाएको दाबी गर्दै आएको छ।
पश्चिमा सञ्चारमाध्यमहरूले सम्बन्धित देशलाई ऋणको पासोमा पारेको भनाइ राखिरहेका छन्।
तथाकथित ऋण जाल सिर्जना गरेको आरोप चीनले अस्विकार गर्दै आएको छ। चीनले आफूले दोस्रो देशलाई दिएको ऋण विवरण सार्वजनिक गर्दैन र चीनसँगका सम्झौता पनि खुला नगर्ने सर्त हुन्छन्।
यस्ता सर्तका कारण ऋण लिएका देशले पनि चीनसँग ऋणको विवरण सार्वजनिक गर्न सक्दैनन्।
चीनले अन्तर्राष्ट्रिय ऋण सम्झौतामा यस प्रकारका गोप्यता सामान्य चलन रहेको दाबी गर्ने गरेको छ।
तथ्यांकअनुसार बहुपक्षीय संस्था र व्यावसायिक ऋणदाताले उनीहरूको ऋणको ८० प्रतिशतभन्दा बढी हिस्सा ओगटेका छन्।
जुन उनीहरूको ऋण बोझको सबैभन्दा ठूलो स्रोत हो। बिआरआईमार्फत चीनबाट ठूलो ऋण लिएको पाकिस्तान अहिले आर्थिक संकटको पासोमा परेको छ।
बिआरआई इन्फ्रास्ट्रक्चर फाइनान्स कार्यक्रम खराब ऋणमा परिणत हुन थालेको छ। तीन वर्षमा ७८ अर्ब डलरभन्दा बढीको ऋण खराब भएको छ।
यो योजनाले चीनलाई विश्वको सबैभन्दा ठूलो द्विपक्षीय ऋणदाता बनायो। बेइजिङले बिआरआई परियोजनामा हस्ताक्षर गरेका करिब १ सय ५० देशमध्ये ठूला उद्धारकर्ताद्वारा सार्वभौम ‘डिफल्ट’ रोक्न उद्धार ऋणको अभूतपूर्व मात्रा विस्तार गरेको छ।
बिआरआई ऋण लिने देशको बढ्दो संख्या विश्वव्यापी वृद्धिमा मन्दी, बढ्दो ब्याजदर र विकासोन्मुख देशमा रेकर्ड उच्च ऋणस्तरले दिवालियापनको छेउमा धकेलिएको छ।
यी देशका पश्चिमा ऋणदाताले यसबीचमा ऋण पुनर्संरचना वार्ता अवरुद्ध गरेकोमा चीनलाई दोष दिएका छन्।
चीनले यसवर्ष अन्तर्राष्ट्रिय सहयोगका लागि तेस्रो बिआरआई फोरम आयोजना गर्ने भएको छ।
सम्बन्धित पक्षसँग मिलेर थप नयाँ उपलब्धी हासिल गर्न काम गर्ने आशा जगाउने चिनियाँ अधिकारीहरूको भनाइ छ।