काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नर्सिङ सेवामा देखिएका चुनौती पूर्णररूपमा समाधान गर्न सरकार प्रयत्नशील रहेको बताएका छन्।
स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले मन्त्रालयको कार्यभार सम्हालेको १ सय दिन पूरा गरेका अवसरमा शुक्रबार आयोजित कार्यक्रम सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले नर्सिङ सेवामा देखिएका चुनौती अग्नि परीक्षासरह भएको बताए।
उनले सेवा सुधार गर्ने संकल्पसमेत आफूले लिएको र यसमा देखिने गरी नै काम गर्ने प्रतिबद्धता जनाए। प्रधानमन्त्री दाहालले स्वास्थ्य शिक्षा, रोजगारी र खाद्य सम्प्रभूताजस्ता विषयलाई संविधानको मौलिक अधिकारका रूपमा लेखिएको भए पनि जीवन व्यवहारमा सुविधा पाए कि पाएनन् भन्ने विषय महत्त्वपूर्ण रहेको उल्लेख गरे।
संविधानमा लेखिएका मौलिक अधिकार व्यावहारिकरूपमा कार्यान्वयन गर्न र आमनागरिकलाई सहज सेवा प्रदान गर्न सरकार दत्तचित्त भएर लागिपरेको प्रधानमन्त्री दाहालको भनाइ छ।
‘संविधानमा लेख्ने कुरा त हामीले राम्रै लेखेका छौं। जनताको सरदर आयु बढ्दै गएको छ। संविधानले परिकल्पना गरेजस्तो सुविधा पाए कि पाएनन् भन्ने कुरा महत्त्वपूर्ण छ,’ उनले भने, ‘यसआधारमा सुविधा उपलब्ध गराउन सरकार लागिपरेको छ।’
प्रधानमन्त्री दाहालले सरकारले सुशासनको पक्षमा मात्रै नभई स्वास्थ्य, शिक्षा र अन्य सेवा प्रदान गर्ने क्षेत्रमा निरन्तर सकारात्मक प्रयास थालेको बताए। संघीय शिक्षा विधेयकमा रहेको केही कमजोरी सच्याउने प्रक्रिया सुरु भएको समेत उनले जानकारी दिए।
प्रधानमन्त्री दाहालले जोश र उत्साहसाथ केही काम गरी छाड्ने संकल्पअनुसार काम कारबाही अगाडि बढाएकामा स्वास्थ्यमन्त्री बस्नेतको प्रशंसा गरे। उनले सुर्तीजन्य पदार्थबाट आउने राजस्वलाई स्वास्थ्य क्षेत्रमा नै खर्च हुने वातावरण बनाउने बताए। उनले आगामी दिनमा यस क्षेत्रमा थप बजेट उपलब्ध गराउने र अभाव हुन नदिने विश्वाससमेत दिलाए।