काठमाडौं। एनआइसी एसिया बैंकले तीन कर्जा योजना सार्वजनिक गरेको छ। बैंकले अठोट घर कर्जा, अठोट साना व्यवसाय कर्जा र अठोट सेयर धितो कर्जा गरी तीन कर्जा योजना सार्वजनिक गरेको हो।
बैंकले अठोट घर कर्जामा न्यूनतम २५ लाखदेखि अधिकतम १२ करोड रुपैयाँसम्मको योजना ल्याएको छ। २५ वर्षसम्म कर्जा अवधि रहेको यस अठोट घर कर्जा ग्राहकले आकर्षक तथा न्यूनतम ब्याजदरमा उपभोग गर्न सक्नेछन्।
यस योजनाअन्तर्गत ग्राहकले निजी आवासीय घर खरिद गर्न, निजी आवासीय अपार्टमेन्ट खरिद गर्न, निजी आवासीय घर निर्माण गर्न, निजी आवासीय घर मर्मत तथा तला थप्न र निजी आवासीय घर निर्माणका लागि जग्गा खरिद गर्न यो कर्जा सुविधा उपयोग गर्न सक्नेछन।
साथै, अन्य बैंक तथा वित्तीय संस्थामा रहेका व्यक्तिगत आवासीय घरकर्जा यस बैंकको अठोट घर कर्जामा स्वापः गर्न सकिने व्यवस्थासमेत बैंकले गरेको छ ।
बैंकले ल्याएको अठोट साना व्यवसाय कर्जा योजनामा न्यूनतम २५ लाखदेखि अधिकतम ५ करोडसम्म कर्जा उपलब्ध हुनेछ।
अधिकतम १५ वर्ष कर्जा अवधि कायम गरिएको यस कर्जामा आकर्षक तथा न्यूनतम ब्याजदर कायम गरिएको बैंकले जनाएको छ।
साना तथा मझौला व्यवसाय तथा कृषि व्यवसायलाई लक्षित गरी ल्याएको यस कर्जाअन्तर्गत लगानीकर्ताले सञ्चालित वा नयाँ व्यवसायको अल्पकालीन वा दीर्घकालीन लगानी आवश्यकताका लागि यो कर्जा उपभोग गर्न सक्नेछन्।
त्यसैगरी बैंकले ल्याएको न्यूनतम ५० लाखदेखि अधिकतम १२ करोड रुपैयाँसम्म अठोट सेयर धितो कर्जाको हकमा समेत आकर्षक तथा न्यूनतम ब्याजदर लाग्नेछ भने यस कर्जामा एक वर्षको भुक्तानी अवधि (वार्षिकरूपमा नवीकरण गर्न सकिने) रहेको छ।
एनआइसी एसिया बैंक मुलुकमा सबैभन्दा धेरै बैंकिङ सञ्जाल भएको बैंकमध्येको बैंक हो। यस बैंकले मुलुकभरि ३ सय ६० शाखा कार्यालय, ५ सय ६७ एटिएम, १ सय १० वटा विस्तारित काउन्टर एवं ६१ वटा शाखारहित शाखा सञ्जाल विस्तार गरेको छ।