काठमाडौं। निजी दूरसञ्चार कम्पनी एनसेलले टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) नजोडेको जनाएको छ।
शुक्रबार एक सूचना जारी गर्दै एनसेलले आफू टेरामक्स जडानका लागि अनुमति नदिएको जनाएको हो। तर, नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले भने यसअघि नै टेरामक्स जडानका लागि एनसेल सहमत भएको र नेपाल टेलिकम भने सहमत नभएको जनाएको थियो।
‘हामी ग्राहकहरूका डाटा, गोपनीयता र सुरक्षालाई सदैव उच्च प्राथमिकता दिन्छौं समाचारमा उल्लेख भएझैं हाम्रा ग्राहकहरूको कुनै पनि डाटामा प्रत्यक्ष वा अप्रत्यक्ष पहुँचका लागि कहिल्यै कसैलाई कानुनविपरीत अनुमति दिइएको छैन। न त हामी कुनै पनि निकायलाई त्यस्ता वैयक्तिक डाटामा पहुँच प्रदान गर्न सहमत नै भएका छौं,’ एनसेलद्वारा जारी विज्ञप्तिमा छ।
एनसेलले टेरामक्ससँग इन्टिग्रेट कनेक्ट नगरेको र हकसँग सम्बन्धित डाटामा सम्झौता नगर्ने जनाएको छ। एनसेलले कुनै पनि अनधिकृत वा गैरकानुनी उद्देश्यका लागि त्यस्तो जानकारी प्रयोग गर्नबाट रोक्ने उल्लेख गरेको छ।
‘टेरामक्स अध्ययनको निष्कर्षका आधारमा हाम्रो निर्णय हुनेछ जबसम्म हामी यो प्रविधिबारे स्पष्ट हुँदैनौं, तबसम्म हाम्रो सिस्टम इन्टिग्रेट हुनेछैन र ग्राहक गोपनीयतासँग सम्बन्धित कुनै पनि डाटा कुनै पनि पक्षलाई दिनेछैनौं,’ एनसेलले भनेको छ, ‘एनसेल नेपालको प्रचलित कानुनबमोजिम स्थापना भएको कम्पनी हो र ग्राहकको गोपनीयतामा कम्पनीले नेपालको कानुन पूर्णपालना गर्दै आएको छ। ग्राहक गोपनीयताको सम्मान र संरक्षण हाम्रो व्यवसायको जग हो। हामी यसलाई दायित्वको रूपमा मात्रै नभई हामीमाथि विश्वास र भरोसा कायम राख्ने एक प्रमुख कडीको रूपमा हेर्छौं।’
एनसेलका अनुसार उनीहरू टेरामक्सको कार्यान्वयन, इन्टिग्रेसनसँगै यसले कम्पनी र ग्राहकको गोपनीयतामा पार्न सक्ने सम्भावित प्रभावबारे प्राविधिक अध्ययन गरिरहेको छ। ग्राहक गोपनीयताको रक्षा गर्नु प्रमुख जिम्मेवारी भएको एनसेलले जनाएको छ।