काठमाडौं। मुलुकको उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले बक्यौता रकम नतिर्ने सबै हेलिकोप्टर कम्पनीका उडान अनिश्चितकालका लागि रोकेको छ।
आर्थिक समस्याबीच उडान गर्न दिँदा हवाई सुरक्षामा चुनौती हुने भन्दै प्राधिकरणले आर्थिक वर्ष २०७९/८० को बक्यौता रहेका हेलिकोप्टरका उडान शुक्रबारबाट नै रोक लगाउने निर्णय भएको प्राधिकरण स्रोतले जानकारी दिएको छ।
प्राधिकरणले माउन्टेन हेलिकोप्टर्स, प्रभु हेलिकोप्टर्स, फिसटेल एयर र सिम्रिक एयरका उडान शुक्रबारबाट अनिश्चितकालका लागि रोकेको हो।
प्राधिकरणका अनुसार यी चार कम्पनीले २ करोड १३ लाख ५५ हजार ७ सय २८ रुपैयाँ तिर्न बाँकी छ।
जसमध्ये माउन्टेनको ९१ लाख ४६ हजार ९ सय ८४ रुपैयाँ, प्रभुको १५ लाख ४० हजार ६ सय ७५, फिसटेलको ६० लाख २४ हजार १ सय ६८ र सिम्रिकको ४६ लाख ४३ हजार ९ सय रुपैयाँ बक्यौता छ।
विमानस्थल सेवा शुल्क निमावली २०७८ मा दिइएको आदेशबमोजिम बक्यौता तिर्न बाँकी हेलिकोप्टर कम्पनीलाई उद्धार उडानबाहेक अन्य उडान गर्न अनिश्चितकालका लागि रोकिएको हो।
प्राधिकरणको टोलीले विभिन्न हेलिकोप्टर कम्पनीको ‘फाइनान्सियल अडिट’ गर्दा गम्भीर आर्थिक समस्यामा परेको भेटिएको थियो। उनीहरूको ‘फाइनान्सियल हेल्थ‘ (वित्तीय स्वास्थ्य) राम्रो नहुँदा उड्डयन सुरक्षामा असर पुग्ने भन्दै अनिश्चितकालका लागि उडानमा रोक लगाएको हो।
एयरलाइन्स (जहाज) कम्पनी पनि निशानामा
पहिलो चरणमा हेलिकोप्टर कम्पनीबाट बक्यौता रकम असुलेपछि एयरलाइन्स (फिक्स्ड विङ जहाज) कम्पनीबाट पनि उठाउन कडा कदम चाल्ने तयारी प्राधिकरणको छ।
‘बक्यौता रकम उठाउनेमात्र होइन, एयरलाइन्स कम्पनीको आर्थिक सुधारका लागि पनि प्राधिकरणले चासो दिएको हो,’ प्राधिकरणको एक उच्च अधिकारीले क्यापिटल नेपालसँग भने, ‘कर्मचारीहरूको तलब सुविधामा सन्तुष्टि हुनुपर्छ, त्यसो नभए सुरक्षामा गम्भीर असर पर्छ।’
पछिल्लो समय केही एयरलाइन्स कम्पनी आर्थिक संकटमा परेको र केही बन्दसमेत भइसकेको अवस्था छ। प्राधिकरणले आन्तरिक अडिट (लेखापरीक्षण) लाई तीव्रता दिएको हो।
केही महिनाअघि आर्थिक संकटकै कारण गुण एयरलाइन्स बन्द भएको थियो केही हेलिकोप्टर कम्पनी, वायुसेवा (एयरलाइन्स) कम्पनी पनि गम्भीर आर्थिक संकटमा परेको प्राधिकरणको ठहर छ।
प्राधिकरणका अनुसार ६ वायुसेवा कम्पनीले १२ करोड ९३ लाख ६२ हजार ८ सय ३४ रुपैयाँ तिर्न बाँकी छ।
जसमध्ये गुण एयरलाइन्सको ५ करोड ९६ लाख ९१ हजार २ सय ३४, समिट एयरको १ करोड ८७ लाख १६ हजार २ सय १८, श्री एयरलाइन्सको २ करोड ९५ लाख ८३ हजार २ सय ९६, तारा एयरको ३८ लाख ६३ हजार १ सय ६१, सौर्य एयरलाइन्सको ८३ लाख ८६ हजार २ सय ३२ र सीता एयरको ९१ लाख २२ हजार ६ सय ९१ रुपैयाँ बक्यौता छ।
प्राधिकरणले सार्वजनिक गरेको सूचनामा बुद्ध र यती एयरलाइन्सको बक्यौता रकम नराखे पनि त्रिभुवन विमानस्थल स्राेतका अनुसार यतीको ४ करोड र बुद्धको ३ करोड बाँकी छ। तर, ती दुवै एयरलाइन्सले भने नियमित रकम तिरिहेको स्राेतको भनाइ छ।
यता श्री एयरलाइन्सका प्रवक्ता अनिल मानन्धरले भने प्राधिकरणलाई बक्यौता तिर्न बाँकी नरहेको बताए। `हामीले सबै रकम तिरिरहेका छौं,´ प्रवक्ता मानन्धरले भने, `कसरी हाम्रो एयरलाइन्सको नाममा बक्यौता देखियो थाहा छैन।´
त्यसैले पाइलटलाई आर्थिक समस्यामा पारेर जहाज उडान गर्दा गम्भीर दुर्घटना हुन सक्ने भन्दै उडानमा रोक लगाएर आर्थिक समस्या समाधान गर्न समय दिन लागिएको प्राधिकरणले जनाएको छ।
‘उडान रोकेर एयरलाइन्सलाई दुःख दिने नियत प्राधिकरणको होइन,’ ती अधिकारीले भने, ‘यो भनेको एयरलाइन्सहरूलाई आर्थिक स्थिति सुधारको मौका पनि हो।’