काठमाडौं। आइतबार आठ वर्ष अवधिको १० अर्ब रुपैयाँबराबरको विकास ऋणपत्र–२०८८ बोलकबोल माध्यमबाट बिक्री हुने भएको छ। सरकारकातर्फबाट नेपाल राष्ट्र बैंकले विकास ऋणपत्रमार्फत ऋण उठाइदिन लागेको हो।
विकास ऋणपत्र साउन २८ गते आइतबार अपराह्न ३ बजेसम्म बोलकबोल हुनेछ भने साउने २९ गते निष्कासन हुनेछ।
यो विकास ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा सर्वसाधारण व्यक्तिले पनि खरिद गर्न सक्नेछन्। यो ऋणपत्र धितो राखी कर्जासमेत लिन पाइने राष्ट्र बैंकले जनाएको छ।
विसं २०८८ साउन २९ गते साँवा भुक्तानी हुने यो ऋणपत्रको ब्याज अर्धवार्षिकरूपमा भुक्तानी हुनेछ। आर्जित ब्याजमा ब्याजकर लाग्नेछ।
प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलवालालाई क्रमशः निष्काशित रकमको ८५ र १५ प्रतिशत अर्थात् ८ अर्ब ५० करोड र १ अर्ब ५० करोड रुपैयाँ छुट्याइएको छ।
अप्रतिस्पर्धी बोलवालालाई छुट्याइएको रकमका लागि पूरा बोल प्राप्त नभएमा बाँकी हुन आउने रकम प्रतिस्पर्धी बोलवालालाई बिक्री गरिने राष्ट्र बैंकले जनाएको छ।
बोलवालाले कबोल गरेको ब्याजदरलाई सानोदेखि ठूलो क्रममा मिलाएर राखी बाँडफाँट गरिने रकमसम्ममा कायम भएको ब्याजदरको सीमालाई एकल ब्याजदर कायम गरी सो ब्याजदर र सो ब्याजदरभन्दा तलका सबै बोलवालालाई सोही एकल ब्याजदरमा ऋणपत्र उपलब्ध गराइनेछ।
घटीमा ५० हजार र बढीमा कूल निष्काशित रकमको सीमा नबढाइ ५० हजार रुपैयाँले भाग लिँदा निशेष भाग जाने अंकमा खरिद गर्न पाइनेछ। यो ऋणपत्रको दोस्रो बजार कारोकार नेपाल स्टक एक्सचेञ्जबाट हुनेछ।