काठमाडौं। राष्ट्रिय गौरवको मध्यपहाडी (पुष्पलाल) र हुलाकी राजमार्ग एक महिनादेखि म्यादविहीन छन्।
आयोजनामा लागेका ठेक्काको म्याद अझै बाँकी छ। तर, आयोजना कार्यालय स्वयंको म्याद भने २०८० असारमै सकिइसकेको छ।
सरकारले अर्थिक वर्ष २०६४/६५ मा दुवै राजमार्ग निर्माण सुरु गर्दा २०७९/८० मा निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको थियो। तर, दुवै राजमार्ग निर्माण निर्धारित लक्ष्यमा पूरा भएका छैनन्।
हुलाकी राजमार्गका निर्देशक शुभराज न्यौपाने र मध्यपहाडी राजमार्ग निर्देशनालयका इन्जिनियर एवं सूचना अधिकारी सुरजहरि अधिकारी म्याद थपको फाइल सडक विभाग हुँदै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय पुगेको बताउँछन्।
‘विभाग हुँदै मन्त्रालयमा फाइल पुगेको सुनेको छु, नियम परिवर्तन भइरहेका छन्। त्यसैले म्याद कसले थप्ने भन्ने विषयमै दुविधा छ,’ हुलाकीका आयोजना निर्देशक न्यौपाने भन्छन्।
त्यस्तै मध्यपहाडी राजमार्गका इन्जिनियर अधिकारी पनि म्याद थपको फाइल विभाग हुँदै मन्त्रालय पुगेको जानकारी आएको बताउँछन्।
तै पनि दुवै राजमार्गको म्याद थपको फाइल कहाँ छ भन्ने आधिकारिक जानकारी कुनै निकायसँग छैन। सडक विभागका उपमहानिर्देशक एवं प्रवक्ता रामहरि पोखरेल आफूले म्याद थपको फाइल विभागमा नदेखेको बताउँछन्।
‘आयोजनाको म्याद थप हुन्छ तर, मैले जिम्मेवारी लिएपछि दुवै राजमार्गको म्याद थप गर्ने फाइल देखेको छैन,’ उनले भने, ‘ठेक्काको मात्रै म्याद थप्न आयोजना प्रमुख वा विभागले पाए पनि समग्र आयोजनाकै म्याद थप गर्न मन्त्रालय हुँदै राष्ट्रिय योजना आयोग जानुपर्छ।’
विभागका महानिर्देशक सुशीलबाबु ढकाल पनि राजमार्गको म्याद सकिएको जानकारी भएको तर म्याद थपको विषयमा आधिकारिक जानकारी आफूसँग नभएको बताउँछन्।
तर, मन्त्रालयका सहसचिव एवं प्रवक्ता भीमार्जुन अधिकारी दुवै राजमार्गको म्याद थपको फाइल मन्त्रालयमा नआएको बताउँछन्।
‘राष्ट्रिय गौरवका आयोजनाको म्याद थप गर्न राष्ट्रिय योजना आयोग पुग्नुपर्छ। कानुनी नभएर यो नीतिगत म्याद थप हो,’ प्रवक्ता अधिकारी भन्छन्, ‘सडक विभाग र भौतिक मन्त्रालयको अनुरोधमा योजना आयोगले म्याद थप्ने हो, २०८४ असार मसान्तसम्मलाई म्याद थप्न छलफल हुँदैछ भन्ने सुनेको छु।’
दुवै राजमार्ग निर्माण कार्य २०६४/६५ बाट सुरु भएको थियो। दुवै राजमार्गको लम्बाई पनि बराबर अर्थात १ हजार ८ सय ७९ किलोमिटर छ भने आयोजनाको समग्र म्याद पनि २०८० असारमै सकिएको छ।
मध्यपहाडी राजमार्गले नयाँ स्थानमा ट्र्याक खोल्छ भने हुलाकी राजमार्गले पुराना ट्र्याक खोलिएका सडकलाई मर्मत तथा स्तरोन्नति गर्दै आवश्यक ठाउँमा नयाँ ट्र्याक खोल्ने छ।
हुलाकी राजमार्गले तराईका १७ जिल्ला छुन्छ भने मध्यपहाडीले पहाड तथा भित्रीमधेसका २६ जिल्ला छुन्छ। जसमध्ये मध्यपहाडी राजमार्गका विभिन्न १० स्थानमा नयाँ सहर निर्माण हुँदैछन्।
दुवै राजमार्ग कार्यालयले २०८४/८५ सम्म म्याद थपको माग गरेका छन्। तर, मन्त्रालय र योजना आयोगले २०८३/८४ (२०८४ असार मसान्त) सम्म म्याद थप्ने गरी छलफल गरिरहेको छ।
कति भयो हुलाकी राजमार्गको प्रगति?
आर्थिक वर्ष २०६४/६५ बाट सुरु भएको हुलाकी राजमार्गले नेपालको तराई क्षेत्रको पूर्व–पश्चिम भाग जोड्छ। कूल लम्बाई १ हजार ८ सय ७९ किलोमिटर रहेको राजमार्गको २०८० असार मसान्तसम्म एक हजार ३९.४१ किलोमिटर सडक कालोपत्रे भएको आयोजना निर्देशक न्यौपानेले बताए।
२०७९/८० मा २ सय ५० किलोमिटर सडक निर्माण तथा कालोपत्रे गर्ने लक्ष्य रहेकामा १ सय ४८ किलोमिटरमात्रै निर्माण गरेको आयोजनाले जनाएको छ।
त्यस्तै एक वर्षमा १६ वटा पुल निर्माण गर्ने लक्ष्य लिएकामा सतप्रतिशत पूरा भएको छ। २ सय ५० पुल निर्माण गर्नुपर्नेमा हालसम्म १ सय ३२ निर्माण पूरा भएका छन्।
त्यस्तै २०७९/८० मा ७ अर्ब ६ करोड ८१ लाख २ हजार रुपैयाँ विनियोजन भएकामा ६ अर्ब ९० करोड ४९ लाख ८३ हजार खर्च भएको छ। उक्त खर्च ९८ प्रतिशत हो।
आयोजनाको संशोधित कूल लागत ८४ अर्ब ३३ करोड रुपैयाँ हो। जसमध्ये २०८० असारसम्म ५९ अर्ब ६५ करोड ५१ लाख १६ हजार अर्थात ९१ प्रतिशत खर्च भएको आयोजना कार्यालयले जनाएको छ।
त्यस्तै ६ सय ६३ किलोमिटर सडक ट्र्याक खुलेको छ। कालोपत्रे हुन भने बाँकी रहेको कार्यालयको भनाइ छ। त्यसबाहेक १ सय ७७ दशमलव ७ किलोमिटर ट्र्याक खुलाउन बाँकी रहेको निर्देशक न्यौपाने बताउँछन्।
उनका अनुसार चितवन राष्ट्रिय निकुञ्ज, पश्चिम नवलपरासी, बाँके र दाङ जिल्लाका केही स्थानमा ट्र्याक खुल्न बाँकी छ। जसमध्ये बाँके र दाङ खण्डमा बस्ती नभएकाले तत्काल ट्र्याक खोल्ने योजना छैन।
साथै, विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) अध्ययन गर्न स्वीकृतिका लागि फाइल मन्त्रालय पठाइएको आयोजनाले जनाएको छ।
चितवन राष्ट्रिय निकुञ्जमा वातावरणीय प्रभाव मूल्यांकन (इआइए) का लागि वन मन्त्रालयबाट स्वीकृति पाएको आयोजना निर्देशक न्यौपानेको भनाइ छ।
‘बाँके–दाङ क्षेत्रमा तत्काल ट्र्याक खुलाउने योजना छैन। चितवनमा इआइए अध्ययनका लागि स्वीकृति पाएका छौं,’ उनले भने, ‘डिपिआरका लागि फाइल पठाएको छ।’
मध्यपहाडी राजमार्ग
आर्थिक वर्ष २०६४/६५ बाट सुरु भएको मध्यपहाडी राजमार्गको लम्बाइ १ हजार ८ सय ७९ किलोमिटर छ। राजमार्गमा २०८० असारसम्म १ हजार ४ सय २ किलोमिटर सडक कालोपत्रे भएको आयोजनाले जनाएको छ। कूल १ सय ३७ पुलमध्ये १ सय २ को निर्माण पूरा भइसकेको छ।
त्यस्तै ३ सय ६१ किलोमिटर सडक र २० पुल निर्माणाधीन तथा १ सय १६ किलोमिटर सडक र १५ पुलको ठेक्का व्यवस्थापन हुन बाँकी छ।
२०७९/८० मा ३ सय ५७ किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य रहेकामा १ सय ४३ किलोमिटरमात्रै कालोपत्रे भएको छ। त्यस्तै एक वर्षमा १८ पुल निर्माण गर्ने योजना भए पनि ९ पुल निर्माण भएका हुन्।
त्यस्तै २०७९/८० को संशोधित बजेट ७ अर्ब ५८ करोड ३७ लाख रुपैयाँ छ। जसमध्ये ५ अर्ब ९१ करोड ६१ लाख अर्थात ७८.०१ प्रतिशत खर्च भएको मध्यपहाडी राजमार्ग निर्देशनालयले जनाएको छ।