काठमाडौं। निजी दूरसञ्चार कम्पनी एनसेल आजियाटा लिमिटेडले देशका विभिन्न नयाँ ठाउँमा आफ्नो सेवा विस्तार र गुणस्तरलाई थप सुधार गर्दै ३ सय ३८ नयाँ बेस ट्रान्ससिभर स्टेशन (बिटिएस) अर्थात मोबाइल टावर जडान गरेको छ।
यी टावर गत आर्थिक वर्ष २०७९/८० मा कम्पनीको सेवा विस्तार तथा सुधार अभियानअन्तर्गत जडान गरिएका हुन्। फोरजी सेवा पहुँचबाट स्थानीयलाई लाभ प्रदान गर्न पहिलोपटक सेवा विस्तार गरिएका नयाँ स्थान हिमाली, पहाडी र तराई भेगका ५५ ग्रामीण तथा दुर्गम ठाउँ पर्छन्।
यसरी पहिलोपटक फोरजी सेवा विस्तार गरिएका नयाँ स्थानमा उत्तरगया गाउँपालिका (रसुवा), ठाटीकाँध गाउँपालिका (दैलेख), दुर्गाथली गाउँपालिका (बझाङ), जन्तेढुंगा गाउँपालिका (खोटाङ) का ग्रामिण इलाका, र इनरुवा नगरपालिकाका नयाँ स्थानलगायतका ठाउँ पर्छन्।
गत आर्थिक वर्षमा नै एनसेलले आफूले प्रदान गर्दै आएको सेवाको गुणस्तर सुधार र ग्राहक सेवा अनुभव अभिवृद्धि गर्न २ सय ८३ नयाँ टावर जडान गरेको छ।
यी मोबाइल टावर सातै प्रदेशका ५० भन्दा बढी जिल्लामा जडान गरिएको थियो। लुम्बिनी प्रदेश, सुदूरपश्चिम प्रदेश, कोशी प्रदेश, मधेश प्रदेशलगायतका स्थानमा अधिकांश साइट जडान भएका छन्।
एनसेलले फोरजी क्षमता अभिवृद्धि गर्दै गत आवमा विभिन्न ६० जिल्लाका झन्डै १ हजार ४ सय ५० मोबाइल टावरको स्तरोन्नती पनि गरेको छ। यसरी स्तरोन्नती गरिएका टावरमध्ये ७ सय ८० भन्दा बढी विभिन्न नगरपालिकामा स्थापना गएिका टावर पर्छन्। त्यसैगरी गाउँपालिका स्तरमा जडित ४ सय ४० बढी टावरको स्तरोन्नती गरिएको छ।
यसबाहेक, एनसेलले देशका विभिन्न महानगरपालिका र उप–महानगरपालिकामा रहेका आफ्ना टावरको स्तरोन्नती गर्दै फोरजी क्षमता अभिवृद्धि गरेको छ। ग्राहकलाई फोरजीअन्तर्गत उच्चगतिको मोबाइल ब्रोडब्यान्ड र भ्वाइस ओभर लङटर्म इभोलुसन (भोल्टे) सेवामा पहुँच सुनिश्चित गर्न देशभरि एनसेलको ४ हजारभन्दा बढी फोरजी टावर सञ्चालनमा छन्।
फोरजी नेटवर्क विस्तार र क्षमता अभिवृद्धिले मोबाइल ब्रोडब्यान्ड सेवामा पहुँच बढाएर सरकारको डिजिटल नेपाल फ्रेमवर्कको आकांक्षाहरू पूरा गर्न योगदान पुर्याउने एनसेलले जनाएको छ।