काठमाडौं। निजी क्षेत्रको सबैभन्दा ठूलो एयरलाइन्स बुद्ध एयरले आर्थिक मन्दीबीच नयाँ एटिआर जहाज थपेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले बिहीबार नयाँ आउने जहाजको उडान अनुमति स्वीकृत गरेको हो।
स्वीकृति पाएसँगै शुक्रबार बुद्धको नयाँ जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण हुनेछ। बुद्धले १६औं जहाजका रूपमा `एटिआर७२–५००´ सिरिजको दर्ता नम्बर `९एन–एएनडब्लु´ जहाज ल्याउने भएको हाे। फ्रान्सको टुलुसबाट जहाज नेपाल ल्याउन लागिएको हो।
बुद्ध एयर स्राेतका अनुसार आजै जहाज नेपालका लागि उडिसकेको छ। योसँगै बुद्धसँग ७२ सिटे १३ वटा र ४२ सिटे तीनवटा जहाज हुनेछन्।
पछिल्लो समय एयरलाइन्स कम्पनीहरू आर्थिक संकटमा परेर बन्द हुने अवस्थामा पुगिरहेको बेला बुद्धले भने नयाँ जहाज थपेको हो। चालू आर्थिक वर्षको बजेटमार्फत जहाज खरिदमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लगाएपछि नयाँ जहाज खरिदमा समस्या हुने भन्दै वायुसेवा सञ्चालक संघले सरकारको ध्यानाकर्षण गराइरहेका बेला बुद्धले भने नयाँ जहाज थपेको छ।
बुद्धले सन् १९९७ अक्टोबर ११ बाट व्यापारिक उडान सुरु गरेको थियो। त्यसयता २०७९ भदौ २६ सम्मको तथ्यांकमा बुद्धले १ करोड ८० लाख ३२ हजार ४ सय ५८ यात्रुलाई उडान सेवा प्रदान गरिसकेको छ।
२०१८ मा कम्पनीले ६ अर्ब ८ करोड रुपैयाँको कारोबार गरेको थियो। कोरोना महामारीले उडान बन्द हुँदा २०२० र २१ मा कारोबारमा भारी गिरावट आएको थियो।
२०२२ मा बुद्धले ऐतिहासिक मासिक आम्दानी गरेकाे थियाे। प्रतिमहिना बुद्धले ८५ करोड ५० लाख रुपैयाँबराबर कारोबार गरेको छ। २०१९ मा मासिक आम्दानी बढेर ५६ करोड ७० लाख रुपैयाँ पुगेको थियो।
दैनिक १ सयभन्दा बढी उडानमार्फत ९ देखि १० हजार यात्रु उडान गर्दै आएको बुद्धले देशका प्रमुख सहर विराटनगर, भैरहवा, नेपालगन्ज, पोखरा, भद्रपुर, भरतपुर, धनगढीलगायत गन्तव्यमा उडान गर्दै आएको छ। उसले अन्तर्राष्ट्रियतर्फ भारत बनारस पनि उडान गर्दै आएको छ। बुद्धले प्रादेशिकसहित रात्रिकालीन उडानसमेत गर्दै आएको छ।