काठमाडौं। नेपाल विश्व अर्थतन्त्रको आकारमा दुई तह माथि उक्लिएको छ। अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) का अनुसार सन् २०२३ मा अर्थतन्त्रको आकारका आधारमा नेपाल विश्वको ९८औं स्थानमा परेको छ। गत वर्ष नेपाल १००औं स्थानमा थियो।
आइएमएफको विश्व आर्थिक परिदृश्यको पछिल्लो प्रक्षेपणअनुसार नेपालको अर्थतन्त्रको आकार बढेर ४२ अर्ब अमेरिकी डलरबराबर पुगेको छ। यो भनेको विश्वअर्थतन्त्रमा ०.०४ प्रतिशत हिस्सा हो।
नेपालभन्दा अघि ९७औं स्थानमा दक्षिण अमेरिकी देश पाराग्वे र पछि ९९औं स्थानमा युरोपेको स्टोनिया छ। पाराग्वेको अर्थतन्त्र ४३ अर्ब र स्टोनिया र नेपालको अर्थतन्त्रको आकारबराबर छ।
यसअघि स्टोनिया नेपालभन्दा अघि थियो। गत वर्ष नेपालको अर्थतन्त्रको आकार ३९ अर्ब अमेरिकी डलरबराबर थियो। एक वर्षमा नेपालको अर्थतन्त्रको आकार झन्डै ३ अर्ब डलर बढेको छ। राष्ट्रिय तथ्याँक कार्यालयले यो वर्ष आर्थिक विस्तार खुम्चिएर २.१६ प्रतिशत मात्र हुने प्रक्षेपण सार्वजनिक गरेको छ।
दक्षिण एसियामा भारत ३७ खर्ब डलरसाथ विश्वको पाँचौं ठूलो अर्थतन्त्र बनेको छ। यस्तै बंगलादेश ४ खर्ब २१ अर्ब डलरसाथ ३७औं स्थानमा छ। माल्दिभ्स ७ अर्ब डलरसाथ १ सय ५२औं र भुटान ३ अर्ब डलरसाथ १ सय ६५औं स्थानमा छ।
आइएमएफले अफगानिस्तान, लेबनान, पाकिस्तान, श्रीलंका र सिरियाको विवरण उल्लेख गरेको छैन। यी देश गम्भीर आर्थिक संकटमा छन्।
१०५० खर्ब डलरको विश्वअर्थतन्त्र
सन् २०२३ मा विश्वअर्थतन्त्रको आकार बढेर १ हजार ५० खर्ब डलर पुगेको छ। २०२२ मा १ हजार १६ खर्ब डलर थियो। यो अर्थतन्त्रको आकार १ सय ९१ देशको हो।
सबैभन्दा ठूलो अर्थतन्त्र अमेरिकाको छ। कूल अर्थतन्त्रमा अमेरिकाको हिस्सा एक चौथाइ बढी अर्थात २५.५४ प्रतिशत पुगेको छ। अमेरिकी अर्थतन्त्रको आकार बढेर २ सय ६८ खर्ब ५५ अर्ब डलर पुगेको छ। सबैभन्दा सानो अर्थतन्त्र टुभालुको छ। टुभालुको अर्थतन्त्र १ करोड डलरमात्र छ।
यस्तै दोस्रो ठूलो अर्थतन्त्र चीनको छ। विश्वअर्थतन्त्रमा चीनको हिस्सा १८.४३ प्रतिशत छ। उसको अर्थतन्त्र १ सय ९३ खर्ब ७४ अर्ब डलर पुगेको छ।
तेस्रो ठूलो अर्थतन्त्र जापानको हिस्सा ४.१९ प्रतिशत छ। जापानको अर्थतन्त्र ४४ खर्ब १० अर्ब डलरबराबर पुगेको छ। चौथो स्थानमा रहेको जर्मनीको हिस्सा ४.१० प्रतिशत छ। उसको अर्थतन्त्र ४३ खर्ब ९० अर्ब डलरबराबर छ। पाँचौ स्थानमा रहेको भारतको हिस्सा ३.५५ प्रतिशत छ। भारतको कूल गार्हस्थ उत्पादन (जिडिपी) ३७ खर्ब ३७ अर्ब डलरबराबर छ।
छैंठौं स्थानमा बेलायत छ। बेलायतको अर्थतन्त्रको हिस्सा ३ प्रतिशत अर्थात ३१ खर्ब ५९ अर्ब डलर छ। सातौं स्थानमा रहेको फ्रान्सको हिस्सा २.७८ प्रतिशत छ। फ्रान्सको अर्थतन्त्र २९ खर्ब २३ अर्ब डलरको छ।
आठौं स्थानमा इटाली छ। इटालीको हिस्सा २.०६ प्रतिशत छ। इटालीको अर्थतन्त्र २१ खर्ब ७० अर्ब डलर छ। नवौं स्थानमा रहेको क्यानडाको हिस्सा १.९९ प्रतिशत छ। क्यानडाको अर्थतन्त्र २० खर्ब ९० अर्ब डलरबराबर छ।
रुसलाई पछि पार्दै ब्राजिल विश्वकै १०औं ठूलो अर्थतन्त्र बनेको छ। ब्राजिलको हिस्सा विश्वअर्थतन्त्रमा १.९८ प्रतिशत अर्थात २० खर्ब ८१ अर्ब डलरबराबर छ। यस्तै रुस २० खर्ब ६३ अर्ब डलरसहित ११औं स्थानमा छ। उसको अर्थतन्त्रको हिस्सा १.९६ प्रतिशत छ।
क्षेत्रगत आधारमा एसियामा चीन सबैभन्दा ठूलो अर्थतन्त्र भएको छ। उत्तर अमेरिकामा अमेरिका, युरोपमा जर्मनी, दक्षिण अमेरिकामा ब्राजिल क्षेत्रगत हिसाबमा ठूलो अर्थतन्त्र बनेका छन्। यसैगरी नाइजेरिया अफ्रिकाको सबैभन्दा ठूलो अर्थतन्त्र बनेको छ। नाइजेरियाको अर्थतन्त्रको आकार ५ खर्ब ६० अर्ब डलर पुगेको छ।
मध्यपूर्वमा साउदी अरब भएको छ। साउदीको अर्थतन्त्र ११ खर्ब डलरबराबर छ। ओसियानामा रहेको अस्ट्रेलियाको अर्थतन्त्र १७ खर्ब डलरबराबर छ। यस्तै एसियाली मुलुक इन्डोनेसिया १६औं स्थानमा छ।
विश्वव्यापी जिडिपीमा ३ प्रतिशत वृद्धि भएको छ। यो वर्ष विश्वअर्थतन्त्रमा उथलपुथलसाथ २०२३ सुरु भयो। धेरै देशमा निरन्तर मुद्रास्फीति र कडा मौद्रिक अवस्थाका साथै मध्यम आकारका अमेरिकी बैंकहरूको पतनले वित्तीय बजारमा ठूलो हलचल ल्यायो।
२९ देशको अर्थतन्त्र घट्यो
यो वर्ष २९ देशको अर्थतन्त्र संकुचित हुने अनुमान आइएमएफको छ। २९ देशले ५ खर्ब डलरबराबर उत्पादन गुमाउने अनुमान छ।
अर्थतन्त्रको आकार खुम्चिनेमा रुस, बंगलादेश, क्यानडा, साउदी अरब, कतार, युक्रेन, लाओस र दक्षिण अफ्रिकालगायत २९ देश छन्। रुस र क्यानडा विश्वका सबैभन्दा ठूला तेल उत्पादक देश हुन्।
२०२२ यता तेलको मूल्य घट्दा यसको असर अर्थतन्त्रमा परेको छ। रुसका लागि अर्को जटिलता पश्चिमी प्रतिबन्धका कारण ठूलो छुटमा तेल बेच्न बाध्य भएको छ। यसले पनि उसको अर्थतन्त्र खुम्चिन पुगेको हो।
आइएमएफका अनुसार साउदी अरब, नर्वे, कुवेत र ओमानको शीर्ष १० ठूला जिडिपी संकुचन तेल उत्पादक देशको अर्थतन्त्रमा परेको छ।
विश्व अर्थव्यवस्थामा आउने असन्तुलन र परिवर्तनले २०२३ अन्त्यसम्ममा यो प्रक्षेपण सबै सत्य नहुन सक्छ। उदाहरणका लागि जेपी मोर्गनले पहिले नै चीनको वास्तविक जिडिपी वृद्धिका लागि आफ्नो पूर्वानुमानलाई ६ पटक परिवर्तन गरिसकेको छ।
(भिजुअल क्यापटलिस्टको सहयोगमा)