काठमाडौं। नेपालमा वैदेशिक लगानी ल्याएर रोजगारी सिर्जना गरिरहेका गैरआवासीय नेपाली अब्दुल वासिदले गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदमा युवा उपाध्यक्षको उम्मेदवारी दिने भएका छन्।
आगामी २०२३–२५ कार्यकालका लागि युवा उपाध्यक्षमा उम्मेदवारी दिन लागेका वासिद नेपाल, कतार र लन्डनलाई आधार बनाएर व्यापारमा जमेका युवा व्यवसायी हुन्। उनी हाल एनआरएनएका युवा संयोजक छन्।
केन्द्रीय युवा संयोजक रहँदा गर्न बाँकी काम पूरा गर्न आफूले उम्मेदवारी दिने बताए। ’मैले अहिले जति गरेको छु, तपाईंहरूकै आड भरोसामा गरेको छु,’ वासिदले भने, ‘युवा पाध्यक्षमा यहाँहरूले मलाई भोट दिएर जिताउनुस्, काम गरेर देखाउने छु।’
एनआरएनएको वर्तमान कार्यकालमा युवालाई धेरै पद बाँडिए पनि काम नपाएको भन्दै उनले युवालाई धेरैभन्दा धेरै सहभागी गराइ काम गराउने उद्देश्यसाथ आफूले उम्मेदवारी दिने तयारी गरेको बताए।
वासिदले युवा स्वरोजगार, सामूहिक लगानी, सीप र पुँजी सदुपयोग, एनआरएनएमा युवा आकर्षण बढाउने, सुरक्षित र मर्यादित वैदेशिक रोजगार बनाउन पहल गर्ने, एनआरएनए स्पोट्र्स एकेडेमीलाई दीर्घकालीन योजनासहित स्थापित गराउनेलगायत विषय चुनावी अजेन्डाका रूपमा सार्वजनिक गरेका छन्।
एनआरएनए एनसिसी कतार र एनआरएनए आइसिसी तथा विभिन्न संघसंस्थामा रहेर आफ्नो जिम्मेवारी निर्वाह गरिसकेका वासिदले आफू एनआरएनए युवा संयोजक हुँदा बेलायती कम्पनी ‘बेलाको‘ को होम अप्लायन्स नेपाल भित्र्याएर उनले सयौं नेपालीलाई रोजगारी दिइरहेका छन्।