काठमाडौं। नेपाल विद्युत प्राधिकरणले करिब साढे १२ अर्ब रुपैयाँ नाफा गरेको छ।
गत आर्थिक वर्ष २०७९/८० को अपरिष्कृत वित्तीय विवरणअनुसार प्राधिकरणले १२ अर्ब ३३ करोड रुपैयाँ नाफा गरेको हो। अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा खुद नाफा बढेर १३ अर्ब ३७ करोड रुपैयाँ पुगेको थियो।
नाफा बढेसँगै प्राधिकरणले तेस्रो वित्तीय पुनर्संरचना तयार गरी प्राधिकरण ऐन २०४१ अनुसार सर्वसाधारणका लागि प्राथमिक सेयर निष्कासन (आइपिओ) जारी गर्ने प्रक्रिया अगाडि बढाइएको कार्यकारी निर्देशक कूलमान घिसिङले जानकारी दिए। नाफा घटे पनि प्राधिकरण आइपिओ जारी गर्ने तयारीमा लागेकाे हाे।
प्राधिकरणले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा कार्यकारी निर्देशक घिसिङले प्राधिकरणको वास्तविक सम्पत्ति मूल्यांकन पूरा भएको बताए। प्राधिकरणले क्रेडिट रेटिङ इक्राबाट एएप्लस प्राप्त गरेको पनि उनले जानकारी दिए।
कार्यकारी निर्देशक घिसिङले आर्थिक वर्ष २०७७/७८ मा नाफा ६ अर्ब १० करोड रुपैयाँ रहेको बताए।
प्राधिकरणले विद्युत बिक्री र अन्यबाट गर्ने आम्दानी दुई वर्षअघि करिब ८१ अर्ब रहेकोमा हाल बढेर करिब १ खर्ब १८ अर्ब रुपैयाँ पुगेको छ। प्राधिकराणको सञ्चित नाफा ११ अर्बबाट बढेर ३६ अर्ब ६७ करोड पुगेको छ।
गत आर्थिक वर्ष सुख्खायामको समय बढेर खोला तथा नदीनालामा प्राधिकरण र निजी क्षेत्रका जलविद्युत केन्द्रका विद्युत उत्पादनमा ह्रास आउँदा र आन्तरिक माग धान्न विद्युत आयात केही बढ्दा नाफा प्रभावित भएको घिसिङको भनाइ छ।
त्यसैगरी विगत दुई वर्षमा प्राधिकरणले आफ्नै स्रोतबाट करिब ४८ अर्ब रुपैयाँबराबरको रकम प्रसारण तथा वितरण प्रणाली विस्तार र सुधारमा लगानी गरेको छ।
त्यस्तै सरकारको कोषमा साँवा, ब्याज र रोयल्टी गरी करिब ३० अर्ब रुपैयाँ जम्मा गरेको कार्यकारी निर्देशक घिसिङले बताए।