सुर्खेत। पछिल्लो समय कर्णाली प्रदेशबाट वैदेशिक रोजगारका लागि विदेशिनेको संख्या दैनिक बढ्दै गएको छ।
आर्थिक वर्ष २०७९/८० मा नयाँ श्रम स्वीकृति लिनेको कूल संख्या ३ हजार ३ सय रहेको श्रम तथा रोजगार कार्यालय सुर्खेतले जनाएको छ।
कार्यालयका सूचना अधिकारी निर्मला रेग्मीले आव २०७५/७६ मा ९ सय १९ पुरुष र महिला सात जनाले पुनः श्रम स्वीकृति लिएका जानकारी दिए।
उनका अनुसार २०७६/७७ मा १ हजार ९ सय ९० पुरुष र ३६ महिला, २०७७/७८ मा ६ सय ६७ पुरुष र आठ महिला र २०७८/७९ १ हजार ५ पुरुष र २६ महिलाले श्रम स्वीकृति लिएका थिए।
आफ्नो देशमा भन्दा अन्य देशमा काम गर्न बढी रुचाउने भएकाले गर्दा पनि विदेशिनेको संख्या बढ्दै गएको उनले बताए।
श्रम तथा रोजगारका लागि नेपालबाट साउदी, कतार मलेसिया, बहराइन, कुवेत र संयुक्त अरब इमिरेट्स (युएई), क्रोएसिया, अल्बानिया, पोल्यान्ड, रोमानिया, स्लोभाकिया, हङ्गेरी, माल्दोभा र बेलारुसमा जानेको संख्या बढिरहेको जनाइएको छ।
उनले भने, ‘उच्च शिक्षामा व्यवसायी तथा सीपमूलक शिक्षा अनिवार्य गर्नुपर्छ।’ कर्णालीको सल्यानबाट धेरै श्रम तथा रोजगारका लागि जाने गरेको उनले बताए।
वीरेन्द्र नगर १ का भद्र सुनारले सरकारले स्वदेशमा नै रोजगारको व्यवस्था मिलाउन सकेमा विदेशीनेको संख्या कम हुने बताए।