काठमाडौं। नेपाल धितोपत्र बोर्ड (सेबोन) ले धितोपत्र दलाल शुल्क घटाउने भएको छ। बोर्डले सेयर ब्रोकर कम्पनीले लिने तल्लो सीमा खारेज गर्दै माथिल्लो सीमासमेत घटाउने तयारी सुरु गरेको हो।
‘धितोपत्र दलाल व्यवसायी शुल्क पुनरावलोकन गर्न बोर्डले अध्ययन गरिरहेको छ। ब्रोकर शुल्क समयसान्दर्भिक बनाउने गरी पुरानो शुल्क समायोजन हुन्छ,’ बोर्ड अध्यक्ष रमेश हमालले क्यापिटल नेपालसँग भने, ‘हामीले प्रतिस्पर्धा निष्पक्ष बनाउन खोजेका हौं। प्रतिस्पर्धा निष्पक्ष बनाएर जनताको लागत घटाउने नै बोर्डको मुख्य उदेश्य हो।’
अन्य देशका अभ्यास पनि ब्रोकर शुल्कको तल्लो सीमा खुला गरेर नै हुने भएकाले नेपालमा पनि उक्त अभ्यास गर्न लागिएको उनको भनाइ छ।
अहिले सेयर ब्रोकरले लिने माथिल्लो र तल्लो सीमा नै निर्धारण गरिएको छ। बोर्डले २०७७ पुस १० गते ०.४ देखि ०.६ प्रतिशतसम्म रहेको ब्रोकर कमिसनलाई ०.२७ देखि ०.४ प्रतिशतसम्म शुल्क लाग्ने बनाएको थियो।
उक्त व्यवस्थाअनुसार हाल ५० हजार रुपैयाँसम्मको कारोबारमा ०.४ प्रतिशत ब्रोकर कमिसन लाग्छ। त्यस्तै ५० हजारदेखि ५ लाख रुपैयाँसम्मको कारोबारमा ०.३७ प्रतिशत शुल्क लाग्छ।
५ लाखदेखि २० लाख रुपैयाँसम्मको कारोबारमा ०.३४ प्रतिशत, २० लाखदेखि १ करोड रुपैयाँसम्मको कारोबारमा ०.३० प्रतिशत र १ करोडभन्दा बढी रकमको कारोबार गर्दा ०.२७ प्रतिशत ब्रोकर कमिसन लाग्छ। बोर्डले अहिले माथिल्लो सीमा घटाएर ‘फिक्स्ड’ गर्दै तल्लो सीमा हटाएर समयसान्दर्भिक ब्रोकर कमिसन बनाउन खोजेको हमाल बताउँछन्।
भारतमा २० रुपैयाँमा नै सेयर ट्रान्सफर गर्ने ब्रोकर छन्। धेरै नै शुल्क लिने पनि छन्। तर, ग्राहक आफ्नो रोजाइमा ब्रोकर छनौट गर्छन्।बजार खुला छाडे सबैभन्दा बढी लगानीकर्तालाई नै फाइदा हुन्छ। यस्तो व्यवस्थाले ब्रोकर र लगानीकर्तालाई नै फाइदा पुग्छ।
सेवामा कुनै पनि सम्झौता नगरी गुणस्तरीय सेवा कम शुल्कमा दिने कम्पनीमा नै लगानीकर्ता बढी आकर्षित हुन्छन्। यसले गर्दा कम्पनीको व्यवसाय फस्टाउनुका साथै लगानीकर्ताले समेत कम लागतमा सेवा उपयोग गर्न पाउँछन्।
‘यसका धेरै पक्षमा बोर्डले छलफल तथा अध्ययन गरिरहेको छ। बोर्डले नै माथिल्लो र तल्लो सीमा तोक्दा घटाउन वा बढाउन केही गर्न नमिल्ने भएपछि ‘फिलोसोफी वाइज’ तल्लो सीमा खोल्न ठिक लागेर तयारी सुरु गरिएको हो,’ उनले भने।
बजारमा ब्रोकर कम्पनी थपिँदै जाँदा निष्पक्ष खुला प्रतिस्पर्धामार्फत व्यवसाय गर्न उक्त व्यवस्था गर्न लागिएको उनको भनाइ छ। आगामी दिनमा नयाँ व्यवस्थामा शुल्क घटाएर पनि सेवाको गुणस्तर मापन बोर्डले गर्न सक्ने उनको भनाइ छ।
बोर्डले चालू आर्थिक वर्ष २०८०/८१ का लागि धितोपत्र बजार वस्तु विनिमय बजारसम्बन्धी नीति तथा कार्यक्रममा धितोपत्र दलाल व्यवसायीको मध्यस्थता शुल्क पुनरावालोकन गर्ने भनेर उल्लेख गरेसँगै थप अध्ययन तथा छलफललाई बोर्डले तीव्रता दिइरहेको छ।