काठमाडौं। बेलायतका प्रधानमन्त्री ऋषि सुनकलाई नेपाली मूलका बेलायती व्यवसायी दीपेन्द्र गुरुङले नेपालमा बिदा मनाउन आउन प्रस्ताव गरेका छन्।
बेलायती प्रधानमन्त्री सुनक र व्यवसायी गुरुङबीच बेलायतको राजधानी लन्डनमा एक औपचारिक कार्यक्रममा भेटघाट हुँदा गुरुङले उनलाई नेपालमा बिदा मनाउन आउन प्रस्ताव गरेका हुन्।
दुईबीचको वार्तालापका क्रममा प्रधानमन्त्री सुनकले गुरुङको ‘स्टार्टअप’ अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालय जेट एयरलाइन्सको उडान सञ्चालनबारे जिज्ञासा राखेका थिए।
‘हिमालय जेट एयरलाइन्सले कहिलेबाट उडान भर्छ?,’ बेलायती प्रधानमन्त्री सुनकले गुरुङसँग प्रश्न गरेको तथा सुनक र गुरुङबीच अन्य व्यावसायिक वार्तालाप भएको हिमालय जेट सचिवालयले जनाएको छ।
सचिवालयका अनुसार प्रधानमन्त्री सुनकको प्रश्नपछि व्यवसायी गुरुङले सकेसम्म सन् २०२३ बाट हिमालय जेटले औपचारिक उडान सुरु गर्ने बताएका थिए।
गुरुङले २०२५ बाट मन्टेकार्लो, मकाओ र लासभेगासका लागि नियमित व्यावसायिक उडान गर्ने तयारी भए पनि यो वर्षभित्र नेपालका लागि सिधा चार्टर उडानसँगै विश्वका ३३ प्रमुख सहरमा पनि उडान सञ्चालन गरिने प्रधानमन्त्री सुनकलाई जानकारी गराएका थिए।
नेपाल उडान सुरु हुनासाथ अनुकूल समय मिलाएर पशुपतिनाथ र हिमाल अवलोकन गरी बिदा मनाउन आउन गुरुङले प्रधानमन्त्री सुनकलाई प्रस्ताव गरेका हुन्।
प्रधानमन्त्री सुनकले आगामी सेप्टेम्बरमा आफू भारत भ्रमणमा जान लागेको बताए। व्यवसायी गुरुङले डिसेम्बरमा भारतमा विश्व सुन्दरी प्रतियाेगिता आयोजना गर्न जान लागेकाे बताए। गुरुङ विश्व सुन्दरी प्रतियोगिताकाे सहआयाेजक हुन्।
बेलायतको कन्जर्भेटिभ पार्टीका डेपुटी चेयरम्यान, सांसद निकी एइकेनलगायतले आयोजना गरेको दिवाभोजमा प्रधानमन्त्री सुनक र हिमालय जेट अध्यक्ष गुरुङलाई निमन्त्रणा गरिएको थियो। सोही कार्यक्रममा दुईबीच व्यावसायिक वार्तालाप भएको थियो।
गुरुङले लन्डनको हिथ्रो विमानस्थललाई आधार गरेर २०२३ सेप्टेम्बरबाट विश्वव्यापी नियमित उडान गर्ने घोषणा केही महिनाअघि गरेका थिए। यसका लागि उनले आवश्यक तयारी तीव्र गतिमा अगाडि बढाएका छन्।
लन्डनबाट चाँडै सञ्चालन हुन लागेको हिमालय जेटले बेलायत, फ्रान्स र जर्मनीबाट नेपाल उडान गर्ने लागेको छ।
लामो दुरी (लङ हल) मा उडान गर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालय जेटले आगामी सेप्टेम्बरदेखि बेलायतको लन्डन र म्यानचेस्टर, फ्रान्सको पेरिस र जर्मनीको फ्र्यांकफर्टबाट नेपाल उडान गर्न लागेको हो।
हिमालय जेटले १८ थान ठूला आकार (वाइड बडी) जहाजबाट लामो दुरीका गन्तव्यमा उडान गर्ने जानकारी आफ्नो अफिसियल वेबसाइटमा उल्लेख गरेको छ।
‘हाम्रो एयरलाइन कम्पनीका सञ्चालक दीपेन्द्र गुरुङ नेपाली मूलको भएका कारण हामीले नेपालमा बढी पैसा खर्च गर्ने गुणस्तरीय पर्यटक लैजान नेपालमा पनि उडान गर्ने तयारी गरेका हौं,’ हिमालय जेटका प्रमुख ग्राहक अधिकृत एलेक्स मिडले भने, ‘नेपाल पनि हाम्रो प्रिमियम गन्तव्य हुनेछ।’
कम्पनीले लन्डन, म्यानचेस्टर, पेरिस र फ्र्यांकफर्टबाट सिधा काठमाडौं उडान गर्ने र यहाँबाट पनि ती गन्तव्यका लागि सिधा उडान गर्ने जनाएको छ।
पहिलो चरणमा १८ थान वाइड बडी जहाज उडाउन ५५ क्याप्टेन र ५५ कोपाइलटसहित एक दर्जन उच्च तहका कार्यकारी अधिकृत तथा थप करिब २ हजार ५ सय कर्मचारी भर्ना गर्न कम्पनीले यसअघि नै दर्खास्त आह्वान गरेको थियो।
कम्पनीले विभिन्न देशका ३० अन्तर्राष्ट्रिय विमानस्थलमा रहेर काम गर्न करिब २ हजार ५ सय कर्मचारी भर्ना गर्न सार्वजनिक सूचना जारी गरेको थियो।
लन्डनमा दर्ता भएको हिमालय जेटको हिथ्रो विमानस्थल टर्मिनल २ मा मुख्यालयमा छ।
बेलायतको नयाँ वायुसेवा कम्पनी हिमालय जेटले नेपाल, भारत, अमेरिका, फ्रान्स, जर्मनी, इटाली, स्पेन, स्वीजरल्यान्ड, जापान, मकाओ, हङकङ, सिंगापुर, युएई, साउदी अरब, अस्ट्रेलिया लगायत लामो दुरीका गन्तव्यमा ‘प्रिमियम’ सिधा उडान गर्ने तयारी गरेको छ।
हिमालय जेट ‘स्टार्टअप’ एयरलाइन कम्पनी हो। यसले बेलायतलाई आधार गरेर प्रिमियम उडान गर्न लागेको हो।
हिमालय जेटले काठमाडौं र भारतका विभिन्न गन्तव्य जाँदा यात्रुले भोग्नुपरेको अत्यासलाग्दो ‘ट्रान्जिट’ घटाएर सिधा उडान गर्ने योजना बनाएको छ। युरोपेली गन्तव्यलाई नेपाल र भारत जोड्ने गरी सञ्चालन गर्न लागिएको हो।
सिधा उडान गर्दा यात्रुको समय र खर्च ३० प्रतिशत जोगिने कम्पनीले जनाएको छ। हिमालय जेटले युरोप, अमेरिका, एसिया र अस्ट्रेलिया गरी चार महादेश जोड्ने छ।
हिमालय जेटले हिमाली क्षेत्र पुग्न चाहने युरोपेली पर्वतारोही र साहसिक पर्यटकलाई सिधा र सुविधायुक्त उडान उपलब्ध गराउनेमात्र नभई, लक्जरी होटल र अन्य सम्बन्धित पर्यटन गतिविधिमा सहभागी गराउने पनि उल्लेख गरेको छ।