काठमाडौं। अहिले नेपाली बजारमा गोभेँडाको मूल्य उचाइमा छ। डेढ महिनाअघि मूल्य नपाएर गोलभेँडा फाल्न बाध्य किसानका बारीमै अहिले व्यापारी पुगेर गोलभेँडा किनिरहेका छन्।
कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गोलभेँडाको मूल्य १ सय ८० रुपैयाँसम्म पुगेको छ।
समितिका अनुसार ठूलो नेपाली गोलभेँडा किलोको न्यूनतम १ सय ६० देखि १ सय ८० रुपैयाँ र सानो लोकल गोलभेँडा न्यूनतम ६५ देखि अधिकतम ७५ रुपैयाँ किलो छ।
खुद्रा बजारमा त उपभोक्ताले सानो गोलभेँडाको किलोको १ सयभन्दा धेरै तिर्न बाध्य छन्। असार पहिलो साता मूल्य नपाएर ‘डम्प’ गर्नुपरेको गोलभेँडा मूल्य साउन लाग्नासाथ नाटकीय ढंगले बढेको हो।
असार/साउन गोलभेँडाको ‘अफसिजन’ भए पनि धेरै किसानले बेमौसमी गोलभेँडा खेती गरेको र उत्पादन पनि धेरै राम्रो भएपछि मागभन्दा आपूर्ति धेरै भएका कारण असार पहिलो साता मूल्य घटेको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ।
हाल किसानले मूल्य नपाएपछि बाली नष्ट गरेको, अर्को सिजनको बाली लगाएको र भारतबाट पनि आयात नभएका कारण मूल्य बढेको उनको तर्क छ।
‘हाम्रो बजारको दैनिक गोलभेँडा माग ६०/६५ टन हो। मूल्य अत्यधिक घट्दा दैनिक ९०÷९५ टन आएको थियो भने हाल ३५÷४० टनमात्र आइरहेको छ,’ उनले भने।
कहिलेदेखि घट्ला त मूल्य?
तराईबाट गोलभेँडा आउन थालेपछि मूल्य घट्ने श्रेष्ठले बताए। ‘यो गोलभेँडाको अफसिजन नै हो। टनेल खेतीले केही धानेको थियो,’ उनले भने, ‘कात्तिकतिर तराईमा गोलभेँडा उत्पादन सुरु हुन्छ र त्यसपछि अवस्था केही सामान्य होला। त्यस्तै त्यसअघि भारतबाट गोलभेँडा आए मूल्य घट्छ।’
अबको १५/२० दिनमा गोलभेँडाको मूल्य घट्ने ताजा कृषि तथा पशुपंक्षी फार्मका सञ्चालक राङडोल लामा बताउँछन्।
‘जाडो महिना भएकाले माघमा रोपेको गोलभेँडाले वैशाखदेखि बल्ल उत्पादन दियो। किसानले दसैंका लागि साउनमा रोपेको गोलभेँडा असोजमै उत्पादन सुरु हुन्छ,’ उनले भने, ‘अब भारतबाट पनि गोलभेँडा आउन सुरु हुन्छ। त्यसकारण १५÷२० दिनपछि मूल्य सामान्य होला।’
असारको मूल्यका कारण धेरै किसानले खेती नष्ट गरेर दसैंका लागि बाली लगाएका कारण गोलभेँडाको मूल्य अत्यधिक बढेको उनको तर्क छ।
वर्षमा ६१ करोड बढीको गोलभेँडा आयात
गत आर्थिक वर्ष २०७९/८० मा ६१ करोडभन्दा धेरै गोलभेँडा आयात भएको छ। भन्सार विभागको तथ्यांकअनुसार गत आर्थिक वर्ष ६१ करोड ८ लाख ६३ रुपैयाँबराबरको ४ करोड २१ लाख ५ हजार ६ सय ४ किलो गोलभेँडा आयात भएको थियो। जसबाट सरकारले ६ करोड २ लाख ७३ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो।
त्यसैगरी गत आर्थिक वर्ष १० लाख किलोभन्दा धेरै गोलभेँडा निर्यात भएको थियो। भन्सार विभाग तथ्यांकअनुसार गत आर्थिक वर्ष भारतमा मात्र १ करोड ४९ लाख ४ हजार रुपैयाँको १० लाख ९४ हजार ५ किलो गोलभेँडा निर्यात भएको थियो।