काठमाडौं। नेपाल धितोपत्र बोर्ड (सेबोन) र नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले कृषि विकास बैंकमाथि छानबिन थालेका छन्। बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण प्रकाशित गर्दा बजारलाई प्रभावित (म्यानुपुलेट) पार्ने वित्तीय विवरण प्रकाशित गरेपछि दुई संस्थाले एकसाथ छानबिन प्रक्रिया अघि बढाएका हुन्।
गएको शनिबार बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाशिक वित्तीय विवरण प्रकाशित गर्दा उक्त अवधिको नाफाबाट सेयरधनीलाई दिनसक्ने लाभांश क्षमता प्रतिसेयर १९.८९ रहेको उल्लेख गरेको थियो। उक्त अवधिको नाफाबाट बैंकले सेयरधनीलाई दिन सक्ने प्रतिफलबारे लगानीकर्ता र सरोकारवालाहरुले प्रश्न उठाएका थिए।
त्यसको दुई दिनपछि (सोमबार) बैंकले यसलाई सच्याउँदै (करेक्सन) उक्त लाभांश क्षमता प्रतिसेयर १४.९२ प्रतिशतमात्रै रहेको जानकारी गरायो। गत आर्थिक वर्षमा बैंकले २ करोड रुपैयाँ वितरणयोग्य नाफा कमाएको छ भने उक्त अवधिमा बैंकको चुक्ता पुँजी १३ अर्ब ४५ करोड १६ लाख रुपैयाँ छ।
जसको आधारमा बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई दिनसक्ने लाभांश करिब २० प्रतिशत भनिएपछि आइतबार बैंकको सेयरमा लगानीकर्ताहरु झुमिए। जसले गर्दा बैंकको सेयर मूल्य प्रतिकित्ता २ सय ५३ रुपैयाँबाट २ सय ७३ रुपैयाँ २० पैसा कायम भएको थियो।
कृषि विकास बैंकमा ५१ प्रतिशत सरकार र ४९ प्रतिशत सर्वसाधारणको स्वामित्व छ। बैंकको बजार पुँजीकरण ३४ अर्ब ७० करोड ५३ लाख रुपैयाँ बढी छ। प्रकाशित वित्तीय विवरणले बजारलाई प्रभावित गरिसकेपछि बैंकले गल्ती भएको सूचना प्रकाशित गर्यो।
‘कृषि विकास बैंकको आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमासको मिति २०८० साउन २० मा प्रकाशित वित्तीय विवरणमा वितरणयोग्य आम्दानी प्रतिसेयर देहायबमोजिम हुनुपर्नेमा अन्यथा भएकोले सच्याइएको छ,’ बैंकले प्रकाशित गरेको सूचनामा उल्लेख छ।
यसरी बजारलाई प्रभावित पार्ने वित्तीय विवरण प्रकाशित गर्ने बैंकलाई काराबाही होस् भन्दै विभिन्न लगानीकर्ता संघ–संगठनले विज्ञप्ती नै जारीसमेत गरिसकेका छन्। जसको सुनुवाइ गर्न छानबिन सूरु गरिएको सेबोनका अध्यक्ष रमेशकुमार हमालले बताए।
‘कृषि विकास बैंकको वित्तीय विवरणबारे सम्बन्धित विभागले छानबिन शुरु गरिरहेको छ, छानबिनपछि गल्ती देखिए आवश्यक काराबाही हुन्छ’सेबोनका अध्यक्ष हमालले क्यापिटल नेपालसँग भने।
यता, नेप्सेले पनि साउन २३ गते मंगलबारदेखि बैंकको वित्तीय विवरण र कारोबारबारे छानबिन शुरु गरेको नेप्सेकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) कृष्णबहादुर कार्कीले बताए।
‘हिजोदेखि छानबिन शुरु गरेका छौं, नियतवस बजारलाई मिसलिड गर्ने वित्तीय विवरण प्रकाशित गरिएको भए उ माथि आवश्यक कारबाही हुन्छ,’सिइओ कार्कीले भने।
गत वर्षको नाफाबाट बैंकले सेयरधनीलाई दिन सक्ने लाभांश क्षमता बढी राखेर प्रकाशित गरेको गलत वित्तीय विवरणले बजारलाई ‘म्यानुपुलेट’ गरिएको आशंकामा नेप्से र सेबोनले छानबिन सुरु गरेका हुन्।
यसैगरी नेपाल बैंकको पनि भुलसुधार भन्दै क्यापिटल फण्ड आरडब्ल्युएमा परिमार्जन गरेको छ। जसमा छानविन सुरु गरिएको छ। बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाशमा यस्तो अनुपात १४.७९ प्रतिशत भएको वित्तीय विवरण प्रकाशित गरेको थियो। जसलाई नेपाल बैंकले भुलसुधार भन्दै १४.४९ प्रतिशत रहेको जानकारी गराएको छ।