काठमाडौं। नेपाल निर्माण व्यवसायी महासंघको दोस्रो चरणको आन्दोलनमा नेपाल क्रसर तथा खानी उद्योग महासंघ पनि सहभागी भएको छ। महासंघका अध्यक्ष सिताराम न्यौपानेले निर्माण व्यवसायीको अर्बौं रकम भुक्तान नहुँदा समग्र निर्माण क्षेत्र अस्तव्यस्त भएको बताए।
निर्माण व्यवसायीको आन्दोलनको प्रभाव ढुङ्गा, गिट्टी, बालुवालगायतका व्यवसायीलाई परिसकेको भन्दै अध्यक्ष न्यौपानेले निर्माण व्यवसायीको जायज माग तत्काल पूरा गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
निर्माण व्यवसायीको दोस्रो चरणको आन्दोलनअन्तर्गत बुधबार राजधानीमा देशभरिका निर्माण व्यवसायीले सेफ्टी हेल्मेट र ज्याकेट लगाई हातमा कालो पट्टी बाँधेर सिठ्ठी जुलुस गरेका छन्। महासंघको निर्देशनबमोजिम ७ प्रदेश तथा ७७ जिल्लाबाट आएका निर्माण व्यवसायी जुलुसमा सहभागी भएका हुन्।
निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहको नेतृत्वमा महासंघ सचिवालय अनामनगरबाट सुरु भएको जुलुस संसद भवन नयाँ बानेश्वर अगाडि कोणसभामा परिणत भएको थियो। कोणसभालाई सम्बोधन गर्दै अध्यक्ष सिंहले सरकारले व्यवसायीका जायज माग पूरा नगरेका कारण बाध्य भएर दोस्रो चरणको आन्दोलन सुरु गर्नुपरेको बताए।
महासंघ महासचिव रोशन दाहालले सामान्य तरिकाले राज्यले व्यवसायीको समस्या नसुनेका कारण सिठ्ठी फुकेर ध्यानाकर्षण गराइएको बताएका छन्। कोणसभामा निर्माणसँग सम्बन्धित विभिन्न संघसंस्थाका प्रतिनिधिले आन्दोलनमा ऐक्यबद्धता जनाएका थिए।
त्यस्तै, सोसाइटी अफ कन्सल्टिङ आर्किटेक्चरल एन्ड इन्जिनिर्यस् फर्म (स्क्याफ) का महासचिव कमल कार्कीले निर्माण उद्योग चलायमान नभएका कारण अर्थतन्त्रमै समस्या आएको बताए।
कोण सभामा सुदूर–पूर्वको नेतृत्व गर्दै निर्माण व्यवसायी संघ झापाका अध्यक्ष मिलन बस्नेत तथा सुदूरपश्चिमको नेतृत्व गर्दै निर्माण व्यवसायी संघ कञ्चनपुरका अध्यक्ष निरञ्जन भट्टले राजधानी केन्द्रित महासंघको आन्दोलन सफल नभएसम्म घर नफर्कने प्रतिबद्धता जनाएका छन्।
व्यवसायीको अर्बौं रकम भुक्तान हुनुपर्ने, सबै आयोजनाको एकमुष्ट म्याद थप हुनुपर्ने, मूल्य समायोजन हुनुपर्ने, निर्माण व्यवसायी मैत्री ऐन नियम लागू हुनुपर्ने, निर्माण व्यवसायीको माग सम्बोधनका लागि उच्चस्तरीय वार्ता टोली गठन हुनुपर्नेलगायतका माग राखी व्यवसायी साउन १४ देखि निरन्तर आन्दोलनमा छन्।
महासंघको निर्देशनअनुसार राजधानी केन्द्रित आन्दोलन सफल पार्न देशभरिका हजारौं व्यवसायी राजधानी आएको महासंघका प्रवक्तासमेत रहेका नीतिगत उपमहासचिव शिवहरी घिमिरे बताउँछन्। बुधबारको आन्दोलनलाई आगामी शुक्रबारसम्म निरन्तरता दिने महासंघले जनाएको छ।