काठमाडौं। व्यापार–व्यवसाय गर्न वा घरजग्गा वा गाडी किन्न बैंकबाट कर्जा लिने सोचमा हुनुहुन्छ? यदि बैंकबाटै कर्जा लिएर यस्तो कारोबार गर्ने सोचमा हुनुहुन्छ भने कुनको ब्याजदर कति छ र कुनले सबैभन्दा सस्तो ब्याजमा कर्जा दिन्छ भन्ने थाहा पाउन आवश्यक छ।
पछिल्लो समय बैंकमा कर्जा माग सुस्ताए पनि ब्याजदर भने बढिरहेको छ। कर्जा दिने फाइनान्स कम्पनीभन्दा विकास बैंकमा ब्याजदर सस्तो हुन्छ भने विकास बैंकभन्दा वाणिज्य बैंकमा कम ब्याजदर हुन्छ।
ठूलो परिमाणमा कर्जा लिन चाहने अधिकांशले प्राथमिकतामा वाणिज्य बैंकलाई नै राखेका हुन्छन्। तर, सस्तोमा कर्जा दिने भनिएका वाणिज्य बैंकमा पनि ब्याजदर ०.८३ प्रतिशतले बढेको छ।
बैंकले आधारदर (बेसरेट) लाई आधार बनाएर कर्जाको प्रकारअनुसार त्यसमा केही प्रतिशत प्रिमियम थप गरी कर्जा लगानी गर्छन्। कर्जा लिन इच्छुकले बैंक कर्जाको प्रडक्टअनुसार ब्याजदर हेर्नुभन्दा पहिला कर्जा लिन बैंकको ब्याजदर कति छ भनेर बुझ्नुपर्छ।
एक वर्ष अवधिमा वाणिज्य बैंकहरूको यस्तो बेसरेट औसतमा ०.८३ प्रतिशतले वृद्धि भएर गत आर्थिक वर्षमा १०.१३ प्रतिशत पुगेको छ। अघिल्लो आवमा वाणिज्य बैंकहरूको औसत बेसरेट ९.३० प्रतिशत थियो।
सञ्चालनमा रहेका २० वाणिज्य बैंकले अघिल्लो आवको तुलनामा गत आवमा बेसरेट ०.१६ प्रतिशतदेखि १.९३ प्रतिशतसम्म वृद्धि गरेका छन्। एक वर्ष अवधिमा सबैभन्दा बढी नेपाल बैंकले र सबैभन्दा कम राष्ट्रिय वाणिज्य बैंकले बेसरेट बढाएका हुन्।
बैंकहरूले मासिक वा त्रैमासिक बेसरेट परिवर्तन गरिरहेका हुन्छन्। नयाँ ऋणीका लागि मासिक निर्धारित बेसरेटका आधारमा कर्जा प्रवाह हुन्छ भने पुराना ऋणीको कर्जाको ब्याजदर त्रैमासिक परिवर्तन हुने बेसरेटका आधारमा परिवर्तन हुन्छ।
तै पनि राष्ट्र बैंकले मासिक वा त्रैमासिक गणनामा आउने बेसरेट घट्दा पुराना ऋणीको पनि घटाउन निर्देशन दिएको छ। वृद्धि भएको हकमा भने बैंकलाई आफ्नो सहुलियतमा घटाउने विकल्प छ।
बेसरेट परिवर्तनसँगै कर्जाको ब्याजदरमा परिवर्तन आउने हुन्छ। कर्जा लिने व्यक्तिले कुनै एक बैंकबाट कर्जा लिनु अगाडि सञ्चालनमा रहेको सबै बैंकहरूको बेसरेट कति छ र ती बैंकको बेसरेट कहिले परिवर्तन हुन्छ भनेर निक्र्योल गर्न अतिआवश्यक छ।
सञ्चालनमा २० वाणिज्य बैंकमध्ये केही बैंकको बेसरेट उच्च हुनुका साथै ती बैंकको बेसरेट पनि छिटोछिटो परिवर्तन भइरहेका छ। त्यस्ता बैंकको कर्जाको ग्राहक बन्दा भविष्यमा पछुताउनुपर्ने अवस्था आउन सक्छ।
त्यसकारण वाणिज्य बैंकको कर्जाको ग्राहक हुन चाहने ग्राहकले कुन बैंकको बेसरेट थोरै छ थाहा पाउनुपर्छ। वाणिज्य बैंकहरूमध्ये १३ वटाको बेसरेट १० प्रतिशतमाथि छ। ती बैंकको बेसरेट १०.९० प्रतिशतसम्म र अघिल्लो आवको तुलनामा १.१६ प्रतिशतसम्मले वृद्धि गरेका हुन्। बेसरेट १० प्रतिशतमाथि रहेका वाणिज्य बैंकले ५ प्रतिशत प्रिमियम र ०.७५ प्रतिशत सेवा शुल्क जोडेर १५ देखि १७ प्रतिशतसम्म कर्जाको ब्याजदर तोक्छन्।
गत आवको असार मसान्तसम्म ६ वाणिज्य बैंकको बेसरेट १० प्रतिशत तल ९.०२ प्रतिशतसम्म हुँदा राष्ट्रिय वाणिज्य बैंकको भने ८.०२ प्रतिशत छ। उक्त अवधिमा १० प्रतिशत तल भएका बैंकको हाल कर्जाको ब्याजदर १३ देखि १५ प्रतिशत छ।
पूर्णसरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको बेसरेट ८.०२ हुँदा प्रिमियम दर ३.९८ प्रतिशत छ। बैंकले ०.७५ प्रतिशतसम्म सेवा शुल्क दिएका कर्जाको ब्याजदर १२.७५ प्रतिशतसम्म कायम गरेको छ।
योसँगै वाणिज्य बैंकमध्ये सबैभन्दा सस्तोमा कर्जा दिने बैंकमा स्ट्यान्डर्ड चार्टर्ड, नबिल, सिद्धार्थ, नेपाल, एभरेस्ट र एनआइसी एसिया बैंक हुन्। गत आवको असार मसान्तसम्म स्ट्यान्डर्ड चार्टर्डको ९.०२ प्रतिशत, नबिल ९.५२, सिद्धार्थ ९.९१, नेपाल बैंक ९.९२, एभरेस्ट ९.९४ र एनआइसी एसियाको ९.९८ प्रतिशत बेसरेट छ।
साढे ९ प्रतिशतदेखि १० प्रतिशतसम्म बेसरेट भएको बैंकले प्रवाह गर्ने अधिकांश कर्जाको ब्याजदर १३ देखि १५ प्रतिशतभन्दा माथि पर्न जान्छ। त्यसैले कर्जा लिन चाहने व्यक्तिले बेसरेट धेरैमा पनि १० प्रतिशतभन्दा थोरै भएको बैंकबाट कर्जा लिन उपयुक्त हुन्छ।