काठमाडौं। नेपालका सडकहरु लाइफ टाइम टिकाउ हुने बनाउन भौगोलिक अवस्था हेरेर सुरुङमार्ग निर्माणमा जोड दिनुपर्ने पूर्वाधार विज्ञले बताएका छन्।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले भौतिक पूर्वाधारका विज्ञ टोलीसँग सडक सुधारका विषयमा गरेको छलफलमा विज्ञले यस्ता सुझाव दिएको मन्त्रालयले जनाएको छ।
अहिले सञ्चालनमा रहेका सडक सुरक्षा र भविष्यमा बन्ने सडकका विषयमा केन्द्रित भएर छलफल सुरु गरिएको मन्त्रालयका सचिव केशव शर्माले बताए। नेपालमा विगत र वर्तमानका सडक अवस्था, जोग्राफिकल जियोग्राफी र भविष्यमा कस्ता सडक बनाउँदा लाइफ टाइम सडकको सुरक्षा हुनसक्छ भन्ने विषयमा छलफल भएको छ।
छलफलमा मन्त्री ज्वालाले भौगलिक विकटताले सडक निर्माण र सडक सुरक्षाले थपेका चुनौतीलाई कसरी हल गर्ने? भन्ने विषयमा विज्ञ टोलीसँग राय मागेका छन्।
‘सडक गाउँ बस्तीमा पर्याउने हो, तर हाम्रा धेरै गाउँ बस्तीहरु चुरे र महाभारत शृखंलामा रहेका छन्, जहाँ सडक विस्तार गर्न र विस्तार गरिएका सडकको सुरक्षा गर्न निकै चुनौती छन्,’ मन्त्री ज्वालाले भने।
पूर्वाधार विज्ञ सुरेशराज आचार्य, विज्ञ मेघराज घिताल, फ्रोफेसर डा. तारानिधी भट्टराई, बिबी देउजालगायतका विज्ञसँग छलफल सुरु भएको छ।
विज्ञ टोलीले दृष्यसहित प्रस्तुति दिएको मन्त्रालयले जनाएको छ। धेरै खर्चिलो भएपनि नेपालको भूगोलअनुसार सुरुङमार्गमा जान विज्ञ टोलीले सुझाव दिएको छ।
नेपालमा जति राम्रो सडक बनाएपनि बाढी पहिरोले सडकको आयु एकदमै छोटो हुने गरेको छ। त्यो समस्या हल गर्न सुरुङमार्गमा जान र सञ्चालनमा रहेका सडकको तत्काल अध्ययन थाल्न विज्ञ टोलीले सुझाव दिएको हो। छलफलमा मन्त्रालयका सबै सहसचिवको पनि सहभागिता रहेको छ।