काठमाडौं। प्राथमिक सेयर (आइपिओ) निष्कासन गर्न लागेको नर्भिक इन्टरनेसनल हस्पिटल एन्ड मेडिकल कलेज लिमिटेडले २ अर्ब ३८ करोड रुपैयाँ लगानीमा सेवा विस्तार थालेको छ।
नर्भिकले अस्पतालको क्षमता बढाएर २ सय बेड पुर्याउने भएको छ। नर्भिकको अहिले १ सय ४० बेड क्षमता छ। ३० सामान्य र जटिल बिरामीका लागि उपचार गर्न ३० बेड थप्ने भएको हो।
पूर्वघोषणाअनुसार नर्भिकले अहिलेको पार्किङस्थल क्षेत्रमा अत्याधुनिक सेवा र सुविधासम्पन्न ८ तले भवन निर्माण गरिरहेको छ।
अस्पतालको क्षमता बढाउन नर्भिकले १ अर्ब ९० करोड रुपैयाँ दीर्घकालीन ऋण लिएको छ। बाँकी ४८ करोड रुपैयाँ संस्थापकको स्वपुँजी (इक्विटी) हुने भएको छ।
८० प्रतिशत बैंक ऋण र बाँकी २० प्रतिशत संस्थापकले स्वपुँजीबाट जुटाउने गरी लगानी संरचना तयार पारिएको छ। कूल ऋणमध्ये १ अर्ब ५० करोड रुपैयाँ वित्तीय व्यवस्थापन भइसकेको छ।
अहिलेसम्म १२ प्रतिशत वित्तीय प्रगति भएको अस्पतालले जनाएको छ। निर्माणाधीन अस्पताल आगाी सन् २०२५ मा पूरा हुने लक्ष्य छ।
अस्पतालले भवन निर्माणका लागि रोशन कन्स्ट्रक्सन प्रालिसँग सम्झौतासमेत गरेको छ। नयाँ भवन कम्प्रिहेन्सिभ क्यान्सर ट्रिटमेन्टसहितको आधुनिक र सुविधासम्पन्न हुनेछ। १ लाख ६५ हजार वर्गफिटमा आधुनिक भवन बन्ने छ।
नर्भिकको कारोबार ३३ प्रतिशत बढ्यो
नर्भिकको सञ्चालन आम्दानी ३३.३० प्रतिशत बढेको छ। सन् २०२२ मा अस्पतालको कारोबार बढेर १ अर्ब ८१ करोड ३० लाख रुपैयाँ पुगेको छ। २०२१ मा १ अर्ब ३६ करोड रुपैयाँ थियो। एक वर्षमा ४५ करोड ३० लाख रुपैयाँ आम्दानी बढाएको छ। २०२० मा १ अर्ब २५ करोड रुपैयाँ आम्दानी थियो। नर्भिकले २ अर्ब ९४ करोड रुपैयाँ ऋणको रेटिङ गराएको छ।
कूल आम्दानीमा प्याथोलोजी सेवाको हिस्सा २४ प्रतिशत छ। यस्तै बेड र रुम चार्जको १४ र अल्ट्रासाउन्ड सेवाको १२ प्रतिशत हिस्सा रहेको नर्भिकले जनाएको छ।
अस्पतालको आइभिएफ र गाइनोकोलोजीको हिस्सा पनि राम्रो छ। फार्मेसीबाट आउने कमिसन, रेन्टल, ब्याज र लाभांश आम्दानी छ। मार्जिन ६ प्रतिशत छ।
अस्पताल चौधरी ग्रुप (सिजी) को एउटा हिस्सा हो। नर्भिकमा बिएलसी होल्डिङ्सको ५१ प्रतिशत स्वामित्व छ। बिएलसीका अध्यक्ष बसन्तकुमार चौधरीको मात्रै नर्भिकमा ४२ प्रतिशत स्वामित्व छ।
बिएलसीको उद्योग, व्यापार, बैंकिङ र सेवा क्षेत्रमा लगानी छ। नर्भिकमा सातजनाको सञ्चालक समिति छ। अस्पतालका अध्यक्ष राजेन्द्रबहादुर सिंह हुन्।
अस्पतालमा १ सय ५० चिकित्सक र साढे ८ सय मेडिकल स्टाफ कार्यरत छन्। अस्पताल काठमाडौं थापाथलीमा छ।
२०७९ पुस ६ गते नर्भिकले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीलाई ४० प्रतिशत लाभांश वितरणको निर्णय गरेको थियो। घोषित कूल लाभांशमध्ये २० प्रतिशत बोनस सेयर र २० प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागिसमेत) रहेको थियो।
लाभांश वितरणअघि नर्भिकको चुक्ता पुँजी २२ करोड ५० लाख रुपैयाँ थियो। यो हिसाबले अस्पतालले ४ करोड ५० लाख रुपैयाँबराबरको बोनस सेयर वितरण गरेपछि चुक्ता पुँजी बढेर २७ करोड रुपैयाँ पुगेको छ।
अघिल्लो वर्ष पनि नर्भिकले ५० प्रतिशत बोनस सेयर वितरण गरेको थियो। नर्भिक इन्टरनेसनल हस्पिटल पब्लिक लिमिटेडमा रूपान्तरण भइसकेको छ। आइपिओ निष्कासन गर्ने योजना सार्वजनिक गरिसकेको छ।
सन् १९९३ मा स्थापना भएको नर्भिक अस्पतालका साथै मेडिकल कलेज पनि सञ्चालनमा छ। नर्भिकको हेल्थकेयर बिजनेस सुरु गरेको तीन दशक पुगिसकेको छ। २०२१ जुलाइ १७ मा नर्भिक पब्लिक लिमिटेडमा रूपान्तरण भएको थियो।