काठमाडौं। सरकारले विद्युत विधेयक पारित गर्न संसदमा पेस गर्ने तयारी गरेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले मंगलबार पूर्वाधार विकास समितिको बैठकमा बोल्दै विधेयकलाई संसदमा पेस गर्ने तयारी रहेको बताएका हुन्।
उनका अनुसार अहिले उक्त विधेयक मन्त्रिपरिषद्मा छ। ‘विद्युत विधेयक मन्त्रिपरिषद्मा पुगेको छ, छिट्टै हामी संसदमा पेस गरेर कानुनी मान्यता दिन्छौं’ उनले भने।
स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इपान) का समस्या र चुनौतीहरुका विषयमा विकास समितिमा भएको छलफलमा मन्त्री बस्नेतले अन्तर मन्त्रालयसँग समन्वय गरेर अघि बढ्ने बताएका छन्।
इपानमा उपमहासचिव प्रकाश दुलालले ७ वटा मन्त्रालय र २३ वटा विभागमा धाएर एउटा आयोजना स्वीकृत गर्नुपर्ने बाध्यता हटाउन माग गरेका छन्। त्यस्तै वन मन्त्रालयले जलविद्युतका आयोजनाको फाइल रोकेको तथा ऊर्जा मन्त्रालयले पनि व्यवसायीले पठाएको फाइलमा ढिलो निर्णय गरेको गुनासो गरेका छन्।
तर, मन्त्री बस्नेतले मन्त्रालयको मात्र नभइ स्वयम लगानीकर्ताको कारण पनि कहिलेकाँही ढिलाइ हुने गरेको जिकिर गरे।
मन्त्री बस्नेत भन्छन्, ‘इपानका साथीहरुले मन्त्रालयको कारण मात्रै भएको ढिलाइ नभनी आफ्नो कारण भएको पनि बुझिदिनु होला।’
त्यस्तै सांसदहरुबाटै चन्दा माग्ने परम्परा रहेका कारण आयोजना निर्माणमा समस्या रहेको इपानले जनाएको छ। तर, समितिका सदस्य सांसदहरुले भने चन्दा माग्ने सांसदहरुको नाम सार्वजनिक गर्न इपानलाई आग्रह गरेका छन्। समग्र सांसदहरुले नै चन्द मागेको जसरी आरोप नलगाइ चन्दा माग्ने सांसदको नाम सार्वजनिक गर्नु पर्ने उनीहरुको भनाइ छ।