काठमाडौं । साताको तेस्रो दिन सेयर बजारमा ‘पहिरो’ नै गएको छ। मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) २८.४० अंकले घटेर २ हजार १९.८५ बिन्दुमा बन्द भएको हो।
मंगलबार कारोबारमा आएका २ सय ६५ कम्पनीको ४८ लाख ६० हजार ७ सय ४१ कित्ता सेयर ७४ हजार २ सय ५७ पटक खरिद बिक्री हुँदा कूल १ अर्ब ७३ करोड रुपैयाँ बढीको कारोबार भएको छ।
कारोबारका आधारमा मंगलबार सबैभन्दा बढी आइएमई लाइफ इन्स्योरेन्सको सेयर कारोबार भएको छ। उसको २ लाख ९९ हजार ५ सय ९७ कित्ता सेयर २७ हजार ९ सय १८ पटक खरिद–बिक्री हुँदा कूल १७ करोड ८९ लाख रुपैयाँ बढीको कारोबार भएको हो।
मंगलबार नेप्से इन्डेक्स राताम्मे हुँदा पनि स्वरोजगार लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले भने कमाएका छन्। कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएर ७ सय ५९ रुपैयाँ पुगेको छ।
त्यस्तै घटेको बजारमा नेपाल रिपब्लिक मिडियाको ९.९७ प्रतिशत, पिपुल्स पावर कम्पनीको ३.९४ प्रतिशत, एनआइबिएल प्रगति फन्डको ३.७८ प्रतिशत र सपोर्ट माइक्रोफाइनान्सको २.७३ प्रतिशत सेयर मूल्य वृद्धि भएको छ।
त्यसैगरी १०.२५ प्रतिशत ग्लोबल आइएमई बैंक लिमिटेड डिबेन्चर २०८०÷८१ का लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन्। उक्त डिबेन्चरको सेयर मूल्य ९ प्रतिशतले घटेको हो। साथै, गुर्खाज फाइनान्सको ८.२४ प्रतिशत, विजय लघुवित्तको ६.९९ प्रतिशत, सैको लघुवित्तको ६.७७ प्रतिशत र एनआइबिएल ग्रोथ फन्डको ६.६७ प्रतिशतले सेयर मूल्य घटेको छ।