काठमाडौं। नेपाल उद्योग परिसंघले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीसँग भेटेर नेपाललाई युरोपियन युनियन (इयु) को उड्डयन सुरक्षा सूचीबाट हटाउन आवश्यक पहल गर्न आग्रह गरेको छ।
परिसंघले नेपालको पर्यटन उद्योगका विषयमा छलफल गर्ने क्रममा यस्तो आग्रह गरेको हो। मन्त्री किराँतीसँग परिसंघले नेपालको पर्यटन प्रवद्र्धनका लागि चालिनुपर्ने कदम, इयुले राखेको सुरक्षा सूचीबाट हटाउन गरिनुपर्ने पहलसहित तत्कालीन एवं दीर्घकाली गरिनुपर्ने नीतिगत सुधारका विषयमा पनि छलफल गरेको हो।
पर्यटन मन्त्रालयमा भएको छलफलमा परिसंघ अध्यक्ष राजेशकुमार अग्रवालले वैदेशिक मुद्रा आर्जन गर्ने महत्वपूर्ण स्रोत पर्यटन भएकाले नेपालको पर्यटन उद्योगको विकासका लागि सरकार एवं निजी क्षेत्रबीच समन्वय, सहकार्यमा जोड दिए। उनले युरोपसँगको सिधा हवाई सम्पर्क पुनः स्थापित गर्न प्रभावकारीरूपमा अगाडि बढ्नुपर्ने बताए।
युरोपका पर्यटक धेरै खर्च गर्नेमा पर्ने भएकाले इयुको सुरक्षा सूचीबाट जतिसक्दो छिटो हटाउनुपर्नेमा उनले जोड दिए। परिसंघले पर्यटन उद्योगलाई उच्च प्राथमिकतामा राखेर पर्यटन समिति गठन गरेको जानकारी गराउँदै अध्यक्ष अग्रवालले निजी क्षेत्रतर्फ परिसंघ मन्त्रालयसँग नजिकमा रहेर काम गर्न प्रतिबद्ध रहेको प्रष्ट पारे।
परिसंघले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सफल सञ्चालनका लागि हवाई रुट अभावमा चुनौती देखापरेको सन्दर्भमा मन्त्रालयको ध्यानाकर्षण गराएको छ। नेपाललाई ‘फिल्मिङ गन्तव्य’ का रूपमा विकास एवं प्रवद्र्धन गर्न, पर्यटकीय क्षेत्रमा पुग्ने सडक यातायातमार्ग स्तरोन्नतिको काम तोकिएको समयमा पूरा गर्नुपर्ने, हवाई टिकटमा मूल्य अभिवृद्धि कर लगाइएको लगायत विषयमा परिसंघले ध्यानाकर्षण गराएको हो।
छलफलमा पर्यटनमन्त्री किराँतीले नेपाल इयुको सुरक्षा सूचीबाट हटाउन पहल भइरहेको र छिट्टै सकारात्मक समाचार आउन सक्ने बताए। इयुसँग पुनः सिधा हवाई सम्पर्क स्थापित गर्न सरकार कठोररूपमा अगाडि बढ्ने विश्वास उनले दिलाए।
किराँतीले नेपाल महँगो गन्तव्य भइरहेको अवस्थामा हवाई टिकटमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने कुरामा आफ्नो असहमति राखेको बताए। नेपालका दुर्गम स्थानमा सेवा प्रवाह गर्न ट्रंक रुटका लागि केही जहाज र नेपाल वायुसेवा निगमलाई प्रतिस्पर्धी बनाउन अन्तर्राष्ट्रिय उडानका लागि न्यारो बडी जहाज खरिद गर्ने तयारी गरिरहेको मन्त्री किराँतीले बताए। उनले पर्यटन उद्योगको विकासका लागि परिसंघसँग मिलेर काम गर्ने बताए।
छलफलमा परिसंघ उपाध्यक्ष राजबहादुर शाह, पर्यटन समिति सभापति पम्फा धमला, महानिर्देशक दीपकराज जोशीलगायत उपस्थित थिए।