काठमाडौं। बहुराष्ट्रिय कम्पनी सूर्य नेपाल प्रालिको चुरोट कारोबार १०.२९ प्रतिशत बढेको छ। सूर्य नेपालले एक वर्षमा २७ अर्ब १ करोड रुपैयाँको चुरोट व्यापार गरेको छ। अघिल्लो वर्ष उद्योगले २४ अर्ब ४९ करोड रुपैयाँको चुरोट व्यापार गरेको थियो।
एक वर्ष अवधिमा सूर्य नेपालको चुरोट कारोबार २ अर्ब ५२ करोड रुपैयाँ पुगेको सार्वजनिक गरिएको वित्तीय विवरणमा उल्लेख छ। सन् २०२० मा उद्योगको चुरोट व्यापार २४ अर्ब ४७ करोड रुपैयाँ थियो।
यस्तै २०१९ मा २५ अर्ब १३ करोड ७० लाख र २०१८ मा २४ अर्ब २२ करोड रुपैयाँको व्यापार गरेको थियो। नेपालको बजारमा ‘राज’ गरेको सूर्य नेपालको चुरोट व्यापार बढ्दै गएको छ। गत वर्ष गरेको नाफाबाट सूर्य नेपालले सेयरधनीलाई १० अर्ब ४३ करोड ३० लाख रुपैयाँ लाभांश घोषणा गरेको छ।
अघिल्लो वर्ष २०२१ मा ९ अर्ब ४१ करोड रुपैयाँ लाभांश दिएको थियो। यस्तै २०२० मा उद्योगले ९ अर्ब ८५ करोड र २०१९ मा ९ अर्ब १३ करोड रुपैयाँ लाभांश दिएको थियो।
सूर्य नेपालले ५ अर्ब ७५ करोड रुपैयाँ ऋणको रेटिङ गराएको छ। चुरोटको करमा वृद्धि भए पनि नयाँ ब्रान्ड ल्याएका कारण उद्योगको व्यापार बढेको हो। चुरोटका साथै सूर्य नेपालले सलाइ र अगरबत्ती पनि उत्पादन गर्दै आएको छ।
उद्योगले लगानी विविधिकरण गर्न होटल व्यवसायमा प्रवेशको तयारी गरेको छ। होटल व्यवसायमा प्रवेशको तयारी गर्ने भनेको लामो समय बितिसकेको छ। तर, सुरु भएको छैन।
पछिल्लो समय सरकारले अन्तःशुल्क र स्वास्थ्य जोखिम करका कारण चुरोट उद्योग झनै करको बोझमा परेको छ। चुरोटमा लाग्ने कर तेब्बर बढेको छ। यस्तै खैनी, गुटखालगायत अवैधरूपमा नेपाल भित्रिएका चुरोटले नेपाली उद्योगलाई समस्यामा पार्दै आएको छ।
सूर्य नेपालले सूर्य लिजेन्ड, सूर्य २४ क्यारेट, सूर्य लक्जरी किङ्स, शिखर फिल्टर किङ्स, शिखर आइस, नौलो, खुकरी फिल्टर, पाइलट फिल्टर, बिजुली र चौतारी ब्रान्डका चुरोट उत्पादन गरिरहेको छ।
सूर्यको देशभरि १ सयभन्दा बढी थोक विक्रेता छन्। जनकपुर चुरोट कारखाना अवसानपछि चुरोट बजारमा सूर्य नेपालको एकछत्र राज छ। सूर्य नेपाल सबैभन्दा बढी कर तिर्ने उद्योगमा पर्दै आएको छ। सरकारले उद्योगलाई वर्षेनि सम्मान गर्दै आएको छ।
सन् १९८६ मा स्थापना भएको सूर्य नेपालमा आइटिसी इन्डिया लिमिटेडको ५९ प्रतिशत सेयर छ। ३९ प्रतिशत नेपाली व्यक्तिगत लगानीकर्ताको स्वामित्व छ। यस्तै २ प्रतिशत ब्रिटिस अमेरिका टोबाको लिमिटेडको स्वामित्व छ।
सूर्य नेपालको माउ उद्योग आइटिसीले एक वर्षमा ८ अर्ब ४५ करोडज अमेरिकी डलरबराबर व्यापार गरेको छ। आइटिसीको बजार पुँजीकरण ५८ अर्ब डलर पुगेको छ।
आइटिसी सन् १९१० मा स्थापना भएको थियो। कम्पनी भारतमा चुरोट उत्पादनसाथै प्याकेजिङ फुड, स्टेसनरी, सलाइ, अगरबत्ती, होटल, एग्रो बिजनेसमा संलग्न छ। कम्पनीको अध्यक्षमा सञ्जीव पूरी छन्। उनी आइटिसी इन्डियाको अध्यक्ष तथा प्रबन्ध निर्देशक पनि हुन्।